पर्यटन

गौरादहमा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

गौरादह, गौरादहका साथै आसपासका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यले संचालन गर्न लागिएको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहले यही मंसिर ८ देखि १६ गतेसम्म गौरादहको सामुदायिक भवनमा पर्यटन महोत्सव संचालन गर्ने तयारी गरेको छ । गौरादह क्षेत्रमा रहेका प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अन्य क्षेत्रमा समेत प्रचारप्रसार गराउने महोत्सवको लक्ष्य रहेकाले महोत्सवमा सबैको ध्यान त्यसतर्फ पुगेको देखिन्छ । महोत्सव स्थलमा सरसफाई गरिनुका साथै पन्डाल लगाएर घेराबारा गरिएको छ । महोत्सवमा सहभागी हुने दर्शकहरुका लागि मनोरम दृष्यको व्यवस्था मिलाइएको छ भने सजावटका साथ राखिने ब्यापारिक स्टलहरुको व्यवस्थापन गरिएको छ । महोत्सव स्थलमा निर्माण गरिएका १५ वटा स्टल मध्ये १० वटा बुकिङ भईसकेको र अन्य बाँकी पनि चाँडै बुकिङ हुने महोत्सव समितिका सचिव सान नेपालले जानकारी गराए । खानेपानी तथा अस्थायी शौचालयको ब्यवस्था गरिएको छ । महोत्सवमा मूर्तिकला, चित्रकला, स्थानीय जातजाति, भाषाभाषीहरुले प्रयोग गरेका सामाग्री, खानपिन, भेषभूषा, स्थानीय उत्पादनहरु, धार्मिक स्थलहरुलाई समेत समावेश गराइएकाले सबैले अपनत्व बहन गर्ने विश्वास लिइएको छ । पूर्व क्षेत्रको प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी,
बुद्वको मूर्ति, कलश मन्डव निर्माण भईसकेको छ । पशुपतिनाथ मन्दिरको डमी बनाई आरती गराईने, धार्मिक, आध्यात्मिक दर्शन शास्त्रीहरुका पुस्तकहरु समेत प्रदर्शनीको रुपमा राखिने महोत्सवका अध्यक्ष डा.तिलक खनालले जानकारी गराए । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई समेत सघाउ पुरु¥याउनुका साथै आन्तरिक पर्यटक प्रवद्र्धन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक तथा पर्यटन क्षेत्रको महत्व दर्शाउने उद्देश्यले महोत्सव संचालन गरिने जनाईएको छ । महोत्सव स्थलमा बढीभन्दा बढी नागरिकहरुको सहभागिताका लागि व्यापक रुपमा प्रचारप्रसार गरिनुको साथै प्रवेशमा कुनै प्रकारको शुल्क नलाग्ने समितिले जानकारी गराएको छ । कम लागतमा महोत्सव सम्पन्न गरी बचेको रकमलाई गौरादह–४ को मिलन चौकमा निर्माणाधीन अवस्थामा रहेको मानव धर्म सेवा समितिको भवनमा खर्च गरिने र सो भवनलाई सबैको साझा चौतारो बनाईने जानकारी गराइएको छ । महोत्सवलाई थप आकर्षक बनाउन ख्याति प्राप्त ब्यासाचार्यबाट महापुराण वाचन, कलाकारका कलाहरु, मानव उत्पति र विकासक्रम झल्काउने रहस्यमय चित्रकला प्रदर्शनी, गौशालाको व्यवस्था र गौपूजन, योग र विशेष ध्यान शिविर, लोकप्रिय नेपाली बाजाहरुको प्रदर्शनी, गौरादहका लोकप्रिय व्यक्ति स्व. नरबहादुर डिठ्ठाको स्मरणमा तयार पारिएको एकांकी नाटक प्रदर्शनी गरिने र दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाईने समितिले जनएको छ ।

Author

You may also like