खेल मुख्य समाचार

भलिबल जितेर आएका खेलाडीको भव्य स्वागत

दमक/ माल्दिभ्समा आयोजित काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबको सोमबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लब भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लबका खेलाडीको भव्य स्वागत गरिएको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए । टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पु¥याइएको थियो । त्यहाँ सञ्चारकर्मी प्रवेशमा भने रोक लगाइएको थियो ।


नेपाल पुलिस क्लबले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो । माल्दिभ्समा शनिबार सम्पन्न च्याम्पियनसिपमा नेपाल पुलिस क्लबसहित उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ क्लबले प्रतिष्पर्धा गरेका थिए। लिग चरणमा नेपाल पुलिसले हुमोसँगै श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले हराएको थियो । नेपाल पुलिसले माल्दिभ्सका टोली वाम्को क्लबलाई ३–२ र माल्दिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो। पुलिसले आठौँ एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लब च्याम्पियनसिपमा चुनौती प्रश्तुत गरेको हो ।
यस च्याम्पियनसिपमा सहभागी हुन पुलिसले एपीएफ क्लबकी स्पाइक सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्यु डायमण्ड स्पोर्ट्स क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।

Author

You may also like