अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र ‘उपहार’ । संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ । कुनै न कुनै उपाय अनिवार्य छ । सहरमा रहर छन्, महल छन् । सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन् । तर, माया गाढा छ ।
रेखा थापा बसेको अपार्टमेन्ट आइपुग्छन्, वेनिशा हमाल र पूजा शर्मा । अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक गल्तीमा साथ दिन्छिन् । पूजा छविलाई पैसा थुत्ने मनसायमा हुन्छिन् । छवि ‘प्ले ब्वाई’ कथामा छन् । छवि जति पनि खर्च गर्न तयार । यो समाज यस्तै छ, यौन जीवन आफूले गर्दा ठिक अरूले गर्दा बेठिक, औंला तेर्सिन्छ । चलचित्रमा आर्थिक रुपमा गरिबीको समस्याबाट हुर्किएकी पूजाले आफ्नो बाध्यता रहेको र कसैसँग हिँड्दैमा, मस्किँदैमा ज्यान नसुम्पिएको दर्शाएकी छिन् । भन्नुको मतलव पुरुषहरू अर्काको कमजोरी र गरिबीमा खेल्न चाहन्छन् ।
अपार्टमेन्टमा रेखा, वेनिशा, पूजालगायत बस्छन्, त्यहाँ बिलासिताको मस्ती देखाइएको छ । मस्तीपछिको तनावहरू पनि उत्तिकै । हरदम रेखाले त्यहाँ आउने समस्यालाई आफ्नै समस्या ठानेर बहिनीहरूलाई संरक्षण गर्छिन्, सिकाउँछिन् । माया गर्छिन् । मुना पात्रकी रेखाले लक्ष्मीप्रसाद देवकोटाको कविताको भन्दा अझ यथार्थपरक भूमिका निर्वाह गरेकी छिन् भन्दा फरक पर्दैन । यसमा निर्देशक ज्ञानेन्द्र देउजाले फरकपन दिएका छन् । मदन ल्हासाबाट फर्किँदा मुना मरिसकेकी हुन्छिन्, तर त्यहाँ मदन अपाङ्ग भएर फर्किँदा मुनाले हेरविचार गर्दा मरेको कथा देखाइको छ । यो चलचित्र टिमको खुबी हो, कथा आफैं बनाउने हो । नत्र मुना–मदनको कथा चोरीको आरोप लाग्न सक्थ्यो ।
काठमाडौंमा बाटो–बाटोमा चिया बेच्दै गरेकी रेखासँग मदनको भेट हुन्छ, मदन अर्थात् मुकन । चिया खाँदै गरेका मुकुनको विस्तारै–विस्तारै रेखासँग चियारंग भन्दा गाढा माया हुन्छ । ट्याक्सी चालक मदनले रेखालाई चिया हाउस खोल्न सुझाव दिन्छन् । त्यो सपना पूरा गर्न विदेश जाने, कमाउने सपना देखाउँछन् मदनले । चियाभन्दा गाढा माया छ भन्दै गर्दा गुण्डाहरूको उपस्थिति रहन्छ । उनीहरू भन्छन्, चिया पसल नि हामी समाल्छौं, तिम्रो मुना पनि । त्यहाँ झगडा हुन्छ । रेखा छ महिनाकी गर्भवती हुँदा पनि उनको एक्सन फाइट हेर्न लायकको छ । चलचित्र उपहार दिएकी रेखाको जोखिमलाई जति तारिफ गरे पनि साध्य छैन । त्यहाँ मदनको गाडी जलाइन्छ, गुण्डाहरूबाट । मदन रुन्छन् – मैले किस्तामा निकालेको गाडी, कसरी अब किस्ता तिर्ने ? रेखा भन्छिन् – हारेको छैनौं, मरेको छैनौं । म छु नि ।
