समाचार

राष्ट्रपति भण्डारीले यस वर्ष पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने हुनु भएको छ।

विगतका वर्षहरुमा जस्तै राष्ट्रपति भण्डारीले शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका लगाएपछि सम्माननीयहरु, माननीय उपप्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मन्त्रीहरु, न्यायाधीशहरु, संघीय संसद्का सदस्यहरु, संवैधानिक निकायका पदाधिकारीहरु, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

असोज २१ गते विजया दशमीका दिन दिउँसो १ बजेदेखि २ बजेसम्म सम्माननीयहरु, माननीय उपप्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मन्त्रीहरु, न्यायाधीशहरु, संघीय संसदका सदस्यहरु तथा संवैधानिक निकायका प्रमुखलगायतलाई टीका लगाइदिनु कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालय शीतल निवासबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, सर्वसाधारणलाई भने दिउँसो २ः३० बजेबाट एक घण्टा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । त्यसका लागि शीतल निवासको एक नम्बर ढोका प्रयोग गर्नसमेत बताइएको छ ।

You may also like