ए वादहरु !
कहाँ छौ हिजोआज ?
कहाँ पुग्यौ ?
कहाँ हरायौ ?
किन मौन छौ ?
जनता दोधारमा छन
अल्मल्लिएका छन
छटपटाएका छन
सडक जाम छ
माइतीघर मण्डलामा मेला छ
लाल फेटाहरुको भीड छ
भोका नाङ्गाहरु याचना गरिरहेछन
शान्ति खोजिरहेछन
तिमी अशान्तिको बीज रोप्दैछौ किन ?
देशमा अनिष्ट आउँदा
तिमीलाई शान्ति हुन्छ ?
यो किन सोच्दैनौ ?
जनतालाई भिडाउदैछौ
जुदाउँदैछौ
तिमी किन नाटक गरिरहन्छौ ?
हिजोदेखि आजसम्म मिलिभगतमा
सिण्डिकेटमा देश चलायौ
अर्थतन्त्र डामाडोल बनायौ
निरीह जनता सुकुम्बासी भए
तिमी कान्तिपुर नगरीको बादशाह भयौ
यतिले नि पुगेन हैन ?
आफैंले आफैंलाई
स्वमूल्यांकन गरेनौ हैन ?
भोलि गाउँ पस्ने दिन आउँदैछ
कि त्योपनि थाहा छैन ?
हिजोआज पार्टी फेरिए
चुनाव चिन्ह अदलबदल भए
स्वर एकत्रित हुन सकेनन
वादहरु बाझाबाझ गर्दैछन
तिमी भौतिक सुखमा छौ
अहिले वादले मातिएका छौ
स्वर्गको सपना देखिरहेछौ
देशलाई गृहयुद्धमा धकेलिरहेछौ
हिजोको भाद्र २३ र २४ बिर्सियौ हैन ?
के भयो ?
के भएन ?
थाहै छ नि हैन ?
रातो र तातो गोली खाने सहिद
आज बेघरवार छ
ध्वजा र पोष्टरमा रुमल्लिएका वादहरु
यत्र – तत्र – सर्वत्र छरिएका छन
योपनि थाहा छ कि छैन ?
एकपल्ट सोच मनन गर त
हिजो कुन दुलोमा थियौ ?
आज कहाँ छौ ?
भोलि कहाँ हुनेछौ ?
बिचरण गर
दिनगन्ती शुरु भा छ
वादहरुलाइ अब नअल्मल्याउ ………….???
देशको अवस्था हेर्दा लाग्छ कि यो देशमा अनिष्टका सङकेतहरु देखिदै गएका छन । बिगतदेखि बर्तमान सम्मको राजनीतिक अवस्था हेर्दा हामीलाई लाग्छ अबको राजनीतिक रुपान्तरण कसरी होला ? र कहाँ गएर टुङ्गिएला ? सबै यस्तै अन्यौलै अन्यौलमा सङकटग्रस्त छ, देश । हिजो हामीले एक विद्वान, विद्दत मानेका हाम्रा नेताहरू हिजोआज अवसरवादको खेती गरिरहेका छन , हिजोका दिनमा स – शस्त्र द्वन्दका बखत युद्ध लडेकाहरु आज पार्टी छोडेर अर्कै पार्टीभित्र प्रवेश गरिरहेका छन । रविन्द्र मिश्र, डाक्टर बाबुराम भट्टराई लगायतका हिजोका एक आशालाग्दा ब्यक्तिहरु आज उनीहरूकै कारणले जनताका मनमुटुमा अटाउन सकेनन । आशा लाग्दा कोहि देखिएनन, देखिएका केही कुनै न कुनै मुद्दामा फसेका छन । देश अनिष्टको भुवरीमा फसिरहदा सम्म त्यसलाई अवतरण गर्ने कोहि देखिएनन । भ्रष्टाचार, अनियमितता, लोभी पापी, अवसरवाद सेटिङ्गमै देश चलाउनेहरु झुण्ड तयार गर्ने स्वयं शीर्ष नेताहरूनै अग्रपङतिमा देखिएका छन । पटकपटक भएका निर्वाचनमा जनताहरुको न्यून उपस्थितिले पनि जनताहरुको चुनावमा उल्लेख्य उपस्थिति नरहेको देखिँदासम्म के आकलन गर्न सकिन्छ भने कि जनताहरु नेताप्रति सकारात्मक छैनन । आफ्नै पार्टीका कार्यकर्ताहरु समेत बेखुसी छन, नेताहरुदेखि । उनीहरूको हिजोको अवस्था र आजको नेपाली राजनीतिमा देखिएको उनीहरूको विरासत आकाश पातालको फरक पाउन सक्छौ, हामी । उनीहरूले प्रयोग गरेका गाडी, घर बङ्गला, ऐश आराम हेर्नुहोस तपाईं हामी छक्क पर्छौ, त्यो देखे बुझेकै कुरा हो । यतिसम्म जान्दा बुझ्दासम्म हामी उनीहरूकै भजन गाउँछौ । फटाहा, दलालको नाइके पार्टीभित्र नेता हुँदापनि हाम्रा राम्रा छन भन्ने अल्पदृष्टि अहिलेपनि बिधमान छ ।
