२०३५ सालदेखि अक्षरको कारखानामा निरन्तर घोत्लिएर अकल्पनीय दृष्टि पस्किरहको सुपरिचित नाम हो इन्द्र कुमार श्रेष्ठ सरित् । नेपाली समाजको कलेवरलाई सधैं सुक्ष्म तरिकाले हेर्ने सरित समाजका हरेक आयामहरुसंग साक्षतकार गरिरहन्छन् । हरेक समयसंग अन्तरक्रिया गरिरहन्छन् । हरेक समयसंग संवाद गरिरहन्छन् । हरेक समयसंग एउटा तराजु बोकेर हिंडछन् र त्यस समयको आयतन बताइदिन्छन् । हरेक समयसंग सुक्ष्म दृष्टि राख्छन् र त्यसलाई चिरफार गर्छन् । अनि त्यही समयसंग कुस्ती खेल्छन्, अनि त्यो कुरुप समयलाई यसरी पछार्छन् कि त्यो समयले धूलो टक्टक्याएर उठने मौका पाउँदैन । यसरी समयरेखामा हरपल कुदिरहने स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् नेपाली साहित्यमा कछुवाको गतिमा दौडने श्रष्टा हुन् । ४६ बर्षदेखि कुदिरहेका छन्, अनि जितिरहेका छन् त्यो दौडको यात्रामा ।
बहुआयाममा सर्जिना उमार्ने हुटहुटी राख्ने सरित्ले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन् । गीत, गजल, कविता, बालसाहित्य, उपन्यास, कथा, लघुकथा, समीक्षामा कलम चलाएर साहित्यिक पत्रकारीता, सम्पादन तथा लेखनमा उज्यालोको प्रतीक्षा गरेर कलम चलाउने सरित्को पछिल्लो कृति एक मुठी घाम (लघुकथासङ्ग्रह, २०८१) हो । यस अघि उनले दुईवटा कवितासङ्रग्रह (पूर्व क्षितिज २०४६, समर हाँक्ने समय २०७४ ), छ वटा कथासङ्ग्रह (दिदीको देवर २०५०, जस्केलाबाट चिहाउने सूर्य २०५६, एकजोर पूmलघोडा २०५६, सरित्का प्रतिनिधि कथाहरु २०७४, ऋतु फेरिंदै जान्छ २०७४ र डूाइभर दिदी २०७४), एउटा उपन्यास (अर्धसत्य २०६२), चारवटा बालसाहित्य समेत प्रकाशित छन् ।
सरितको पछिल्लो कृति एक मुठी घाम (लघुकथासङ्ग्रह २०८१) यस्तै हाम्रो यो समयको रङ्ग हो जो जति पोते पनि सकहिल्यै सकिँदैन । समय र सत्यको अनन्ततासंगै अर्थको अनन्तता पनि जीवन्त त रहने नै भयो । यही अनन्ततामा पिङ्ग खेलेको यो समय र संदर्भलाई सुनौला अक्षरहरुले च्याप्प समातेर राखेका छन् सरित्ले यस कृतिमा । अनि पाता फर्काएको यो समयका कुरुप आयामहरुलाई । ठिँगुरोमा हालेका छन् यो समयका असत्य वचनहरुलाई । पुत्ला दहन गरेका छन् भ्रष्ट जीजीविषाहरुलाई ।
सरितका ४१ वटा लघुकथाहरु समावेश भएको एक मुठी घाम (२०८१) आपैmमा प्रतीकात्मक छ । घाम उज्यालोको प्रतीक पनि हो, घाम लोककल्याण र संबृद्धिको अलंकार पनि हो । त्यो एक मुठी मात्रै छ, पूर्ण छैन । दुईमुठी हुन सकेको छैन । समाज अनेक प्रकारका राजनीतिक बिकृत मनहरुले पोतिएको छ र त्यो डङडङती गन्हाएको छ । रछ्यान भएको छ । यो साफ गर्नु जरुरी छ । उनी साफ गर्न सरफ लिएर निस्किएका छन् यस कृतिमा । सरित्ले ४१ वटा सरफले दलिरहेछन् यो समयको फोहोरलाई । अनि हामी रहेरिरहेका छौं अक्षरहरुमा । गधा धोएर गाई हुन्छ कि हुन्न, सरितलाई पनि थाहा छैन, न त हामीलाई नै थाहा छ । तर धुने कर्म जारी छ अक्षरहरुमार्पmत् । सरित्का ४१ वटा लघुकथाहरुमा पाइने आम भाव यही हो ।
