मुख्य विचार/वहस

काण्डैकाण्डमा रमेको छ मेरो देश !

ओमप्रकाश गौतम-

मेरो देश प्राणभन्दा प्यारो लाग्छ मलाई
म यही देशमा जन्मे हुर्के पढे
त्यही भएर मलाई मेरो देशको माया लाग्छ
विविधतामा एकता भएको मेरो देश
विभिन्न जातजाति अनि भेषभूषामा सजिएको देश
राष्ट्रिय एकताको धार , अन्तराष्ट्रिय एकताको आधार झैँ
विश्वमानचित्रमा शान्तिको देश भनेर
चिनिएको मेरो देश
यही माटोमा लडीबढी हुर्केको म
कति खुशी लागेको छ मलाई
जहाँ भिरपाखा , छाँगा , छहराले ढाकेको छ
मनोरम दृश्यहरु छन् जताततै
ओहो ! मेरो देश नेपाल प्यारो लाग्छ मलाई
जुन देश मेरो देश नेपाल हो
खै कुन्नि हिजोआज, काण्डैकाण्डमा रमेको छ मेरो देश ।
हो , आज यस्तै – यस्तै काण्डमा रमेको छ हाम्रो देश नेपाल । यहाँ जसले जे गरेनि भो, यहाँ कोहि बोल्नेवालै छैनन् । बोल्छन त को उही जाली, फटाहा, बेइमानी मात्रै छन् यो नयाँ देश नेपालमा । सोझा सिधा नेपाली जनतालाई दिन गुजार्न गार्हो भएको छ हिजोआज । २०४६ सालको घगडान जनआन्दोलनदेखि यो ३४ बर्षगाँठ पुग्दासम्मको नेपाली राजनीतिको उथलपुथल हेरौं त ! अहिलेसम्म तात्विक रूपमा कुनै गुन्जायसै छैन ? उही नेता उही नेतृत्व उही प्रवृत्ति रुप र सार जस्ताको त्यस्तै देखिन्छ । यही भएर होला नेपाली जनता हिजोआज वाक्क दिक्क भएका छन् । मियो बिनाको दाइँ गरिरहेका छन् हिजोआज दलहरु र तिनको नेतृत्व पङ्तिले । “ म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर “ भन्ने प्रवृत्ति छ अहिलेसम्म । जनतालाई जति जति सुसूचित गर्नुपर्ने हो त्यो अहिलेसम्म हुन सकेकै छैन । नेपाली राजनीतिमा जो जो हस्ती छ्न त्यो त्यो सबैभन्दा ठूलो पदमा भएपनि उनीहरू नै नेतृत्व पङ्तिमा भएपनि सही दिशामा देशलाई मोड्न सकेको देखिन्न । हुन पनि हो जुनसुकै दल र तिनका नेतृत्व भएपनि जो जो जसरी भएपनि तिनको नेतृत्वलाई अग्रपङ्तिमा देशलाई सही दिशामा मोडनु पर्ने हो त्योसम्म मोडन सकेको देखिन्न । कारण देशमा स्थायित्व कायम हुननसकेकैले हो । देशलाई आमूलपरिवर्तन गर्नेहरुले देशलाई सही मोडमा लान नसकेको जस्तो लाग्छ । न कोहि सुनिदिने, न आवाज बोलिदिनेसम्म नहुँदा यो देशमा हालिमुहाली गर्ने सबै कुनै न कुनै दल या नेतृत्वको हो कि भन्ने देखिन्छ । वास्तवमा यो पनि हो कि देखेको तीतो यथार्थ पनि यही हो । नेपाली राजनीतिमा देखिएको तीतो यथार्थ पनि यो हो । हामी राम्रोसँग काम गरौं र देशलाई सही दिशामा लाने ट्रयाक खडा गरौं भन्ने सोच कसैको देखिन्न । जो चोर उसैको ठूलो स्वर भन्ने प्रवृत्ति देखिएको छ सबै युवा नेतृत्वहरुमा । सबैलाई मै ठूलो बनौं, मै लाउँ, मै खाउँ, मै मोज गरौ भन्ने सोचमा छन् । अग्रगामी सोचविचार भएका मानिस कोहि भेटिन्नन् । हिजोआज त नेपाली जनताको दृष्टिगोचरमा योसम्म हुन थाल्या छ कि – “ जुन आए नि कानै चिरेको “ भन्ने प्रतित भएको छ जनजनमा । हिजो शाही शासनकालमा र अहिले लोकतान्त्रिक शासन पद्धतिमा जे जति काण्डहरु भए त्यो सबैभन्दा बढी अहिले भइरहेका छन् । काण्ड नभएको के मा छ र ? लाउडा, प्लेन अपहरण, यति एयरलाइन्स, ओम्नी, साउथ चाइना, एनसेल, नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, पानी ट्याङ्की, लडाकु शिवि , पशुपतिको जलहरी , सुन तस्करी लगायत यस्ता काण्ड त दिनानुदिन बढिरहेका छन् । यसमा कुनैपनि