दमक। दमकको सन्तवीर लामा चोकमा पश्चिम फर्किएको कोठामाथि हिमाली भोटे जडीबुटी नाम राखेको एउटा पसल छ । लकडाउनमा सबै सटर बन्द भएपनि औषधिजन्य पसल भएकाले बन्द गर्नु परेको छैन । पसलमा तेनछेदर भोटे नामका व्यक्ति जडिबुटी बिक्री गर्दछन् । अहिले कोरोनाको महामारीले पनि होला जडिबुटीको महत्व बढेर औषधि किन्न आउने व्यक्तिहरुको बाक्लै उपस्थिति हुँदोरहेछ । कतिपय जडिबुटी चिन्नेहरुले नामै लिएर माग्दछन् । धेरैजसो व्यक्ति भने बिमारी समस्या लिएर आउँदारहेछन् । एउटा विज्ञ डाक्टरलाई बताए जसरी यस्तो–यस्तो बिमार छ के खानु पर्ला दाजु भन्दारहेछन् । उनी एक विशेषज्ञ डाक्टरको जस्तो यो–यो कारणले तपाईको बिमार भएछ । अब यस्तो खालका जडिबुटी (औषधि) लिनुपर्छ भनेर ब्याख्या गर्दा रहेछन् ।
त्यहाँ सयौं किसिमका जुडिबुटी छन् । उनी सबैको एक–एक प्रभाव बारे बताउँछन् र चित्त बुझाएर औषधि दिन्छन् । कतिपयलाई औषधि नदिई प्राकृतिक नियम बताएर पनि पठाउँदा रहेछन् ।
तर उनी डाक्टर होइनन् । पढ्न नपाएर मात्रै डाक्टरी पेसा अर्थात् जडिबुटीको विज्ञ भएर औषधि बिक्री गर्न पुगेको उनको आफ्नै रोचक कथा छ । हिमाली भू–भाग हटियागोलाको भोटखोला–२ मा २०३५ सालमा जन्मेका उनी सानो छँदा गोठालो हुँदै दिन बिते । पढ्ने अवसर पाएनन् । गाउँघरमा साथीहरु कोही जागिर खान गए, कोहि विदेशतिर लागेको देख्दा उनलाई पनि इच्छा नलागेको होइन । सशस्त्र प्रहरीमा भिड्न पनि गए, पढाईको सर्टिफिकेट खोजेपछि बाहिरिनु प¥यो । इन्डियन आर्मीमा पनि कोसिस गरे । सबै कुरा ठीक थियो तर पढाईले रोक्यो । पढाई बिना कुनै जागिर नपाएपछि पहाडकै भीरपाखामा रमाउँदै त्यहाँका जडिबुटीको परिचय पाउँदैमा दिनबित्दै गए । आफ्ना बुवा पनि वैद्य भएका कारणले उहाँले गरेको उपचारबाट आफूले धेरै सिकेको र पछि त्यसैको व्यापारबाट अनुभव बटुल्दै औषधिजन्य जडिबुटीबाट कुन बिमारका लागि कुन चाहिन्छ भनेर जानेको बताउँछन् ।
१५ वर्षदेखि जडिबुटीकै ब्यापारमा निरन्तर लागिरहेका भोटे अहिले दमकमा घर बनाएरै बसोबास गर्दैछन् । दमक र बेलडाँगीमा गरी दुईवटा पसल छन् । काम गर्दागर्दै श्रीमतीको पनि त्यतिकै अनुभव भइसकेको छ । दुवै मिलेर२ वटा पसल चलाएका छन् । पहिले पहिले पुराना मानिसहरुले अलिअलि किन्दथे अहिले बढी पढेलेखेका व्यक्तिहरु युटुवबाट जानकारी पाएर औषधि लाने गर्दछन् । जडिबुटीप्रति धेरै आकर्षक बढेको उनको अनुभव छ ।