खेल देश–समाज समाचार स्थानीय

दमकमा दोस्रो संस्करणको खेलकुद महोत्सव उद्घाटन

दमक/ झापाको दमकमा दोस्रो संस्करणको “दमक खेलकुद महोत्सव–२०८३” उद्घाटन गरिएको छ । दमक नगरपालिकाबाट पञ्चेबाजासहित सुरु गरिएको ¥याली वडा नं. ७ स्थित नमूना ब्याडमिन्टन कभर्डहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईको अध्यक्षतामा आयोजित कार्यक्रममा दमक नगरप्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी किशोर लम्साल, समाजसेवी शेरबहादुर भट्टराईलगायतको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै वडा नं. ७ का अध्यक्ष भीमप्रसाद पौडेल, वडा नं. ५ का कार्यवाहक अध्यक्ष खड्गबहादुर राईलगायत वडाअध्यक्ष, जनप्रतिनिधि, खेल संस्थाका पदाधिकारी, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षा समितिका संयोजक तथा वडा नं. ९ का अध्यक्ष कुवेर भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले युवाहरुको स्वस्थ जीवनका लागि, दमकको पहिचानका लागि र समग्र राष्ट्र निर्माणकै लागि खेलकुद अपरिहार्य रहेको बताए । भदौ २३ र २४ आन्दोलनबाट नगरपालिका पीडामा भएपनि युवाहरुको खेलकुदप्रतिको आकांक्षा र उत्साहलाई मर्न नदिन र गतसालदेखि गरिँदै आएको खेलकुद महोत्सवको निरन्तरताका लागि दोस्रो खेलकुद महोत्सव आयोजना गरिएको बताए । उनले दमक नगरपालिकाले युवाको खेलप्रतिको चाहना पुरा गराउँदै खेलाडीमा भएका प्रतिभा प्रस्फुटन, नयाँ प्रतिभाको खोजीका लागि यो पटक खेलकुद ९ विधालाई समेटेर नगरस्तरीय खेलकुद महोत्सव आयोजना गरिएको बताए । उनले प्रत्येक वर्ष आयोजना हुने खेल महोत्सवलाई थप नयाँ र आकर्षक बनाउने प्रयास भइरहेको पनि बताए । उद्घाटन कार्यक्रममा आइटीएफ तेक्वान्दोका खेलाडीहरूले आकर्षक प्रस्तुति दिएका थिए भने पञ्चेबाजाको धुनले कार्यक्रमस्थललाई थप रोमाञ्चक बनाएको थियो ।

वैशाख ३० गतेसम्म महोत्सवको समापन
गत वर्षदेखि खेलकुदको समग्र विकास र खेलाडी प्रोत्साहनका लागि सुरु गरिएको महोत्सवको दोस्रो संस्करण वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख प्रविण खड्काका अनुसार समापन कार्यक्रम दमक–१० स्थित आम्बारी खेलमैदानमा हुनेछ ।
महोत्सवअन्तर्गत नौ विधाका भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, चेस, एथलेटिक्स, कराँते, आइटीएफ तेक्वान्दो र डब्लुटीएफ तेक्वान्दो समावेश छन् । फुटबल प्रतियोगिता भने वैशाख २१ गतेदेखि नै सुरु भइसकेको छ ।
पुरस्कार व्यवस्था
महोत्सवका विभिन्न खेल विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई नगद पुरस्कार, शिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले विधाअनुसार अधिकतम एक लाख रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्नेछन् । उद्घाटन कार्यक्रमको सञ्चालन मोहन मगर मिनले गरेका थिए ।

Author

You may also like