अर्थ समाचार

चिया टिप्ने मेसिनको आवश्यकता

इलाम, १५ माघ। उत्पादनलाई गुणस्तरीय बनाउनका लागि चिया टिप्न ब्याट्रीबाट चल्ने हाते मेसिनको आवश्यकता झल्किएको छ ।

जथाभावी चिया टिपेर ब्रान्ड बिगारिरहेको अवस्थाको ठहर गर्दै जिल्लाको सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरणको तयारी गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए । चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्दा गुणस्तरीय चिया उत्पादन हुने र अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउँने उल्लेख गर्दै टिपाइमै समस्या भएमा यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन नसक्ने उनको ठहर छ ।

किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्याेदय नगरपालिकाको साझेदारीमा पट्रोल र डिजेलले नभई ब्याट्रीबाट चल्ने मेसिन प्रदान हुनेछ । अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गरेर चियालाई अर्गानिक बनाउन लागेको उनले उल्लेख गरे ।

गत वर्ष चिया टिप्ने तरिका नमिल्दा ४० रुपैयाँ समर्थन मूल्यको चिया प्रतिकेजी मूल्य ३५ मात्र पाएको सूर्याेदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले जनाए ।

सूर्याेदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलव्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने बताए ।

चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो । किसानले पाएका दुःखमा समाजसेवी, अभियन्तालगायत सबैले साथ दिनुपर्ने किसानहरुको कुरा छ । सूर्याेदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्याेदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्याेदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ ।

नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको पाँच वर्ष भयो । चिया उद्योगी र किसानसमेतको सहभागितामा कार्यविधि पारित गरिएको थियो । किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, विक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि कार्यविधिमा छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ । देशभरमै बढी चिया उत्पान हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्याेदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुन्छ ।

Author

You may also like