शिक्षामन्त्री भट्टराईद्वारा राजिनामा
काठमाडौं/ शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ। शिक्षक आन्दोलन चर्किरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएकी हुन्। शिक्षकका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी आजै आन्दोलनबाट फर्कन शिक्षकहरूलाई आह्वान गर्ने तयारी थियो। भट्टराई २०८१ असार ३१ गते मन्त्री नियुक्त भएकी थिइन्।
उपचारका लागि क्याम्पसद्वारा सहयोग
दमक÷दमक बहुमुखी क्याम्पसले आफना एक जना घाईते विद्यार्थीलाई उपचार खर्च प्रदान गरेको छ । विविएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी कृष्ण घिमिरेलाई उपचार खर्च वापत ६० हजार उपलव्ध गराएको हो । दमक बहुमुखी क्याम्पसलाई प्रतिनिधित्व गर्दै अन्तरकलेज स्तरीय फुटबल खेल खेल्दाँ उनको लिगामेन्ट च्यातिएको थियो । घाईतेको उपचारमा समस्या परेको भन्दैं क्याम्पसले सो सहयोग उपलव्ध गराएको क्याम्पसका प्रमु प्रशासीय अधिकृत पदम घिमिरेले बताए ।
दमक बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारी र क्याम्पस प्रमुख यज्ञराज गिरी लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको थियो ।
आफैलाई गोली हानेर मृत्यु
दाङ÷ रेडक्रस दाङका पूर्व अध्यक्ष नारायण आचार्यले घरमै आफैले आफैलाई गोली हानेपछि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका मोतीपुरका आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् । उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए । गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो । लगत्तै डीएसपी नेतृत्वको एक टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
न्यायाधीशविरुद्धका फाइल खोलियो
काठमाडौं÷ न्याय परिषद्ले केही न्यायाधीशविरुद्धका उजुरीको फाइल खोलेको छ । आइतबार साँझ बसेको बैठकमा उजुरीबारे छलफल भएको र सोमबार पनि निरन्तर चलेको न्याय परिषद्का एक सदस्यले जानकारी दिए । प्रधान्यायाधीश प्रकाशमानसिंह राउत अध्यक्ष रहेको न्याय परिषद्मा र कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता द्वय रामप्रसाद भण्डारी र दामोदर खड्का सदस्य छन् ।