उनको पहिलो कथा राजनीति मा नेताको मतिभ्रष्टता छ, नारीमाथिको कुदृष्टि छ अनि खुराफाती व्यवहारलाई राजनीतिको नाम दिएर राजनीति शब्दलाई कलंकीत बनाउनेप्रति मुङ्ग्रो उजाएका छन् सरितले । अर्को कथा पूव्र्याभास मा सच्चा देशभक्त कोही छैनन् । नेताजी मा नेताको नारीमाथिको कुदृष्टि छ । काकाकुलको तिर्खा मा ‘मेलम्ची मिथक’ माथि प्रहार छ । मूलघरको मूलढोका मा पार्टी फुटाएर राजनीतिको ‘पाँगो खेती’ गर्नेहरुलाई ढाडमा हानेका छन् सरितले । फेरिन्छन् मुहारहरु मा मन्त्री भएपछि आप्mनो इतिहास, आप्mना अतितका साथीहरु, कार्यकर्ताहरु भुल्ने पाखन्डीहरुमाथि बञ्चरो प्रहार छ । आप्mनै सांसदले बिर्षेको बिर्खबहादुरको गरिवी र तिरस्कारको कथा छ बिर्खबहादुर मा ।
त्यसै गरी एक मुठी घाम मा नारी चेतनाको महत्व देखाएर भाग्यवादलाई नकारिएको छ । घाम आपैंmमा एउटा बिम्ब हो र त्यो कम्युनिष्ट पार्टीको चुनाव चिन्ह पनि हो । सक्कली नक्कली मा केन्द्रीय नेतालाई पाता फर्काइएको छ, जसले ‘पार्टीले कसलाई मात्र हेरेर साध्य हुन्छ ?’ भनेर बाट पन्छिने प्रयास गरिरहेछ । सम्झौता मा कर्मचारी जगतका कुरुप आयामलाई पस्किइएको छ । देश खोज्दै मा ‘देश रहे मात्र पार्टी रहन्छ’ भन्ने सच्चा देशभक्तको सुझावलाई नजरअन्दाज गर्ने स्वाँठ नेताको पुत्ला दहन गरिएको छ । दशैं त मा ‘भोका, निमुखाहरुका लागि लडेको (सहिद ?) बाउको सानो छोरो मतिराम’ को अनिश्चित भविष्य कोर्ने राज्यसञ्चालकहरुलाई झापट हानिएको छ । नागरिक सर्बोच्चता कायम गर्न उत्साहित आव्हान छ सर्बोच्चता मा । माओवादीले बिगतमा एउटा यस्तै शीर्षकको असफल आन्दोलन पनि गरेको थियो । साहस मा ‘तिरस्कृत व्यक्तिहरुले देश हाँकेको’ गुनासो छ । धर्ममा पनि राजनीति छ । राजनीतिका उटपट्याङ्गले सीमा नाघेको छ ।
नानू, अब त मान्देउ मा राजनीतिका पात्रहरुलाई बच्चाको बिम्बमा उतारेर ‘जसरी पनि मन्त्री बन्छु’ भन्ने बालहठले चलेको यो समयको राजनीतिक आयाम छ । भोलिको दिन मा उज्यालोको खोजिमा निस्किएका क्रान्तिकारीहरुको सपना छ । नाच्ने बूढा मा दश बर्ष लडेको एउटा समर्पित कार्यकर्ताको सङ्कल्प छ । त्याग छ । नयाँ मोडमा उभिएर मा जनयुद्धमा लडेकाहरुको पीडा छ, खासगरी महिलाहरुको अभैm धेरै पीडा छ । विचारमा निष्ठावान मा पार्टीमा लागेर अकुत कमाउनेहरु पनि विचारमा निष्ठावान भएको दाबी गरिरहेका छन् । छ्या !
