दमक, २४ कार्तिक
तिहार भित्रिएसँगै ‘दिमाग खराब’ शुक्रबार ( आज) बाट देशका प्रमुख मल्टिप्लेक्स हलहरूमा प्रदर्शनमा आउँदै छ ।
निर्देशक निश्चल बस्नेतको ६ बर्षपछिको निर्देशनमा आएको स्टार कलाकारको अभिनयको चलचित्रले तिहारमा एकल प्रदर्शनको अवसर पाएको छ । यसले अग्रिम बुकिङ्कासाथ देशका डेढसय हलहरुले यसले आफ्नो प्रदर्शन गर्दैछ । जसबाट चलचित्र निर्माण पक्षले राम्रै व्यवसायिक सफलता प्राप्त हुने अपेक्षा गरेको छ ।
चलचित्र दमकस्थित पाथीभरा हलमा समेत प्रदर्शन हुने र तिहारको अवसरले चलचित्रले राम्रै व्यापार गर्नेमा हलका प्रवन्धक चैतन्य बराल आशावादी छन् । तर सुरुदिनमै कतिपय हलमा चलचित्रको सामग्री आइनपुग्न समय लागेकोले पहिलो शो प्रदर्शन हुन नसकेको बताए ।
फिल्मलाई देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी ५८ शो दिएको छ । दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले १४, एफक्युबले ६, वान सिनेमाजले दुई हलमा गरी १०, बिग मुभिज र क्यूज सिनेमाजले समान ५/५ , रञ्जना सिनेप्लेक्सले ७, सिके सिनेमाजले ५, सिडिसी सिनेमाले ३ शो दिएको छ ।
नेपाली चलचित्र नजुध्ने भएर एक किसिमले ढुक्क भएको अवस्थामा दुई दिनपछि प्रदर्शनमा आउने बलिउड सुपरस्टार सलमान खान अभिनित फिल्म ‘टाइगर ३’ ले कस्तो असर पार्ला भन्ने पर्खाइ छ ।
‘दिमाग खराब’ मा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, सुमन कार्की, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्का लगायतको अभिनय छ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेका छन् ।