देश–समाज राजनीति राष्ट्रिय विचार/वहस स्थानीय

पार्टी र सरकारका लागि काउछो बन्दै डा. शेखर कोइराला

:— यज्ञ प्रसाद भट्टराई —:
नेपाली कांग्रेस नेपाली राजनीतिको मियों हो । जहानीयाँदेखि निरंकुशता बिरुद्ध लडेर नेपाली जनतालाई स्वतन्त्रता र प्रजातन्त्र दिलाउने लोकतन्त्रको उज्यालो दीयो हो । देशमा उत्पन्न असहज र अप्ठ्यारो परिस्थितिलाई पार लगाउन सक्ने क्षमता राख्ने पार्टी मात्रै नभई देशलाई हिंसात्मक र बिध्वंसात्मक परिस्थितिबाट उत्पन्न समस्याको दलदलबाट बाहिर निकालेर नेपालमा रहेका कम्युनिष्टहरुलाई समेत लोकतान्त्रिक धारमा हिंडाउन सक्ने अभिभावकीय अभिभारा पुरा गरेको पार्टी पनि हो ।
विश्व समाजबादी आन्दोलनको नेतृत्व गरिसकेको नेपाली कांग्रेस अहिले देश भित्रै दश टुक्रामा विभाजित कम्युनिष्टहरुको कठपुतली झैं बनेर तिनीहरुकै अघिपछि नाँचिरहेको देख्दा टीठ लाग्छ । अहिलेको परिस्थितिमा पार्टीका नियमित बैठक, छलफल, अन्तरकृया, भेला, आदिमा पार्टीको विचार र सिद्धान्तभन्दा नेताका उरन्ठेउला अभिब्यक्ति सुन्दासुन्दा कार्यकर्ताहरु आजित भैसकेका छन् । गुटको दुर्गन्ध धेरै परपरसम्म पुगिसकेको छ । अहिलेको परिस्थिति हेर्दा लाग्छ सबैलाई एकै पटक सभापति बन्नुछ, यसै पटक मन्त्री बन्नुछ, अहिल्यै सांसद बन्नुछ, राजदूत बन्नुछ तर तिनीहरुको विगत हेर्दा पार्टीमा लगानी भन्दा नेतामा जिउहजुरीमा बढी क्रियाशिल रहेको देखिन्छ ।
अहिले नेपाली कांग्रेस भद्रगोल तरिकाले चलेको मात्र छैन, कुन बेला कहाँ पुगेर गुल्टिङ्ग खाने हो ? भन्ने अवस्थामा पुगेको देखिन्छ । पार्टीलाई कञ्चन र निर्मल बनाउछौ भन्दै डुक्रिने बहरहरुको दुरावस्था देख्दा लाग्छ यिनीहरुमा पनि तेल लगाएर चिप्ल्याउनेभन्दा बढी अरु कुनै क्षमता छैन । देश बिकासका काममा सिन्को समेत नभाँच्ने बाचनशिरोमणीहरुको कुबेलाका कुतर्कहरुले नेपाली कांग्रेसलाई फाईदा पुगेको त छैन नै बरु नेपाली जनतालाई नेपाली कांग्रेसप्रति बितृष्णा पैदा गराउने अवस्था भने सृजना गराएको देखिन्छ । कोही नबोलेरै दुनो सोज्याउने त कोहि धेरै बोलेर दुनो घोप्ट्याउनेहरुका बिचमा चलेको शक्ति संघर्षको यो लडाईले नेपाली कांग्रेसलाई कहाँ पुर्याउने हो ? त्यो भने हेर्न बाँकी नै छ ।
यस्तो विषम परिस्थितिमा नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसायोग्य पार्टी बनाउन नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईराला अहोरात्र खटिईरहेका देखिन्छन् । आफ्नो सबै नीजि स्वार्थ त्यागेर उमेरले सात दशक काटीसकेका शेखर कहिले झापा पुग्छन् त कहिले धनगढी । कहिले हिमाली जिल्लाको विकटतामा जनताका गुनासाहरु सुनिरहेका हुन्छन् त कहिले तराईका धुपमा पिल्सिएका जनताका डढेका छालामा मल्हम लगाउँदै देश विकासको सपना बाँडिरहेका देखिन्छन् । नेपाली जनताको मुहारमा हाँसो ल्याउन राजनीतिमा होमिएका शेखरले वर्तमान राजनीतिको दुर्दसा र नेतृत्वको असक्षमता जस्ताको त्यस्तै जनतामा राखिदिने गरेका कारण पार्टी भित्रै पनि कहिलेकाँहि उनको विरोध हुने गरेको देखिन्छ । जनताका कुरा उठाउँदा होस् या सरकारका गलत कामको बिरोध गर्दा होस् शेखर निर्भिक र निडर भएर प्रस्तुत हुन्छन् । महामानव विश्वेश्वरप्रसाद कोईरालाको सपना पुरा गराउन सक्ने कुनै नेता पछिल्लो दशकमा नदेखिएपछि स्वयं शेखर कोईरालाले उक्त अभिभारा आफुले उठाएको देखिन्छ ।
