समाचार

पहाडको दूधले तराइका बजार धान्दै, बजारीकरणको समस्याले किसान मारमा

विमल लामिछाने

दमक/  पूर्वी पहाडी जिल्लामा उत्पादित दूध मधेशका सहर बजारहरुमा खपत हुने गरेको भएपनि लामो समय लकडाउन र कोरोना महामारीका कारण दूध उत्पादन र बजारीकरणको समस्या हुँदा दूध उत्पादक किसानहरु मारमा परेका छन् ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा उत्पादन भएको दूध तराइका बजारहरुमा खपत हुने गरेको छ । विशेष गरेर इलाम र धनकुटामा उत्पादित दूध विभिन्न शाखामा संकलन हुँदै विराटनगर पुग्ने गर्छ र विराटनगरबाट मोरङ, सुनसरी र झापाका कतिपय बजारमा बिक्री हुँदै आएको छ । लामो लकडाउनले उत्पादनमा कमी आउनुका साथै बिक्री वितरणमा अवरोध हुँदा किसानलाई मार परेको हो ।

धनकुटामा संकलित दूधपनि सुनसरीको तरहरा र मोरङको विराटनगर नै आउने गरेको छ । विराटनगरका लागि इलामका आठ वटा चिस्यान केन्द्रबाट मात्रै दैनिक ३० हजार लिटर दूध संकलन हुने गरेको छ । एकदिन दूध बिक्री नहुँदा इलामका किसानले करीब १२ लाख रुपैयाँ गुमाउने गरेको ब्यावसायी बताउँछन् । डीडीसीले इलामको कुटिडाँडा, तीनघरे, फिक्कल, लक्ष्मीपुर, विब्ल्याँटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत् दूध संकलन गरेर विराटनगर पठाउने गरेको इलामका दूध डेरी सञ्चालक हरि पाण्डेले बताए ।

डीडीसीले तेह्रथुमबाट तीन हजार पाँच सय, धनकुटाबाट आठ हजार पाँच सय र विराटनगर आसपासबाट चार हजार लिटर दूध संकलन गर्ने गरेको शाखाले जनाएको छ । संकलन भएको दूधमध्ये डीडीसी विराटनगरले १० हजार लिटर दूध स्थानीय बजारमा बेचेर बाँकी दूध पाउडर बनाउने गरेको संस्थाले जनाएको छ । पाउडर प्लान्टले प्रतिघण्टा पाँच हजार लिटर दूध प्रशोधन गर्ने क्षमता राख्छ । उत्पादित दूधले उचित मूल्य नपाउँदा किसान भने मारमा पर्ने गरेका छन् ।

निषेधाज्ञा अगाडि दैनिक साढे आठ लाख लिटर दूध संकलन भइ खपत हुने गरेकोमा अहिले चार लाखको हाराहारीमा मात्रै संकलन र बिक्री हुने गरेको बोर्डका योजना अधिकृत दिपेन्द्र अधिकारीले बताए । किसानले उत्पादन गरेको १७ प्रतिशत मात्रै दूध विभिन्न सहकारी, डेरी उद्योगसहित औपचारिक क्षेत्रबाट संकलन भइ बिक्री वितरण हुने गरेको छ । बाँकी ७३ प्रतिशत किसान आफैँले प्रयोग गर्ने र होटल तथा रेष्टुरेन्टमा पु¥याउने गरेको सरकारको तथ्यांकले देखाएको छ । उत्पादन गरेको सबै दूध बजारसम्म नआउँदा दूधबाट लिनुपर्ने व्यापारिक लाभ किसानले लिन नसकेको अधिकृत अधिकारीले बताए ।

निषेधाज्ञाको अवधिमा ५० प्रतिशत दूग्धजन्य पदार्थको खपतमा कमी आएको छ । निषेधाज्ञाका कारण उपभोक्ताबाट माग कम आएकाले किसानले उत्पादन गरेको दूध खपत आधाले घटेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । निषेधाज्ञाले होटल रेष्टुरेन्ट, स्कूललगायत दूध खपत हुने क्षेत्र बन्द रहेकाले दूधको माग घटेको बोर्डले जनाएको छ । पछिल्लो समय तीज, दशैं तिहारजस्ता चाडहरुमा गाउँघरमा उत्पादित ४० प्रतिशत दूध गाउँमा नै खपत हुने गरेका कारण तराइका बजारमा माग अनुसार दूध उपलब्ध हुन नसकेको ब्यवसायीहरु बताउँछन् ।

धनकुटास्थित कोशी राजमार्ग आसपासका बासिन्दा, इलामको माथिल्लो पहाडी क्षेत्र, पाँचथर र तेह्रथुमका धेरैजसो चिस्यान केन्द्र र चिज उद्योगसम्म दूध पु¥याउन आफ्नै ढाड र खच्चडको प्रयोगबाट मुक्त हुन अझै सकेका छैनन् । दूधबाट घ्यू, छुर्पी, पनिर, ललीपप, चिजजस्ता दूग्धजन्य पदार्थ उत्पादन गरी त्यसबाट आम्दानी लिने गरेका छन् । उत्पादित दूधमध्ये २० प्रतिशत कच्चीरूपमा विराटनगर दुुग्ध वितरण आयोजनामा र अन्य निजी डेरी उद्योगमार्फत् जिल्ला बाहिर निकासी हुने गरेको इलाम दूग्ध विकास संस्थानले जनाएको छ । जिल्लाका विभिन्न गाउँमा २५० बढी हाते डेरी सञ्चालनमा रहेको पशुसेवा कार्यालयले जनाएको छ । घरेलु डेरीले मुख्यगरी घ्यू, छुर्पी उत्पादन गरिरहेका छन् । इलाममा उत्पादित छुर्पी अमेरिका र युरोपमासमेत निर्यात हुने गरेको छ ।

तराईका जिल्लाहरुमध्ये झापा जिल्ला दूधमा आत्मनिर्भर जिल्ला घोषित भइसकेको भएपनि लामो लकडाउन र मिल्क होली डे अर्थात् दूध फाल्नुपर्ने अवस्था आएपछि धेरै किसानले पाल्दै गरेका गाई भैंसी बिक्री गर्नु परेकाले अहिले पहिलेको जस्तो दूध उत्पादन हुन नसकेको दमकका किसान विमल धिमालले बताए । यो समस्या पुरानै समस्या हो । पटक—पटक सरकार फेरिँदापनि किसानका यी समस्या भने कुनै सरकारले सम्बोधन गर्न नसकेको उनको भनाई छ । दूध र दूग्धजन्य पदार्थले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएपनि नागरिकले यसको प्रयोग कम गर्ने गरेका छन् ।

 

 

Author

You may also like