त्यो सन्देश मा एउटा क्रान्तिकारीले सुरक्षा गरेर बचाएको एउटा दस्तावेज छ, त्यो भनेको आस्था हो । भरोसा हो । आदर्श हो । निष्ठा हो । बचाएका छन् त अहिलेका नेतृत्वगणले ? नदीको विशाल छातीमा मा एउटा जनयुद्ध लडेको लडाकुको संघर्ष छ, जसले नदीपार गरेर जीवन जोगाउनु छ । त्यो नदी एउटा बिम्ब हो संघर्षको । बैचारिक दृढता र कमरेड दमयन्ती दुवै कथामा कम्युनिष्ट पार्टीमा काम गर्ने ‘क्याडर’ हरुको सपना र भ्रम छ । घामको स्वागत मा दलको एउटा भातृसंस्थाले गरेको कामको स्वागत छ । म के गरुँ ? मा जागीर खान नपाएकी एउटी नारी पात्रको द्विविधाको कथा छ । घाइते श्रीमती मा आप्mनै कार्यकर्ता बिर्षिन उद्दत मन्त्रीको कथा छ । चतुरमान चौधरी मा गणतन्त्रवादी पार्टीमा लागेको एउटा गरिव मान्छे सात तले सपिङ्गमल बनाउने ल्याकत राख्छ । गणतन्त्रको यो भन्दा कुरुप चित्र के होला ?
हात्तीको खाने र देखाउने दाँत मा सदन, सडक र पार्टीमा फरक फरक अभिव्यञ्जना पस्किएर दुनियाँलाई मूर्ख बनाइरहेका छन् । कर्तुत मा समाजकल्याण मन्त्रीले ‘धानखेत मासेर भ्यू टावर बनाउने’ बिकासवादी नीतिको पाता कसेका छन् । असहमति मा ‘माक्र्सवादीय सौन्दर्यशास्त्र’ बाट अभिप्रेरित प्राज्ञले साहित्य प्रतिष्ठानको नियुक्ति लिँदैनन् । साहित्यमा राजनीति हावी छ । कलमको आवाज मा देशलाई आवश्यक पर्दा कलमबीर लेखकहरुको भूमिक अहं हुन्छ भन्ने छ । राजनीतिमा लागेकाहरुको गैहृजिम्ेवारीपन नोकरी कथामा छ । प्रतिकार ‘समितिकको सदस्यलाई’ कला प्रतिष्ठानको सदस्य बनाइएको छ नियुक्ति कथामा । हिजोआज मा विगत र वर्तमानको कम्युनिष्टहरुको राजनीतिक बिरोधाभाषलाई झापट हानिएको छ । चड्कन मा आपूm माक्र्सवादी महल ठड्याउनेहरुलाई व्यंग्य गरिएको छ । विनापारिश्रमिक डविङ्ग र रेकर्डिङ्ग गर्ने अग्रगामी सोच राख्नेको कथा छ इमान्दारिता मा । व्यावहारिक, इमान्दार मन्त्रीज्यू, गणतन्त्र आएर नै कथाहरुमा राजनैतिक चेतना र व्यंग्य छ ।
समग्रमा सरित्का लघुकथाहरु यो समाजका बाछिटाहरु हुन् । या् समयका बाछिटाहरु हुन् । र हाम्रा प्रवृत्तिहरुका जीवन्त चित्र हुन् । र सबैभन्दा महत्वपूर्ण त उज्यालोको प्रतीक्षा छन् उनका कथा ।
सरितका कथाहरुमा कथाका तत्वका हिसाबले अब्बल छन् । भाषा बोधगम्य छ । शैली कतै बिम्ब छ त कतै अलंकार । धेरै व्यंग्य छ, अनि ‘डूामेटिक आइरोनी’ छ । विषयको विभिधता हुन पाएको भए झनै सुनमा सुगन्ध हुने थियो ।
सरितलाई हार्दिक बधाई तथा शुभकामना छ ।