इलाम, २४ कार्तिक
इलामको श्रीअन्तुमा अहिले हजारौँको सङ्ख्यामा आन्तरिक र वाह्य पर्यटक आउने गरेका छन् । सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले मनै लोभ्याउने श्रीअन्तुमा आन्तरिक र वाह्य पर्यटकले यहाँका होटल र होम-स्टे भरिभराउ रहेका छन् ।
समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यवलोकनको लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ । दृश्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट १४ किलोमिटरको दूरीमा पर्दछ । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । हुन त इलाममा धेरै पर्यटकीय गन्तव्य छ तर, अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीयस्थलमा छैन । अन्तु डाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको दृश्य देखिन्छ ।
अन्तु सूर्योदयका लागि जति प्रख्यात छ, त्यति नै होम-स्टे पनि चर्चित छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसँगै होम-स्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ बर्सेनि पर्यटक बढ्दै गएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए । हरेक वर्ष एक लाखभन्दा बढी पर्यटकहरू होम-स्टेमा बस्ने गरेको आलेको भनाइ छ । नेपालको सबैभन्दा ठूलो होम-स्टे श्रीअन्तुको हो । ६० घर होम-स्टेमा दर्ता भएका छन् ।
अन्तु डाँडाबाट तराईका फाँट, भुटानका पहाड, दार्जिलिङका बस्ती र कञ्चनजङ्घा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । अन्तुमा बाह्रै महिना चिसो हुन्छ । छिनछिनमा परिवर्तन हुने मौसम श्रीअन्तुको मुख्य विशेषता हो । कृषिका लागि पनि श्रीअन्तुले निकै ख्याति कमाएको छ । चियाका लोभलाग्दा डाँडा, अदुवा, अम्लिसोले पनि स्थानीयले मनग्य आम्दानी गर्ने गरेका छन् । हरियो गलैँचा ओछ्याए झैँ चटक्क मिलेको चियाबारी, कोणधारी धुपी, सल्ला, अलैँची, सिजन अनुसारका फलफूल तथा अरू बाली श्रीअन्तुको मुख्य आकर्षण हुन् ।
अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेका अनुसार बिदाको दिन अहिले दैनिक तीन हजार पाँच सय पर्यटक आउने गरेको बताए । ‘दशैँयता श्रीअन्तुमा दैनिक सरदर १५ सयदेखि ३ हजार आन्तरिक र वाह्य पर्यटक आउने गरेका छन्
अन्तु लोपोन्मुख लेप्चा जातिको थातथलो पनि हो । यहाँ आउने पर्यटकले लोपोन्मुख लेप्चा जातिको सङ्ग्रहालयमा सङ्कलित ऐतिहासिक हातहतियार, बाजागाजा, घरायसी प्रयोजनका सामग्री अवलोकन गर्न पाउँछन् ।