समाचार

पूर्वी नेपालकाे नाकाबाट अरबौको मरिच तस्करी

विराटनगर ,  पूर्वी नाकाबाट केही समययता मरिच तस्करी फस्टाएको छ । प्रहरीका अनुसार सुन र सुपारीपछि अहिले मरिच तस्करी बढेको हो । भारततर्फ तस्करी बढेपछि तेस्रो मुलुकबाट नेपालमा मरिच आयात पनि बढेको छ ।
तस्करीकै लागि पनि नेपालमा यसको आयात बढेको हो । भन्सार कार्यालय विराटनगरको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा आयात उच्च छ । आर्थिक वर्ष २०७५÷७६ मा विराटनगर भन्सार कार्यालय हुँदै १ अर्ब २५ करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको ३० लाख ४७ हजार किलो मरिच आयात भएको छ । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा १ अर्ब ३० करोड ९२ लाख ८८ हजार बराबरको ३२ लाख ३० हजार २४८ केजी मरिच नेपाल भित्रिएको छ । विसं. २०७३(७४ मा ११ करोड २१ लाख ३३ हजार मूल्य बराबरको एक लाख ४८ हजार एकसय ८६ किलो मरिच आयात भएको छ । भारततर्फ मरिच तस्करीको लाइन २०७३÷७४ मा खुलेपछि आयात एक्कासि बढेको व्यापारीहरू बताउँछन् ।
यसै बीच मोरङ प्रहरीले भित्री बाटोबाट भारततर्फ तस्करी हुँदै गरेको १६ बोरा मरिच नियन्त्रणमा लिएको छ । जहदा गाउँपालिका–१ तारिगामाबाट प्रहरीले तीनवटा मोटरसाइकलसहित १६ बोरा मरिच नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको ४ सय २५ किलो मरिचको बजार मूल्य २ लाख ५० हजार रुपैयाँ बराबर छ । सो मरिच भारतीय नम्बर डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ को मोटरसाइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । मरिच तस्करीमा संलग्नहरू भने भारततर्फ भागेको उनले बताए । मरिच र मोटरसाइकल आवश्यक कारबाहीका लागि प्रहरीले बिहीबार नै विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा महँगो पर्ने मरिचको तस्करीका लागि सीमा नाकामा तस्करहरूले गोदाम खोलेका छन् । स्थायी लेखा नम्बर लिएर खुलेका साना पसल र गोदाम प्रयोग गर्दै मरिच भारतसम्म पुग्ने गरेको छ । मोरङ प्रहरीको दाबीअनुसार विराटगर बजार क्षेत्रबाट मासिक १० हजार किलोसम्म मरिच बिक्रीका लागि भन्दै सीमावर्ती क्षेत्रका पसलहरूमा पुग्ने गरेको छ । प्रहरीले गत असार ४ गते विराटनगरबाट सिमावर्ती क्षेत्र बुधनगर लैजाँदै गरेको ३० बोरा मरिचसहित दुईवटा अटो नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको थियो । तर २० दिन अनुसन्धानका लागि राखेको राजस्व कार्यालयले २१ असारमा खरिदकर्ता कञ्चन खरिद बिक्री केन्द्रलाई पत्र काटेर ३० बोरा (७५० केजी) मरिच फिर्ता लैजान भनेको थियो ।

Author

You may also like