समाचार

प्रदेश १ मा बाढीपहिरो पीडितको उद्धारमा पाँच हजार बढी प्रहरी परिचालन

दमक, ५ कार्तिक/ बेमौसमी झरीको कारण बाढीपहिरोमा फसेकाहरूको उद्धारको लागि प्रदेश १ मा ५ हजार ९५ जना प्रहरी जनशक्ति परिचालन भएका छन् ।
दुई दिनयतादेखि लगातार परेको वर्षाको कारण बाढी र पहिरोमा परि प्रदेश १ मा ठूलो संख्यामा जनधनको क्षति भएपछि प्रदेश प्रहरीले उद्धारको लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरेको हो ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी अरुणकुमार बिसीका अनुसार बाढी पहिरोको कारण भत्किएका भौतिक संरचनाको उद्धार, अवरुद्ध सडक खुलाउने र वेपत्ता नागरिकको खोजतलासमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।
कतिपय जिल्लामा अझै वर्षा भइरहेको कारण हुन सक्ने जोखिम न्यूनिकरणको लागि पनि प्रहरीको उद्धार टोलीहरू तयारी अवस्थामा राखिएको उनले बताए । उद्धारमा तालिम प्राप्त प्रहरी जनशक्ति खटिएको उनले बताए ।
यस्तै नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय निकायबीचको समन्वयमा काम भइरहेको छ । डुबान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई विस्थापित भएका मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने कार्यसमेत भइरहेको उनले बताए ।
प्रदेश १ मा बाढी पहिरोमा परेर ६२ जनाको मृत्यु भएको छ भने २० जना घाइते र १३ जना बेपता भएका छन् । सयौं घर डुबानमा परेका छन् । प्रदेश १ मा सबैभन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु, १० जना घाइते र ६ जना बेपत्ता भएका हुन् ।
यसैगरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते तथा १ जना बेपत्ता भएका छन् ।
यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
यसैगरी मोरङको विराटनगर महानगरपालिकामा १ जनाको मृत्यु भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १ र १ जनाको मृत्यु भएको छ । बेमौसमी झरीका कारण सयौं घर डुबानमा परेका छन् भने ४ हजारभन्दा बढी मानिसहर विस्थापित भएका छन् ।

You may also like