मुख्य लेख

सहकारीको अवस्था र बेथितिमा गाँजिएको नेपाल

नेपालमा बेथिति बढदो छ । हिजो खान नपाएका चाउरी परेका अनुहार र घोप्टे भुडीहरु आज मालामाल मन्त्रालयमा मोटाएका छन् । सत्ताको चावी उनीहरूकै बलबाहुमा छ । कालोलाई सेतो र सेतोलाई कालो सम्म बनाउन सक्ने ल्याकत उनीहरूकै हातमा छ । यहाँ निम्छरो बोल्यो कि पोल्यो, देश यिनै दलालहरुको पन्जामा छ ।

तपाईं अड्डा अदालत जानुस् जतैपनि बिचौलियाहरुको बिगबिगी छ । दाम चढाउनु भएन भने तपाईंको काम थाँती हुन्छ । यस्तो सम्म हुन सक्छ कि दामरेट र कमरेटहरुको खोसाखोस तानातान हुन्छ तर तपाईं एउटा सोझो नागरिक भएको कारणले तपाईं पछि पर्नु भएको छ । उनीहरूको नजर दृष्टि तपाईंको काममा लाग्दैन, जो सेटिङमा छ । दलाल गर्छ, नेतागिरीको चम्चागिरीको काम गर्छ उसको क्षीणभरमै काम हुन्छ,्र हिजोका दलालहरु तस्करहरु, गुण्डा नाइकेहरुको मन्त्रालय र पदीय जिम्मेवारी उनैको पन्जामा परेर पद ग्रहणसम्म गर्दा तै चुप मै चुप बोल्नेवाला कोही छैन । आफ्नै दलमा घुसखोरी, तस्करी, जालसाजी गर्नेले गलत काम गर्दा सम्म उसले गलत गर्यो सम्म भन्ने मान्छे भेटिन्न हिजोआज । त्यही भएर होला तिनै तस्करहरुको मानवीय सन्जाल राजनीति संरक्षणमा दिनदिनै जेल चलान भएकाहरु समेत सुनपानीले छर्किएर धमाधम निस्किरहेका छन् भने कति त भागिसकेको अवस्था छ । आज यसमा अछुतो रहेन सहकारी संस्थाभित्र ।

प्रसङ्ग बदलौ, सत्यतथ्य देखिएको यथार्थता भित्र पसौ यहाँ यो कलमीले लेखिरहँदा कुनै ब्यक्तिलाई असर पर्न जाला म त्यसकुरामा क्षमा माग्छु कतै केही भएमा तर यहाँ यतिसम्म हामीले थाहा नपाउँदा सम्म धेरै सहकारी संस्था आज टाट पल्टिएका छन् । जिन्दगीभर नउस्किने भएका छन् । यिनै सहकारी सञ्चालकको बेइमानीले बिचल्ली बनायो धेरैलाई । अनि “ एका बिराउने साखा तिराउने “ भनेझैं भएको छ । आज नयाँ नेपालमा बिकृति र बिसङ्गति बढदो गतिमा छ । रोकिनेवाला छैन यस्तो तीव्र गतिमा छ । रोकेर नसकिने अवस्थामा छ ्र यसले सामाजिक, राजनीतिक, धार्मिक, विभिन्न संघ सस्था समेतलाई अछुतो राख्न सकेन ।

हो आज नेपालका धेरैजसो सहकारीका संचालक धमाधम रकम कुम्ल्याएर भागेका छन । कतिको त घरभित्रै चल्छ आर्थिक कारोबार गरिव, मजदुर गर्नेहरु साँवाको ब्याज, ब्याजको स्याज घरको न घाटको भएका छन् । आज देशभरमा कालीमाटी, महाराजगन्ज, न्युरोड स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीका संचालक ३ अर्ब भन्दा बढी बचत लिएर फरार भएको अवस्था छ भने सुप्रीम बचत बुटवल, भैरहवा, कपिलवस्तु, सानोपाइला बचत वीरगन्ज, समानता बचत नेपालगन्ज केन्द्र रहेका ऋण सहकारी संस्थाका सन्चालकहरु करोडौ करोड रकम लिएर बेखवर हुँदासम्म सम्बन्धित निकायका आवद्ध संस्थाहरु कानमा तेल हालेर बसेको अवस्था छ । अब बुझ्नुहोस् कि नेपालमा धेरै सहकारी माफियाहरु कसरी झाङ्गिदैछन र धेरै राम्रा सहकारी संस्थाहरुको गरिमालाई क्षयीकरण गरिरहेका छन् भन्ने प्रतीत हुन्छ ।

हिजो जेनतेन परिश्रम गरेर जोहो गरेको रकमको मुनाफा सम्म नपाइ बन्द भएका सहकारी संस्था बग्रेल्ती छन् । हो आज यस्ता बदनाम कमाएका सहकारी संचालकको अदुरदर्शिताका कारण दिनदिनै बिस्थापित हुने अवस्थामा धेरै पुगेका छन् ।