दलहरु अछुतो रहन सकेनन् । यहाँ एउटा दलले अर्को दललाई सत्तोसराप नगरे पनि हुन्छ किनकि मिलिभगतमा सेटिङ्ग मिलाएर खानेमा यहाँ कोहिपनि अछुतो छैन सबै “ मिलाउ, खाउ, मोज गर “ भन्नेमा छन् सबै दलहरु । यहाँ हामी चोखा छौं, क्रान्तिकारी हामी नै हौं भनेर दावा कसैले नगरे हुन्छ अब । अहिलेसम्म गर्न चाहिँ के नै बाँकी रहयो र ? राम्रा कुन काम गरे दलहरुले ? प्रत्येक चुनावी वर्षमा किन दलहरुको क्रेज घटिरहेको छ ? कुनै गुन्जायसै नभएको कारणले दलहरुप्रतिको जनविश्वास हिजोआज दिनदिनै घटिरहेको छ । दलहरुप्रति जनताको विश्वास गुमेको अवस्था पछिल्ला सुन तस्करी र जलहरी काण्डले प्रष्ट्याएको छ । पशुपतिनाथ मन्दिरको गर्भगृह ( ज्योतिर्लिङ्ग ) मा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको पुष्टि भएको छ । परम्परादेखि काठको जलहरी रहेकोमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अदालतको आदेश छलेर उतिबेला हतार हतारमा सुनको जलहरी चढाएको थियो । हतारमा कामगर्ने मौका पाएर करीब डेढ किलो सुन गायब बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि हुँदासम्म यसको बहस दलहरूले गम्भीर रूपमा चलाउन सकेनन् किन ? २०७७ माघ १२ गते पशुपतिनाथको मन्दिर पुगेर “ संकल्प पूजा ’ गरेका उतिबेलाका प्रधानमन्त्री केपी ओलीले करीब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने प्रक्रिया अघि बढाउन कोषका पदाधिकारीलाई निर्देशन दिएका थिए । बजेट ब्यबस्थापन, सुन खरिद र जलहरी निर्माण एक महिनामै सकेर फागुन १२ मा तत्कालीन रास्ट्रपति विधादेवी भण्डारीले जलहरी उद्घाटन गरेकी थिइन । राज्य ढुकुटीबाट ३० करोड र पशुपति क्षेत्र विकास कोषबाट ५० करोड ११ हजार खर्चेर उतिबेला जलहरी बनाउदा १ सय ७ किलो ९ सय २४.७५ ग्राम सुन खरिद गरिएको थियो । तर उद्घाटनको अघिल्लो दिन गरिएको मुचुल्कामा जलहरीमा सुनको परिमाण ९६ किलो ८ सय २२ ग्राम रहेको अभिलेख छ भने तोकिएको परिणामभन्दा कम तौलको जलहरी राखिएको भन्दै अख्तियारमा उजुरी पर्दासम्म अहिलेसम्म कोहि बोल्दैनन् । भएका अनेक काण्डहरु गुपचुपमा राखिएको छ । जलहरीमा अनियमितता देवत्वहरण हो, अपराध गर्नेले सजाय भोग्नैपर्छसम्म अभियन्ताहरुले भनिरहँदा पनि कुनै कार्वाही भएको छैन ।
अर्को पछिल्लो घटनाक्रममा दुई महिना अघिमात्र बरामद ६१ किलो सुन प्रकरण न्यायिक निरुपणका लागि राजनीतिक दलहरुको सहमतिमा सरकारले उच्चस्तरीय आयोग गठन गरेको थियो । सुन बरामदपछि ९ विदेशीसहित २९ जनालाई पक्राउ गरि अदालतमा मुद्दा चलाउदासमेत सुन ओसारपसार नरोकिएको बेला गठित आयोगले तस्करी नियन्त्रण गर्न नीतिगत र संरचनागत सुधारका लागि महत्वपूणर् भूमिका निर्वाह गर्न सक्छ या सक्दैन हेर्न बाकी छ । तर यो सरकारले नचाहे पनि प्रमुख प्रतिपक्षी दलको जोडबलमा बनेको आयोगलाई राज्यका सम्पूणर् निकायको सहयोगको आवश्यकता छ । त्यस्तै आयोगका सुझाव कार्यान्वयनमा सरकारको तदारुकता परीक्षणको घेरामा हुँदासम्म तंै चुप मैं चुप गुमनाम छन् दलका उच्च नेतृत्वहरु । हो यस्ता तस्करीका संजाल दिनदिनै बढदो छ । युवा नेतृत्व वर्ग विदेश जान टिकट कुरेर बसेका छन् । बेरोजगारहरु बढदो छ । अनि कसरी बन्छ नयाँ नेपाल ?
यसैले काण्डै काण्डमा रमेको छ मेरो देश । सबलाई चेतना भया ।

Author

You may also like