विद्युत सर्ट भई आगलागी
इलाम/ विद्युत सर्ट भई इलाममा आगलागी भएको छ । विहिबारराति इलाम नगरपालिका– ३ फुस्रे बस्ने प्रेमबहादुर खड्काको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट खड्काको टिनको छानो र टिनको बेरा भएको एकतले घर र घरभित्र रहेका लत्ताकपडा, काठपात, भाँडावर्तन, खाद्यान्न पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो प्रहरी र स्थानीयले राति १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
राधाकृष्ण मन्दिर समितिमा सबै महिला
दमक/ दमक वजारस्थित राधाकृष्ण मन्दिर समितिको सवै महिला चुनिएका छन् । मन्दिर समितिको शुक्रवार सम्पन्न दशौ बार्षिक साधारणसभाले रिता थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत निर्वाचित समितिको उपसभापतिमा विमला केसी,महासचिवमा कृष्णा तिम्सिना, कोषाध्यक्षमा कल्पना बराल र उपसचिवमा निर्मला भट्टराई चुनिएकी छन् । यसैगरि, सदस्यहरुमा रेनुका दंगाल, शान्ति पौडेल, मैयादेवी आचार्य, प्रिति साहेवाला, पिङकी गुप्ता (रौनियार), राजकुमारी शर्मा चुनिएकी दमक युथ क्लवका अध्यक्ष पारषमणि आचार्यले बताए ।
अदालतद्वारा सांसद राईलाई ५ दिन म्याद थप
काठमाडौं/ सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि पनि अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
अधिकृत विष्टलाई चार दिन म्याद थप
काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ गरेका थिए । उनीविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।
सहकारी समस्या समाधान तत्काल हुन नसक्ने दावी
दमक/वर्षौदेखिको सहकारी समस्यालाई सरकारले चहेर पनि तत्काल समस्या समाधान गर्न नसक्ने दावी सहकारी तथा गरिबी निवारणमन्त्री बलाराम अधिकारीले बताएका छन् । उनले २३ वटा सहकारी समस्याग्रस्त घोषणा भएका र दश हजार सहकारी पीडितका रकम फिर्ता गरिएको सरकारको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै अधिकारीले बताएका हुन ।
पुलमुनी पिसाव गरेको विवादमा गयो ज्यान
काठमाडौं/काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुलमुनी पिसाब फेर्ने विषयमा उत्पन्न विवादले ज्यान लिएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० घर भई परोपकार पुल आसपास बस्दै आएका “माइला” भनिने बिक्रम तामाङको छुरा प्रहारबाट हत्या भएको हो ।
प्रहरीका अनुसार घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ घर भई हाल डल्लु बसोबास गर्दै आएका आशिष श्रेष्ठ संलग्न रहेका छन् । श्रेष्ठलाई जनसेवा प्रहरी वृत्तको टोलीले प्राविधिक अनुसन्धानका आधारमा पक्राउ गरेको जनसेवा वृत्तका डिएसपी कृष्ण चन्दले जानकारी दिए । घटना आइतबार (बैशाख १६) बिहान साढे ११ बजे भएको हो । पुलमुनी पिसाब फेर्ने क्रममा बिक्रमले आशिषलाई गाली गरेका थिए । सोही विषयमा विवाद बढ्दै जाँदा आशिषले झोलाबाट चक्कु निकालेर तामाङमाथि प्रहार गरेका थिए। गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा निधन भएको थियो ।
किशोरले गरे आत्महत्या
कचनकवल/ झापाको कचनकवल गाउँपालिका–२ स्थित नयाँ बजारमा एक १६ वर्षीय किशोरले आत्महत्या गरेका छन् । मृतक नगेन्द्र राजबंशी आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
शुक्रबार बिहान गम्छाको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका उनलाई दिदी दमन्ती राजबंशीले देखेपछि तत्काल उद्दार गरी प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ
दूव्र्यसनी न्युनिकरणसँगै मिनी म्याराथन आयोजना हुने
गौरादह/लायन्स क्लब अफ गौरादहले लागु औषध दुब्र्यसनी न्युनिकरण गर्न अभियान संचालन गर्ने भएको छ । लागु पदार्थ सेवनमा युवा युवतीहरुको संख्या बृद्धी हुदै जाँदा त्यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको लायन्स क्लबका अध्यक्ष किशोर के.सी.ले जानकारी गराएका छन । लागु औषध प्रयोगकर्तालाई निरुत्साहित बनाउन संचालन गरिने अभियानका कार्यक्रमका बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति के.सी.ले बिगत बर्षहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरिएको र यस बर्ष पनि थप कार्यक्रम संचालन गरिने बताएका छन । गौरादह नगरपालिकाको समन्वय र लायन्स क्लबको आयोजनामा लागु पदार्थ प्रयोगकर्तालाई न्युनिकरणका लागि भिजुयल प्रदर्शनका साथै अभिभावक र बिद्यार्थीलाई प्रशिक्षण गरिने जानकारी गराएका छन।