अर्थ मुख्य

पुरुष विदेशिएपछि महिलाले खेती धान्दै

डिकेश लामा-
दमक, १८ असोज-
बर्षेनी यूवा जमात विदेशिने क्रम बढ्दै गएपछि गाउँघरमा महिलाहरु आफै कृषिमा सक्रीय बन्दै गएका छन् । झापाका ग्रामिण क्षेत्रका महिलाहरुले थालेको कृषि व्यवसायबाट सफलता समेत प्राप्त गर्न थालेका छन् ।
गौरादह नगरपालिका वडा नम्बर ७ गछियामारीका महिलाहरु पछिल्लो समय कृषि उद्यममा सक्रीय बन्दै गएका छन् । पशुपालनदेखि तरकारी खेती समेत गर्दै आएका महिलाहरुले गाऊँघरमै बसेर आम्दामी समेत गर्न थालेको पशुपालनमा लागेकी गायत्रा वस्तीले बताइन् । वस्तीका श्रीमान सरोजकुमार वस्ती १४ बर्ष विदेश बसे । त्यो बेला गायत्राले नै खेती सम्हालिन् । हालै आएर घरमा थालिएको कृषि कर्म सम्हालेपछि विदेशमा जति कमाई स्वदेशमै गर्न सकिएको वस्ती दम्पतिको भनाइ छ ।
गाऊँघरमा काम गर्ने जनशक्तिको अभाव हुन थालेपछि महिलाहरुले कृषि औजारको प्रयोगलाई समेत जोड दिन थालेका छन् । सरकारले अनुदान उपलव्ध गराएपछि खरिद गरिएको कृषि यन्त्रले खेती गर्न धेरै सहज भएको पाटागाडा चाक्लाबन्दी खेतीकी अगुवा इन्दु सिलवालले बताइन् । सिलवालका अनुसार कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भइरहेको वेला प्रदेश सरकारले ‘कस्टम हायरिङ सेन्टर’ संचालनमा अनुदान दिएपछि खेती गर्न धेरै सहज भएको छ । अहिले पाटागाडाका किसानहरुले धान रोप्नेदेखि काट्ने, गोड्ने, जमिन सम्याउने, मकै रोप्ने लगायतका मेशिन समेत संचालन गर्न पाएका छन् ।
त्यसो त मेहनेत गर्ने महिलाहरुको कमाइले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउने खर्च समेत धान्ने गरेको छ । गर्दा स्वदेशमै सफलता लिन सकिने लामो समयदेखि तरकारी खेतीमा लागेकी कमल गाउँपालिका वडा नम्बर २ सिमलडाँगीकी अगुवा किसान सरिता पौडेलले बताइन् । ९ जनाको परिवार पाल्न, छोराछोरीलाई उच्च शिक्षा पढाउनसम्म खेतीकै कमाईबाट सफल भएको उनको भनाइ छ ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङकमा झापाबाट विदेशिनेको संख्या देशमै उच्च रहेको छ । पुरुषहरु विदेशिन थालेपछि कृषिमा लागेका महिलाहरुले सफलता समेत लिन थालेको उनीहरुको भनाइ छ ।

Author

You may also like