सक्षम ब्यबस्थापक, सञ्चालक समितिसम्म शिक्षित र सहकारीमा ज्ञान नभएकाहरुका कारणले पनि सहकारी संस्थाभित्र असन्तुष्टि बढदो छ । हिजोका दिनमा नाम कमाएका सहकारी संस्थाले आज बेनाम कमाएका छन । अहिले सहकारी सञ्चालकले भोगेको, बन्द भएको, जनताको बचत राखेको रकम लिएर सञ्चालकले आफ्नो मनलाग्दो किसिमले ब्यक्तिगत रूपमा धेरै स्थानमा मनमानी तरिकाले जग्गा घडेरी प्लानमा त्यो रकम प्रयोग गरेको पाइन्छ ।

सहकारीका जिम्मेवार ब्यक्तिहरु जनताले बचत गरेको रकमबाट उनीहरुकै आसेपासेहरुलाइ मात्र रकम दिने गरेका छन् । सक्कली बचतकर्ताले पुरस्कार प्राप्त गर्दैनन् नक्कलीहरुले ऋण, मानसम्मान पाएको अवस्था छ । आखिर भइरहदा सम्म किन उपभोक्ताहरु जागरुक र सचेत हुँदैनन् । जनताहरु जागृत नभएका कारणले पनि सहकारी संस्थाभित्र पसेका धेरैजसो नक्कली संचालक समितिका पदाधिकारीहरुले सहकारी संस्था डुबानमा पारेका छन् । आज सहकारी निकायमा दर्ता भइ आएका यस्ता धेरै सहकारी निक्षेपकर्ताको बचत फिर्ता गर्ने अवस्थामा नरेहेका तथ्यहरु सार्वजनिक भइरहदा निक्षेपकर्ताको रकम फिर्ता गराउने तर्फ सम्बन्धित निकायको सक्रियता किन प्रभावकारी हुन सकिरहेको छैन । अनुगमन तथा नियमनकारी संस्थाहरुको अनुगमन खोइ ? यतिमात्र होइन साना सहकारी जसले गृहिणीले जम्मा गरेको साना रकम निक्षेप राख्ने गरेका छन् । जहाँ स्थानीयले नुन र चामल किन्ने रकमबाट जोगाएर बचत गर्ने बानी बसालेका छन् । त्यस्ता धेरै सहकारीले आज विभिन्न बहानामा निक्षेपकर्ताको निक्षेप रकम दिन आलटाल गरेका छन् । यस्ता कैयौं सहकारी छन् जुन सहकारीका ५÷५ वटा भन्दा बढी शाखा खोलिएका छन् कुनैकुनै सहकारीहरुले मात्र सही काम गरेका छन् धेरै सहकारीहरु खोलेपनि नेपालमा सहकारीको ठूलो सन्जाल छ ।

खासमा समान भूगोल र समान उद्देश्य भएका सदस्यबिच सहकार्य स्थापना गरी स्वावलम्बन विकास गर्न सहकारी अभियानको सूत्रपात भएको हो । सहकारीको अवधारणा, नियम र कानुनले पनि त्यसै भन्छ तर धेरै सहकारी यसरी संचालित छैनन् ।

अहिले सहकारीभित्र राजनीतिक हस्तक्षेप छ । हाम्रो पार्टीका फलानोलाइ यो पद त्यो पद भन्ने परिपाटीको बिकासले जरो गाडिसकेको छ । सहकारी प्रशिक्षक, अभियान्तानै सम्बन्धित बिषयमा ग्रेजुएसन पास नगरेकै बाक्लो उपस्थिति छ । मुलुकभर ३० हजारभन्दा बढी सहकारीहरु छन र तिनमा ७० लाखभन्दा बढी सदस्यहरु छन् । सबै सहकारी संस्था समस्याग्रस्त छैनन् । कानुनलाई पालना गर्दै स्वनियममा चलेका सहकारी संस्थाहरुले राम्राराम्रा काम पनि गरेका छन् । उधम गर्न चाहनेहरुलाइ चाहिदो मात्रमा कर्जा प्रवाह गरेका छन् सदस्यहरुले भविष्य सुरक्षाका लागि बचत गर्दै लाभ लिइरहेका छन् । सहकारी संस्थाले उधोग ब्यवसाय चलाएर रोजगार सम्म दिलाएका दृष्टान्त छन् । यति हुँदा हुँदै नियमनकारी निकायहरु सुस्ताउदा धेरै सहकारी संस्थाहरु समेत बेथितिबाट संक्रमित हुने जोखिम बढदो छ । यसकारणले पनि आगामी दिनमा सम्पूर्ण सहकारीकर्मीहरु एकजुट भएर सहकारी संस्थामा देखिएको ब्रह्मलुट गर्ने विरुद्ध जाग्नैपर्छ ।

Author

You may also like