दमक । मानव उद्दार सेवा समाजले नयाँ पदाधिकारीको पदस्थापना तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा मानव उद्दार सेवाका सर्वसम्मत चयन भएका २१ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारीहरुको शुक्रबार पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।
दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रमको पहिलो चरणमा भर्खरै सम्पन्न साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको औपचारिक पदस्थापना गरिएको थियो। त्यसपछि सहयोगी दाताहरुको मनोबल उच्च बनाउन खादा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
दमक नगरपालिका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा बोल्दै थापाले १५ औं नगरसभाले सडक मानव उद्दार गरेर व्यवस्थित ढंगले राख्नका लागि कोभिड अस्पताल रहेको स्थानमा राखेको तर भोलिपल्टै वन विभागले बस्न नदिएको गुनासो गरे । अहिले पुरानो वडा कार्यालयमा अस्तव्यस्त ढंगले कैदीलाई जस्तो गरि राखिएको बताए । उनले थपे– फेरी पनि सोही कोभिड अस्पताल रहेकै स्थानमा ल्याउने पहल भईरहेको र त्यसमा सम्बद्ध सबै पक्षबाट सहयोगको अपेक्षा गरेको सुनाए ।
उनले दुःख, पीडित, बेसहाराको जीवन रक्षाका निम्ति नगरपालिकाले निर्णय गरेर उपर्युक्त भनेर रोजेको ठाउँकै लागि केही हप्ताभित्र सबैलाई बोलाएर छलफल गर्ने र सो छलफल र त्यसपछिका अभियानमा साथ र सहयोग गर्न आग्रह गरे ।
निर्धारित कार्यक्रमअनुसार झापाली समाज इजरायलबाट प्राप्त वासिङ मेसिन र सृजनशील नारी एकता समाजले प्रदान गरेको फ्रिज मानव उद्दार सेवालाई हस्तान्तरण गरिएको छ। यस्तै, विभिन्न वित्तीय संस्थाहरूले पनि सक्रिय सहभागिता जनाउँदै सहयोगका हात अगाडि बढाएका छन्।
जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ११ हजार रुपैयाँ, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट ५ हजार, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीबाट ५ हजार, दमक बहुमुखी सहकारीले १० हजार, र डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ५ हजार रुपैयाँ प्रदान गरेका छन्।
यसैगरी निजी क्षेत्रबाट पनि उल्लेख्य सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएको छ।
नाम्बिन फर्निचर्सका संचालक शालिकराम लिम्बुुले २५ हजार रुपैयाँ तथा जर्मनी निवासी प्रदिप अधिकारीले छोराको पहिलो जन्मदिनको अवसर पारेर २० हजार १६० रुपैयाँ सहयोग उपलब्ध गराएका छन्। सुरुचि फर्निचरका संचालक सुरेन्द्र श्रेष्ठले ५ थान, धनेश्वर काष्ठ उद्योगका संचालक सोमबहादुर तामाङले ८ थान साथै क्लब हिमालय टाइगर, दक्षिण कोरिया–अन्तर्राष्ट्रिय समन्वय समितिले ५ थान डोनेसन बक्स प्रदान गरेको छ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा दिंदै आएको निम्स नेशनल हस्पिटल प्रा.लि. ले मासिक रूपमा डक्टरिय सेवा निःशुल्क उपलब्ध गराइने घोषणा गरेको छ। त्यस्तै प्यासिफिक फार्माका संचालक लोमस सापकोटाले संस्थालाई आवश्यक पर्ने औषधि मासिक रूपमा निःशुल्क उपलब्ध गराइने प्रतिबद्धता जनाए।
यही क्रममा सिग्देल डिपार्टमेन्ट स्टोर्सका संचालक लोकनाथ सिग्देलले मासिक एक बोरा चामल, ५ केजी दाल र ५ लिटर तेल प्रदान गर्ने घोषणा गरे। बिष्णु किराना पसलका संचालक बिष्णु शाहले मासिक १३ केजी भुजा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
मानव उद्दार सेवा दमकका पदाधिकारीहरूका अनुसार प्राप्त सहयोगले आगामी दिनमा संस्थाले गर्ने मानविय सेवामूलक कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
पदस्थापना गरिएको नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रेवतचन्द्र भण्डारी, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ, महिला उपाध्यक्ष मालता गोले, सचिवमा भुपेन्द्र प्रसाद न्यौपाने (भिविन्द्र), सहसचिवमा गणेश प्रधान, कोषाध्यक्षमा जुद्धबहादुर भण्डारी, सहकोषाध्यक्षमा रेविका कार्की रहेको छन । यसैगरी सदस्यहरुमा कमला लिम्बु, युवराज निरौला, सरोज बाँस्कोटा, प्रशान्त ढकाल, लोमस न्यौपाने डुका कुमाल, मैना दाहाल, पर्शु दाहाल, अन्जु उप्रेती, मुकेस अग्रवाल, अमित अग्रवाल, होम कुमार श्रेष्ठ र माया कार्की रहेका छन् । यस्तै एक जना कार्यसमिति सदस्य समितिको बैठकले मनोनयन गर्ने भएको छ ।
सामाजिक अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, इलाका प्रशासन, इलाका प्रहरी कार्यालयका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दल तथा सामाजिक अगुवाहरुले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष रेवतचन्द्र भण्डारीको अध्यक्षता रहेको सो कार्यक्रम सचिव भुपेन्द्र न्यौपानेले सञ्चालन गरेका थिए ।