देश–समाज समाचार स्थानीय

नदीमा डुबेर तीन बालकसहित पाँच जना बेपत्ता

दमक/ छुट्टाछुट्टै स्थानका नदीमा डुबेर ३ बालकसहित ५ जना बेपत्ता भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्तकोशीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् ।
खोटाङ्गको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षिय नवराज बास्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षिय जेनिश आचार्य सोमबार बिहान साढे ८ बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । बेपत्ताहरुको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको छ । गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजि कार्य सुरु गरेको छ ।
यसैगरी, रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो डुबेर बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन रहेका छन् ।
बेपत्ता बालकहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

Author

You may also like