मुख्य

दमक उवासंघको साधारणसभा सम्पन्न

दमक/ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले देशको विषम परिस्थिति र सरकारले समयमा ध्यान पु¥याएर नीति नियम नबनाउँदा र भनेजस्तो सहुलियत साथै सुविधा नदिँदा निजी क्षेत्रका उद्योगी व्यवसायीहरु विगत २५ वर्षदेखि मारमा पर्दै आएको बताएका छन् । दमक उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महासंघका पूर्वअध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनी सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका उपाध्यक्ष समेत हुन् ।

माओवादीको द्वन्द्वकाल, राजनीतिक अस्थिरता, मधेश आन्दोलन, भारतले लगाएको नाकाबन्दी, कोरोनाको महामारी लगायतका कारण देशको अर्थतन्त्र त्यसमा पनि राज्यलाई ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र अहिले धराशायी अवस्थामा पुगेको उनले बताए । खासगरी पछिल्लो समय लगातारको निर्वाचनका कारण सरकार र त्यसमा सत्तासीन राजनीतिक दलहरुले ध्यान दिन नसकेको र बैंकको चर्को व्याजका कारण उत्पन्न पीडा सहन नसकेर अहिले कयौं उद्योगी व्यवसायीहरुले मृत्युवरण गरिरहेको यथार्थ उनले सुनाए । बैंकबाट ८ प्रतिशत व्याजमा ऋण लिएका उद्योगी व्यवसायीहरुले अहिलेको बढेको व्याज १६ प्रतिशतभन्दा बढी तिर्नुपरिरहेको र कोरोनाको महामारी साथै देशको अर्थतन्त्रमा आएको शिथिलता र खराबीका कारण उनीहरु अनावश्यक रुपमा पिल्सिनुपरेको उनले बताए । यो समस्याबाट समाधानका लागि आफूहरुले उद्योग वाणिज्य महासंघको तर्फबाट अहिले बनेको नयाँ सरकारका प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसंग आग्रह गरेको र केही समयमा सहजताका लागि सहुलियतका कार्यक्रम ल्याइने प्रतिक्रिया दिएको पनि बताए । उनले देशको अर्थतन्त्र स्थिर र चलायमान हुन नसक्दा सामाजिक रुपान्तरण पनि हुन नसक्ने भएकाले त्यसतर्फ राजनीतिक दल र सरकारको ध्यान जानुपर्ने आवश्यकता पनि औंल्याए । सो अवसरमा बोल्दै निजी क्षेत्रका अगुवाहरुले मुलुकको अर्थतन्त्रको मुख्य आधार उद्योगी व्यवसायीहरुमाथि राज्यपक्षबाट न्यायसंगत व्यवहार हुन नसकेको गुनासो गरे । उनीहरुले निजी क्षेत्रलाई अस्तव्यस्त बनाउनुको सट्टा राज्यपक्षले सहकार्यको नीति अवलम्बन गर्न सके मुलुकको विकासमा योगदान पुग्ने पनि सुझाए ।

कार्यक्रममा महासंघको पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठ, केन्द्रीय सदस्य राजेन्द्र राउत, प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष टीकाराज ढकाल, प्रदेश १ का सांसद होम बहादुर थापा, दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, उपप्रमुख रेगिना भट्टराई, दमक उवासंघका पूर्वअध्यक्षहरु घनेन्द्रराज योङ्या र प्रकाश प्रसाई, निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल, उद्योगी व्यवसायीका तर्फबाट गणेश बस्नेत, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साह लगायतले आ–आफ्ना भनाइहरु राखेका थिए । साधारण सभाको अवसर पारेर दमक उवासंघका पूर्वअध्यक्ष विष्णुप्रसाद श्रेष्ठसहित उत्कृष्ट व्यवसायी, पत्रकार र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

संघले शुक्रबार आयोजना गरेको साधारण सभामा उत्कृष्ट व्यवसायीका रुपमा दमक–३ निवासी लक्ष्मी ट्रेडर्सका प्रोप्राइटर मिश्रीलाल साह र पाथीभरा स्टोरकी प्रोप्राइटर तिर्थकुमारी ताम्राकारलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो । त्यसैगरी संघले वर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारिता पुरस्कार यस वर्ष दमकमा क्रियाशील पत्रकार नगेन्द्रमणी न्यौपानेलाई प्रदान गरिएको छ । नगद ११ हजार ५११ राशीसहितको सो पुरस्कारसंगै पत्रकार न्यौपानेलाई सम्मान पत्र पनि प्रदान गरिएको छ । त्यसैगरी संघको कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी मञ्जु चौधरीलाई उत्कृृष्ट कर्मचारीका रुपमा नगद सहित पुरस्कृत गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल र दमक उद्योगा वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेका थिए । संघको विधान अनुसार गत आर्थिक वर्षमा संघको आजीवन सदस्यता प्राप्त गर्ने व्यवसायीहरु बद्रीप्रसाद दाहाल र रमेश लुइँटेललाई आजीवन सदस्यताको प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो । सभामा संघको तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष गोकुल श्रेष्ठले २०७६ मा आफूहरुले संघको नेतृत्व सम्हाले यता विश्वनै कोरोना महामारीको चपेटमा परेका स्मरण गरे । उनले विषम परिस्थितीका बाबजुद आफूहरुले व्यवसायीहरुमाझ गरेको प्रतिबद्धता अनुसार काम गरेको बताए । सो अवसरमा साधारण सभा तयारी समिति संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल) ले स्वागत गर्दै चुनावी साधारण सभा समेत भएकाले आफू आजको बन्द सत्रपछि संघको चुनावी गतिबिधिमा क्रियाशील हुने संकेत गर्नु भयो । कार्यक्रमको संचालन दमक उवासंघका प्रथम उपाध्यक्ष राजु खड्काले गरेका थिए ।

Author

You may also like