
दमक । दमक नगरपालिकाले मंगलबार १७ औं नगरसभामार्फत डेढ अर्ब हाराहारीको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा आयोजित सो नगरसभाको पहिलो बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि १ अर्ब ४७ करोड बजेट उपप्रमुख रेगिना भट्टराई प्रसाईद्वारा प्रस्तुत गरियो। साधारण खर्चतर्फ ७१ करोड २९ लाख ५० हजार अर्थात् ४८.५ प्रतिशत विनियोजन भएको छ भने पुँजीगत खर्च तर्फ ७४ करोड ७१ लाख ५० हजार अर्थात ५०.८२ प्रतिशत, वित्तिय व्यवस्थापनतर्फ १ करोड विनियोजन भएको उपप्रमुख भट्टराईले बताईन । यसैगरी, दमक अस्पतालका लागि ३९ करोड विनियोजन भएको छ । खर्चका स्रोतहरुमा दमक नगरपालिकाको आम्दानीबाट रु.३४ करोड ९१ लाख ५४ हजार, संघीय अनुदानबाट ७२ करोड ७४ लाख र प्रदेश सरकारको अनुदानबाट ३ करोड ९३ लाख बढी रकम प्राप्त हुने भएको छ । यसैगरी राजश्व बाँडफाँडबाट २९ करोड ३० लाख ६४ हजार, जनसहभागिताबाट १ करोड, दमक अस्पतालको बीमा दावीबाट ३९ करोड रहने गरी प्रस्ताव गरिएको बताइएकी छन् । पूर्वाधार विकासमा ४३ करोड ७९ लाख, आर्थिक विकासतर्फ २ करोड १२ लाख विनियोजन भएको छ । सामाजिक विकास तर्फ १७ करोड ८१ लाख, सुशासनतर्फ २ करोड, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ २२ करोड विनियोजन गरिएको छ । बहुवर्षीय योजनाहरुलाई सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ । कृषि, उद्योग, वाणिज्य, पर्यटन, सहकारी, पशुपंक्षी विकासका आर्थिक क्षेत्र र शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, खानेपानी, सरसफाई, लैगिक समानता, सामाजिक समावेशीकरणलगायतका क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि ७४ करोड ७० लाख ५० हजार विनियोजन भएको बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहेकी भट्टराईले बताईन ।

नीति तथा…..सो नगरसभाबाट आर्थिक विधेयक २०८२, विनियोजन विधेयक बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक रेगिना भट्टराई प्रसाईले प्रस्तुत गरेकी थिईन । भने लेखा समितिको प्रतिवेदन संयोजक गोपालकृष्ण संग्रौलाले प्रस्तुत गरेका थिए ।
यस वर्षको बजेटले सामाजिक समावेशिता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक तथा युवाका सशक्तिकरण, प्रविधिमैत्री नगर र स्मार्ट सिटी अवधारणा कार्यान्वयनमा प्राथमिकता दिएको छ ।

नगरवासी जनताको सक्रिय सहभागिता र सुझावका आधारमा तयार पारिएको यो बजेटले जनउत्तरदायी, पारदर्शी र विकासमुखी नगर निर्माणमा नयाँ गति ल्याउने विश्वास लिएको उपप्रमुख भट्टराईले बताईन । उनले यसको सफल कार्यान्वयनका लागि सबै नगरवासीहरूलाई यो साझा प्रयासमा साथ, समर्थन र निगरानीको आवश्यकता रहेको औंल्याएकी छन् ।
नगरको थोरै लगानी, कृषकको मगग्गे आम्दानी, कृषिमा लगानी खेतखेतमा पानीसहित नारासहितको नीतिले कृषिका लागि खेतियोग्य जमिनलाई उच्चतम उपयोग गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्न प्रयत्न गरिने बताइएको छ । यसैगरी एक सदस्य एक सहकारी आर्थिक सामाजिक विकासका लागि सुशासन युक्त सहकारी कार्यक्रम सञ्चालन हुने भएको छ । यसबाट छरिएर रहेको पुँजी, श्रम, सीप र प्रविधिलाई एकिकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न सवल, सुशासनयुक्त र प्रविधिमैत्री सहकारी संस्थाहरुको निर्माणमा पहल गर्ने नीति लिइएको छ । यस्तै शिक्षा, युवा तथा खेलकुदमा सर्वसुलभ पहुँच योग्य गुणस्तरीय शिक्षा, दमक नगरपालिकाको प्रतिबद्धता काईक्रम अन्तर्गत शिक्षाको पहुँच सर्वसुलभ, अनिवार्य र गुणस्तरीय बनाई सम्पूर्ण बालबालिकाकासम्म पु¥याई साक्षर दमक निर्माण गरिने भएको छ । शिक्षाको सुधार हाम्रो रहर, जिम्मेवार बनौं हरेक परिवार अर्को कार्यक्रम शैक्षिक क्षेत्रमा राखिएको छ । सिमान्तकृत, अति विपन्न र पछाडि पारिएका समुदायका बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमहरु सञ्चालन हुने भएका छन् । निःशुल्क शिक्षा मौलिक अधिकार, नविन सिकाई र परिवर्तित व्यवहार, रमाईलो शुक्रबार खुशीको वहार जस्ता शैक्षिक नाराहरु धेरै रहेका छन् । दमकमा युवाको पौरख, खेलबाट बढाउनु छ गौरव जस्ता नारा युवा खेलाडीका निम्ति ल्याइएको छ । स्वास्थ्इ प्रवद्र्धन, असल व्वहार, निरोगी नागरिक समृद्ध सहर जस्ता स्वास्थ्य नारा राखिएका छन् । हरेक क्षेत्रमा यस्ता दर्जनौं नाराका आधारमा विकासको अवधारणा बनाइएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख रामकुमार थापाले स्थानीय सरकारको रुपमा दमकले कार्यान्वयन गरेका दमकको व्यवस्थापन अभ्यास, अनुभव र उपलब्धीहरु उत्साहजनक रहेको बताएका छन् । अध्यक्षको हैसियतबाट कार्यक्रम सञ्चालनका क्रममा उनले सो कुरा बताएका हुन । थापाले भने स्थापित विधिको शासन, मानव अधिकारको संरक्षण र संविधानले प्रदान गरेको मौलिक हक कार्यान्वयन एवम् दिगो विकासलाई स्थानीयकरण गर्दै समृद्ध दमक निर्माण गर्ने क्रममा हामीले गरेका कामहरु सकारात्मक रहेको बताए । नागरिकको पूर्वाधारजन्य अपेक्षाहरुलाई पुरा गर्न सामाजिक रुपान्तरणमार्फत सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्नेतर्फ अग्रसर रहेको बताए । असीमित नागरिक आकांक्षालाई सीमित स्रोतले व्यवस्थापन गर्न निकै चुनौतिपूर्ण रहेको पनि उनले बताए । नागरिक विकासका अपेक्षा एवम् आवश्यकतालाई सम्बोधन गर्न यथार्थ र वास्तविक सञ्चालन हुन सक्ने आन्तरिक आय भन्दा बढी आएको प्रक्षेपणसमेत गरी वडा तथा नगरका व्यवस्थापकीय विषयलाई सम्बोधन गर्ने प्रयत्न नीति तथा कार्यक्रम र बजेटमा गरिएको उनले बताए ।
कार्यक्रममा नगरसभा सदस्य, संविधानसभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखहरु, सामाजिक लब्धप्रतिष्ठित व्यक्तित्व, कर्मचारी र मिडियाकर्मीको उपस्थिति सो कार्यक्रममा रहेको थियो ।