डा. शेखर कोईराला अहिले नेपाली जनताको अभिभावकका रुपमा स्थापित भैसकेका छन् । कांग्रेसका कार्यकर्ताले मात्रै हैन विपक्षी दलका नेता र कार्यकर्ताहरुले समेत शेखरलाई अबको देशको निर्विकल्प नेताका रुपमा हेरिरहेका छन् । डा. शेखर कोईरालालाई देख्दा र सुन्दा एउटा कुरामा भने गर्व लाग्छ उनि सत्य र न्यायको पक्षमा आफ्नै दलका नेता र कार्यकर्ताको पनि बचाउ गर्दैनन् । आफ्नै पार्टी सम्मिलित वर्तमान ओली नेतृत्वको सरकारले गरेका हरेक अलोकतान्त्रिक कदमको डटेर बिरोध गर्न सक्ने क्षमता डा. शेखर कोईरालाभन्दा अरु कुनै पनि नेतामा देखिएको छैन । अध्यादेशदेखि गर्भनरसम्मका एमालेका एकलौटी र अलोकतान्त्रिक निर्णयका बिरुद्धमा बोल्न सक्ने डा. शेखर कोइराला भन्दा कुनै अर्को नेता नेपाली कांग्रेसमा अहिलेसम्म देखिएको छैन । भिड हेरेर अभिब्यक्ति परिवर्तन गर्ने वर्तमान युवानेताहरुमा समेत जिब्रो चपाएर बोल्ने परिपार्टीले नेपाली जनताले अत्यन्तै आशा र भरोसा गरेका कांग्रेसका युवा नेताहरुको पनि वजन घटाइ दिएको छ । यस्तो अवस्थामा शेखरको इमानदार राजनीतिप्रति नेपाली जनताले आशा राख्नु स्वभाविक पनि हो ।
पार्टी भित्र काण्डै काण्डका नेताहरुका बिचमा नेपाली जनतालाई शुसासन र कानूनी राज्यको स्थापना गरेरै छाडने अठोटका साथ राजनीतिमा सकृय रहेका कोइराला नेपाली कांग्रेसको पन्ूौं महाधिवेशनमा सभापतिको प्रत्यासीका रुपमा आफुलाई उभ्याई सकेको नाम हो । चौधौं महाधिवेशनमा सम्मानजनक मत पाएका कोइराला पन्ूौ महाधिवेशनमा सजिलै सभापति जित्ने अवस्थामा देखिएका छन् । मौकाको फाईदा उठाई हालौ भनेर सिद्राको ब्यापार थाप्न खोज्ने एकाध नेताहरुको मनगढन्ते मनोकांक्षा बाहेक वर्तमान पार्टी सभापति देउवा नउठने पक्का भएपछि नेपाली कांग्रेसमा अहिलेसम्म डा. शेखर कोइरालासँग प्रतिस्पर्धा गर्न सक्ने अर्को नेता देखिएको छैन । त्यसैले डा. शेखर कोइराला अहिले पार्टी भित्रका र सरकार भित्रका भ्रष्ट र तस्करहरुका लागि काउछो भएका छन् ।
नेपाली जनतामा नेपाली कांग्रेसप्रति अझै पनि मोह छ, बिपीको सपना साकार भएको हेरेर मर्ने अझै पनि नेपाली जनताको चाहना र धोको छ । लुटिएका खुसीहरु फिर्ता ल्याएर देशलाई स्वर्ग बनाएको हेर्ने रहर छ, कांग्रेसमा लागेर सर्वस्व गुमाएकाहरुले देशमा सुशासन आएको देख्ने चाहना राखेका छन् । आफ्ना सन्ततीलाई आफ्नै देशमा रहन सक्ने वातावरण बनाउन सक्ने नेतृत्वको खोजिगरिरहेका छन् । तर यी कुराहरु पूरा हुन नदिन स्वयं नेतृत्वले नै छेकबार लगाएको छ । डा. शेखर कोइरालाको यस्ता अनेकौ विकृति र विसंगतिका विषयमा मन दुखाई छ यसैले त उनि कहिलकाँही सुकिलामुकीलाहरुको नियन्त्रणमा देश गएकोप्रति तिखो ब्यंग्य प्रहार गर्न समेत पछि पर्दैनन् । शेखर सधैं त्यहि गलत शैलीको विरोध गर्छन । आफु पिसिएर जनताका निधारमा लितक बनेर लाग्न सक्नु शेखरको राजनीतिक उचाईएको द्यौतक हो ।
हल्का पहिरन, सामान्य जीवनशैली, स्पष्ट विचार, जनतासँग चाँडै घुलमिल हुने, कार्यकर्ताका गुनासा सुन्ने र समस्या समाधानमा तत्काल लाग्ने, आफ्नै पार्टीको होस् या अन्य पार्टीको नेतृत्वमा भएको सरकार होस् उक्त सरकारले गरेका गलत कार्यको निर्धक्क बिरोध गर्न सक्ने, सानोभन्दा सानो पार्टीको कार्यक्रममा पुग्ने, कार्यकर्तालाई हतोत्साहिन हुन नदीई सधै हौसला प्रदान गर्ने शेखरको राजनीतक सकृयताले नेपाली कांग्रेसका कार्यकर्ताहरुमा थप हौसला र उर्जा प्राप्त भएको देखिन्छ । !

Author

You may also like