दमक । आजभोली सडक खाना अर्थात स्ट्रिट फुड नेपालको शहरी जीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनेको छ। काठमाडौं, पोखरा, धरानदेखि वीरगञ्ज , चितवनदेखि नेपालगञ्जसम्मका सडकहरूमा सजिलैसँग देखिने “मोःमो“, “चट्पटे“, “सेल रोटी“, “पानी पुरी“, “ चाट ”, “ भक्का ”, “पकौडा” “समोसा” “चाउमिन” “घमन्जा” जस्ता विविध स्वादका परिकारहरूले नेपाली समाजको विविधता र स्वादप्रतिको मोहलाई प्रतिबिम्बित गर्छन्। यस्ता प्रकारका सडक खानाले सांस्कृतिक समृद्धि र आर्थिक अवसर प्रदान गर्ने भए तापनि यसले जनस्वास्थ्य, खाद्य स्वच्छता, लगायतका विषयमा नीतिगत चुनौतीहरू पनि सिर्जना गरेको पाइन्छ।
सस्तो, छिटो र मिठो
नेपालमा सडक खाना व्यवसाय अनौपचारिक क्षेत्र अन्तर्गत पर्दछ, जसले हजारौं निम्न–आय भएका परिवारहरूलाई रोजगारीको अवसर प्रदान गरेको छ। खासगरी शहरी क्षेत्रमा बसाइँ सरेका, औपचारिक रोजगार नपाएका, महिलाहरू र सीप भएका तर पूँजी नभएका व्यक्तिहरूका लागि यो आय आर्जनको एउटा सजिलो माध्यमको रुपमा रहेको छ। यस्ता खानेकुराहरू सस्तो, छिटो र सहज उपलब्ध हुने भएकाले महोत्सव, साँझको समय तथा मेलाहरुमा विद्यार्थी, मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा आन्तरिक तथा बाह्य पर्यटकहरू यसप्रति बढी आकर्षित हुने गरेको पाईन्छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने खाद्य सुरक्षाको चुनौती रहि रहेको अवस्थामा सडक खाना त्यस्तो समुहका लागी सस्तो मूल्यमा पेट भरी खान सकिने उत्तम विकल्पको रुपमा समेत रहेको छ।
सांस्कृतिक झल्को
सडक खानाले नेपाली पहिचानको प्रतिनिधित्व पनि गर्ने गर्दछ। नेपालका विभिन्न क्षेत्रीय परिकारहरू जस्तै नेवारी खाजा र यमरी, थकाली खाना, तेराईको समोसा र चाट, थारु समुदायको ढिक्री जस्ता खानेकुरा सडकमा सजिलै पाइन्छन्। यो विविधता केवल स्वादका लागि मात्र नभइ नेपाली समाजमा विद्यमान जातीय र सांस्कृतिक सम्पदा झल्काउने उदाहरण पनि हो।
कत्तिको स्वस्थकर ?
स्वादिलो र सस्तो हुने भएकाले सडक खाना अत्यन्तै लोकप्रिय छ, तर जनस्वास्थ्यका दृष्टिकोणले यो त्यति सुरक्षित मानिदैन। अस्वस्थकर तरिकाले खाना पकाउने प्रक्रिया जस्तै एउटै तेल पटक पटक प्रयोग हुनु, अखाद्य रसायनहरुको अधिक प्रयोग, अत्यधिक नुन, मसला र एसिडको प्रयोग, दूषित पानीको प्रयोग, खुला ठाउँमा राखिएका खाना, फोहोरको व्यवस्थापनमा न्यून ध्यान हुनु र खानेकुराको उचित भण्डारण नगर्नु जस्ता कारणले गर्दा सडक खानाका कारणले गर्दा उपभोक्ताहरू विभिन्न रोगहरूको जोखिममा पर्ने सम्भावना अत्यन्तै धेरै हुने गरेको छ जस्तै झाडापखाला, टाइफाइड, हैजा, हेपाटाइटिस, पेट सम्बन्धी संक्रमणहरू र फुड पोइजनिङका केसहरूमा सडक खाना नै प्रमुख कारकको रूपमा पाइने गरेको छ ।
नीतिगत एवं व्यवस्थापन पक्ष
नेपालमा सडक खाद्य व्यवसायलाई नीतिगत रूपमै सम्बोधन गर्ने बिशेष कानुनी संरचना अझै विकसित भएको छैन। अधिकांश सडक व्यापारीहरू अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरिरहेका हुन्छन्, जसले गर्दा उनीहरू नगरपालिकाको कर प्रणालीमा समेत समावेश हुन भएका हुँदैनन्।
शहरी योजना निर्माण गर्दा सडक खानाको व्यवस्थापनलाई पनि नीति निर्माणकै तहबाट समावेश गर्नु आजको आवश्यकता हो। सडक व्यापारीहरुलाइ आवश्यक स्वच्छता तालिम दिएर, स्वास्थ्य मापदण्डको पालना, स्थानीय तहमार्फत दर्ता गराई लाइसेन्स प्रणाली लागु गरेर, खाद्य अनुगमन स्वास्थ्यकर र सन्तुलित खानेकुराहरू प्रोत्साहित गर्नु सडक व्यापारलाई व्यवस्थित गरी ’फुड जोन’ को अवधारणा विकास गर्नु र सुरक्षित फोहोर व्यवस्थापनजस्ता उपायहरू अपनाएमा सडक खानालाइ व्यवस्थित एवम स्वस्थ बनाउन सकिन्छ ।