
दमक/ दमकसहित झापाका धेरै स्थानमा अविरल वर्षासँगै आएको हावाहुरीले विभिन्न भौतिक संरचनामा क्षति पु¥याएको छ ।
आइतबार राति ९ बजेतिर आएको हुण्डरीले सडकका पोल र रुखहरु धेरै ठाउँमा लडाएको छ भने भवन, घर, टहरा र कृषिबालीमा ठूलो क्षति पु¥याएको छ । बेलुकैदेखि अधिकांश भागमा विद्युत र सञ्चार अवरुद्ध बनेको थियो । विहान पोल नलडेका सहज स्थानमा विद्युत आपुर्तिमा सहजता भएपनि ति ठाउँहरुमा इन्टरनेट, टेलिफोन भने दिउँसोतिरबाट सञ्चालनमा आएका थिए । पोल लडेका धेरै स्थानहरुमा अझै विद्युत तथा सञ्चार सेवा सुचारु हुन सकिरहेको छैन । दिनभर अवरोध हटाउन विद्यूत प्राधिकरण, टेलिकम र अन्य सम्बन्धित निकायका कर्मचारी खटेका देखिन्थे ।
दमक नगरपालिका वडा न. ४ सङ्गमचोक बस्ने कमला अधिकारी, भिमप्रसाद सिग्देल, दमक ८ का दुर्गा प्रसाईको घरमा क्षति पुगेको छ । उनीहरूको घरमा लगाएको जस्तापाता उडाएको जनाइएको छ । यसैगरी दमक ८ को बालुवाटारमा ५ वटा घरको छाना उडाएको प्रहरीले जानकारी दिएको छ । वडा नं. ४ स्थित मालपातमार्गमा लस्करै पोलहरु ढलेका छन् । मालपोत कार्यालयको काम समेत हुन नसकेको सेवाग्राहीले बताएका छन् । सो स्थानमा विद्युत, सञ्चार सेवा सुचारु गर्न अझै केही लाग्ने बताइएको छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले विभिन्न ठाँउहरूमा बिजुलीको खम्बाहरू लडेका कारण विद्युत प्राधिकरणसँग समन्वय गरेर त्यसलाई उठाउने काम भइरहेको बताए । अनुसार कृषिबालीमा ठुलो क्षति भएको र क्षतिको विवरण संकलनको काम भइरहेको जनाकारी गराएका छन ।
सो हुण्डरीले दमक बहुमुखी क्याम्पसको छानो उडाएको दमक प्रशासनले बताएको छ । दमक ९ स्थित तुलसी बहुमुखी सहकारीको भवनको अग्रभागका शिशाहरु फुटेका छन् । सोही भवन अगाडि पार्क गरी राखिएको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडिको सिसा फुट्नुका साथै गाडीको अगाडिको बनोटसमेत कुच्चिएको प्रहरीले बताएको छ ।
त्यस्तै, सो भवनको माथिल्लो भागमा लगाइएको ट्रस हावाले उडाएर नजिकैको दाजुभाइ पसलमा झरेको छ । सो पसल कमला पोखरेल (भट्टराई) द्वारा सञ्चालित रहेको थियो । ट्रस झर्दा पसलको छानोमा समेत क्षति पुगेको छ । धेरै घरका झ्याल तथा शिशाहरु फुटेको स्थानीयहरुले बताएका छन् ।
यसैगरी, दमक बजारक्षेत्रमा व्यवसायिक प्रयोजनका लागि पसल अगाड बनाइएका संरचनाहरुमा क्षति पु¥याएको व्यवसायीले बताएका छन् ।
यसैगरी बाह्रदशी गाँउपालिका ७ बत्तीस बिघा क्षेत्रमा लगाएको केरा खेतीमा ठुलो क्षति पुगेको जनाइएको छ । २० बिघाभन्दा बढी जमिनको केरा खेतीमा असर गरेको स्थानीय मिलन संग्रौलाले बताउनुभयो । अढाइ बिघामा लगाएको आफ्नो केरा खेती सम्पूर्ण नष्ट भएको उनले बताए ।
मेचीनगर नगरपालिको कामक्ष इन्डस्टज प्राईभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसंगै आएको हावाहुरीले क्षति पु¥याएको छ । हावाहुरीले हल्दिबारी गाउँपालिका ४ बलटोल बस्ने ६९ वर्षीय सकलदिप साहको घर उडाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।