मुख्य राजनीति

सरकारको एक वर्षे कार्यकाल प्रभावकारी नभएको गुनासो

भूपेन्द्रराज तिम्सिना

दमक, ११ पुस।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारको १ वर्षे कार्यकालप्रति विभिन्न क्षेत्रका अगुवाहरुले असुन्तुष्टि जाहेर गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलहरुको गठवन्धनमा ०७९ पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डको अगुवाईको सरकारको कामकारबाही सन्तोषजनक नभएको धारणा व्यक्त भएका छन् । दमक क्याम्पसका पूर्व प्रमुख मोहनप्रसाद भण्डारीले राज्य सञ्चालन गर्ने सञ्चालक जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले हालको व्यवस्था उत्तम हुँदाहुँदै पनि लोकतन्त्र आइसकेपछि सरकार सञ्चालनमा रहनेहरुको नैतिकपतनको पराकाष्ठ देखिएको उल्लेख गरे । उनले भने भूटानी शरणार्थी, सुन प्रकरण सहितमा सरकार चलाएका मान्छे जोडिनुजत्तिको नैतिकपतनको पराकाष्ठ के हुनसक्ला ?’
उनले १ वर्षे कार्यकालमा आत्मनिर्भरता कायम गर्न नसक्नु मात्रै होइन कम्तिमा आत्मनिर्भरताउन्मुख वन्न समेत नसकिएको दुखद पक्ष रहेको विश्लेषण गरे । ‘हामी पहिले भारतलाई चामल बेच्थ्यौं, अहिले भारतबाट चामल पठाएन भनें केहि महिनामात्रै खाने पाउने अवस्था हुन्छ । उद्योगधन्दा मासिएपछि श्रमशक्ति विदेशिए, देशको समग्र अवस्था डामाडोल भयो ।’– उनले भने । सवै समस्याको जड अल्पमतमा रहने दलको नेतृत्व गर्ने व्यक्तिले सरकारको नेतृत्व गर्नु रहेको उनको बुझाई छ ।
सरकारको कार्यकाललाई दमक नगरपालिकाका पूर्व उपप्रमुख लोकबहादुर धिमालले पनि सन्तोषजनक मानेका छैनन् । उनले छोटोमा टिप्पणी गर्दै भने ‘यो कार्यकाललाई सरकारको अलमलिएको दिनको रुपमा लिएको छु । गर्न सक्ने काम पनि नगरेर विना योजना अलमलमा वित्यो ।’
मुस्लिम समुदायका अगुवा मदिनी तल उलुम मदरसा दमक ७ का अध्यक्ष महम्मत जुबेरले पनि सरकारले सवै धर्म सम्प्रदायप्रति समान रुपले व्यवहार गर्न नसकेको धारणा राखे । उनले बहुमतको दिगो सरकार नहुँदा समस्या रहिरहेको विचार राखे । ‘हाम्रो सम्प्रदायको शिक्षा, स्वास्थ्य र समग्र उत्थानमा तल्लोतहसम्म कार्यक्रम प्रभावकारी हुन सकेन ।’– उनले भने ‘सवैलाई रिझाएर सरकार जोगाउने दाउ हुन्छ । कर्मचारीले घुस खान रोकिएन, अरुतिर पनि भ्रष्टाचार व्याप्त छ । समग्रमा सरकारबाट जति काम हुनुपर्ने हो त्यो हुन सकेन ।’
झापाका अगुवा पत्रकार एवं सर्जक चन्द्र भण्डारीले सरकारको काम आशाजनक नभएको भन्दै गठवन्धनभित्रका दलमै भित्रभित्रै व्यापक असन्तुष्टि भएकाले धरापको अवस्थामा रहेको विश्लेषण गरे । उनी भन्छन् ‘सरकारले यो चाँही राम्रो गर्यो भनेर भन्ने कुनै काम छैन । अराजकता, असहिष्णुता र जातीय दंगालाई प्रोत्साहन हुने खाले गतिविधि भएका छन् । आर्थिक, सामाजिक र साँस्कृतिक रुपले असन्तुलन कायम गर्ने कालो दिनका रुपमा कार्यकाल रह्यो ।’
सरकारको यो कार्यकालमा अपेक्षा अनुसार सन्तोषजनक काम हुन नसकेको कानून व्यवसायी देवेन्द्र भण्डारीको बुझाई छ । ‘देशमा समग्रमा छलछामका गतिविधि भएर न्यायिक अवस्थामा प्रगति भएन । अघिल्ला सरकार जत्तिको समेत पनि यो सरकारको काम भएन ।’– उनले अथ्र्याए ।
दमकका लेखक बाँस्कोटा धनञ्जयले सरकाको उट्पट्याङले सीमा नाघेको अभिव्यक्ति दिए । उनले भने ‘भ्रष्टाचारको कुरा सेटिङमै उठाउने र सेटिङमै मत्थर पार्ने काम भइरहेको छ । सरकार चाँही सरकार बनाउने कुरामै केन्द्रित छ । आत्मनिर्भरता बनाउने खाका छैन, जनताको आवश्यकता एकातिर र सरकार अर्काेतिर हिँडिरहेको छ ।’
उर्लाबारीकी स्थापित सर्जक मिश्र वैजयन्तीको सरकारप्रतिको धारणा केहि मिश्रित रहेको छ । सरकारले केहि गर्न कोसिस गरेको भएपनि उपलब्धि भनें त्यति हाँसिल हुन नसक्दा आलोचना नै बढी भएको जनाइन् । जनतालाई वादविवादमा उत्रिने वातावरण बनेको समेत उल्लेख गर्दै उनले भनिन् ‘सरकार वादविवादको स्थिती सिर्जना हुने काम नगरी योजना कार्यान्वयनमा लाग्नु पथ्र्याे । प्रज्ञा प्रतिष्ठान सहितका नवगठित सृजनात्मक संस्थाहरुको काम पनि पक्षपातरहित हुन नसक्दा दुःख लाग्यो ।’

You may also like