यहाँ कुनै राजनीतिक दल पानीमाथिको ओभानो नभए हुन्छ कि सक्कली को हो नक्कली को हो ? नेपाली जनतालाई अब चाहिँ वाक्क दिक्क हुन थालेको कुराको मजबुन शीर्ष नेताहरूले लेखेको स्ट्याटसमा नकारात्मक टिप्पणी गरेबाटै थाहा हुन्छ कि अब गोप्य जनमत कहाँ कता जाने हो त्यो भने अब हेर्न केही महिनामात्रै बाकी छ । हेर्न त यो लेखकीय पुस्ताले हिजोदेखि आजसम्म तीतो यथार्थ भोग्न बाँकी त केही रहेन तापनि अहिलेको युवा पुस्ता जेन – जी समूह, जेन – जेड जागरण समूहले शुद्ध नेपाली राजनीतिको पुरानो बिरासतले हिजोदेखि आजसम्म गरेको गल्तीहरुको मूल्यांकन गरिसकेका छन यसलाई कसैले लुकाएर, छिपाएर, गोलमटोल नगरे हुन्छ अब । हिजो दलीय सिण्डिकेटमा मिलिभगत देश दोहन गरेर अनेकन काण्ड मच्चाएको पुरानो विरासत जनजनमा ज्ञातै छ । अन्याय, अत्याचार, लुटतन्त्र, खिचातानी दिनप्रतिदिन बढिरहेको बेला आज सबै दलहरुको राता, पहेँलो, हरिया झण्डा र पताका फर्फाइरहेको देखिन्छ आन । गत भाद्र २५ गते यता सबै दलहरु मौन थिए, कुन कुनामा पसेर भजन कीर्तन गाउँदै थिए । हिजोका झुठो आश्वासन जाल, झेल, षड्यन्त्र सबै चकनाचुर भए अब भन्ने सोचे हुन्छ, ठुलादलहरुले । आफूले गरेको हिजोको गल्ती जसरी भएपनि सच्च्याउनु पर्छ भन्ने नसोचे हुन्छ किनकि यो देशमा अबको नयाँ राजनीतिक मोड युवाहरूको हातमा आएको छ । त्यो सिनारियो झापा क्षेत्र नम्बर –०५ को दमकको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको युवाहरुको बृहत आब्ह्वानमा भएको मोर्चाबन्दी र कमल गाउँपालिकाको वार्ड नम्बर – ०५ मा अवस्थित नेपाल आदिवासी जनजातिहरुको रङ्गशालामा भएको बृहत कार्यक्रमबाटै सम्पूर्ण नेपालीहरुले अबको बाटो के हो त ? भन्ने कुराको ज्ञात भएको छ , जनजनमा । अर्को कुरा हिजोका दिनमा माइतीघर मण्डला वरिपरि र सहिद गेट वरिपरिको आन्दोलनमा तिनै जेन – जी र जेन – जेडकै युवाहरू एमाले, नेपाली काङ्ग्रेस, माओवादी पार्टीमा आवद्ध युवाहरूनै हुन । उनीहरूको मन किन पगाल्न सकेनन्, ठुला दलहरुले । आज किन बिद्रोह गर्दैछन, जेन – जि हरुले ? अब बेफ्वाकमा महान नेपाली जनताका छोराछोरीहरुलाई ललिपप नखुवाउ, सस्तो लोकोप्रीयताका लागि वादका पछि नदगुराउ । लुटतन्त्रको बाटो अब समाप्त हुँदैछ । हेक्का राखेर अघि बढ । अहिलेका जनता ढुङ्गे युगका होइनन ।