मुख्य विविध स्थानीय

६५ बर्षदेखि सञ्चालित कालीपूजा

रोहित काफ्ले

भद्रपुर, २४ कार्तिक

हिन्दूहरुको महान चाड तिहार नजिकिँदै जाँदा झापाको सदरमुकाम रहेको भद्रपुरमा दशकौंदेखि आयोजना हुँदै आएको कालीपूजाको भव्य तयारी गरिएको छ ।
भद्रपुर वडा नम्बर ५ र ६ को संगमस्थल सिकन्दर मार्केटमा ६ दशकअघि सुरु गरिएको काली पूजाको तयारी तीव्र बनाइएको हो ।
यस वर्ष फरक र थप आकर्षक ढंगले पूजाको तयारी गरिएको आयोजक सार्वजनिक काली पूजा समितिले जनाएको छ । समितिले यस वर्ष आकर्षक पण्डाल निर्माण गरेको छ भने पूजास्थल वरिपरि झण्डै एक किलोमिटरसम्म आकर्षक प्रकाशको व्यवस्था गरिएको समितिका सदस्य मानष घोषले जानकारी दिए । धरहरास्वरुपमा निर्माण गरिएको पण्डाल नेपालमै पहिलो भएको सदस्य सञ्जय घोषले दावी गरे । धरहराको बाहिर-भित्र आकर्षक प्रकाशको व्यवस्था गरिने उनले बताए ।
६५ वर्षअघि कालीपूजा गर्न थालिएको सिकन्दर मार्केटमा अहिले युवाहरुले सो पूजालाई निरन्तरता दिएको समितिका संयोजक देवु पकुवालले जनाए ।
लक्ष्मीपूजाको दिन आइतबार विधिपूर्वक पूजाआजा गरी सुरु हुने कालीपूजाअन्तर्गत गोवद्र्धन पूजाको दिन मंगलबार बेलुकी विशेष समाारेह गरिने छ । सो दिन भारतको चर्चित सांगीतिक व्याण्ड डाइनामिक म्युजिकको आकर्षक प्रस्तुति रहने छ भने सेक्सोफोन संगीतका कलाकारले पनि प्रस्तुति दिने उनले बताए ।
काली पूजा सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै समितिका सदस्य किरण साहले त्यसका लागि भद्रपुर नगरपालिका, वडा कार्यालयहरु, उद्योगी-व्यवसायी तथा दानवीर दाताहरुबाट सहयोग जुटाइने जानकारी दिए ।
विगतमा भद्रपुरमा लाग्ने यो पूजामा छिमेकी सीमावर्ती भारतीय श्रद्धालुहरुको पनि व्यापक सहभागिता हुँदै आएकोमा यस वर्ष पनि उनीहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

You may also like