मदन विदेश जान्छन्, रेखाले लक्ष्मण रेखा तोड्दिनन् । पूजा, बेनिशाको मोजमस्ती लफडा त छँदैछ । सडकमा चिया पसल खोलेकी मुना (रेखा) भव्य महलमा चिया पसल खोल्छिन् । व्यापार पनि राम्रो चल्छ । अरूको लफडा समस्या मिलाँउदै चलचित्र चलिरहकै हुन्छ । मुकुन अर्थात् मदन रेखाको श्रीमान् सात वर्षपछि नेपाल फर्किने कुरा आउँछ । लामो समयपछि आफ्नो श्रीमान् विदेशबाट फर्किँदा कसलाई खुसी मिल्दैन र ? एयरपोर्टमा श्रीमानको प्रतिक्षामा रहेकी रेखा छाँगाबाट खस्छिन् । जब मदन अपाङ्गता भएर स्वदेश फर्किन्छन् । उनको उपचारको लागि हरसम्म प्रयास गर्छिन्, बिहे त भएको छैन किड्नी प्रत्यारोपणकाकालागि आधिकारिताको लागि बिहे पनि गर्छिन् ।
रेखाको माया छ साकार भयो । तर कालो बादल छाँउछ, उनको भव्य चिया पसलमा । जब महानगरको डोजर चल्छ । रेखाले थ्री इडियट फिल्ममा अमिर खानले साथीलाई बचाए शैलीमा बचाएकी हुन्छिन् मदनलाई । निको हुँदै गर्दा बिहे गर्ने तयारी हुन्छ मुना–मदनको । पोसाक पनि तयार, रेखा मुकुन पनि तयार । चिया पसल देखेर मख्ख परेका मुकुनलाई के थाहा, रेखाले ऋणपान आफूले चढेको स्कुटी बेचेर कर्मचारीलाई तलब दिन हम्मे परेर आफ्नो उपचार गरेको । विहेकै दिन मुनाको चिया पसलमा महानगरको डोजर चल्छ । घर धनीले नक्सा पास नगरी नियम मिचेर जग्गा हडपेर महल बनाएको भनेर । रेखा प्रतिकारमा उत्रिन्छिन्, तर उनको बल खेर जान्छ । त्यो अस्पष्ट पीडा देखेर उनी आत्महत्या गर्छन् । बिहेको लागि , आफ्नो ज्यान–मुटु दिन तयार रेखाले शौचालयमा मदनलाई मृत देख्दा पागल हुन्छिन् । मदनको मृत्यु चिया पसलको बोझ, ऋणले बौलाएकी रेखालाई पुराना दिनमा फर्कन निक्कै सकस छ । चिया पसलसँगै रेखाको मन पनि भत्किन्छ, लयमा फर्किएकी छैनन् उनी ।
वेनिशा वकिल हुन्, पूजाको चलचित्र क्यारेक्टरमाथि नै उल्लेख छ । छविले मोजमस्तीका नाममा तथानाम हवी बनाएका, अपार्टमेन्ट मोजमस्ती र हर्कतले निकालिएका पूजा –वेनिशा अन्तिममा रेखाकै आडभरोसा बन्छन् । छविले मोजमस्तीको नाममा उडाएर श्रीमतीलाई डुबाउन्। त्यो चियापसल घर संयोगवश छविकै श्रीमतीको नाममा आउँछ । छविको हर्कत थाहा पाएकी उनले रेखाको लागि सार्थकता देखाउँछिन् । श्रीमानको वियोगमा डुबेकी रेखालाई दिदीले देखाएको माया, सम्मान, संरक्षण सम्झिएर जिउने हौसला दिन्छिन् । छविको कृष्ण चरित्रबाट आजित श्रीमतीले त्यो घर सम्पत्ति रेखाकै नाममा पास गर्दिन्छिन् ।
वास्तविकतामा साँच्चै सडकबाट सदनसम्मको आवाज बोलेको छ उपहारले । स्वदेशमै केही गर्न सकिने हौसला बोकेको छ । साँच्चै अनेकन बाधा, समस्या, उल्झन हुँदा पनि दिदी–बहिनीको माया केहो देखाएको छ । चलचित्रको बजारमा सफलताको खडेरी परिरहेको अवस्थामा तुलनात्मक रुपमा ‘उपहार’ राम्रो चलचित्र बनेको दर्शकलाई आभास हुन्छ । व्यावसायिक चलचित्रहरूमा लामो समयसम्म टिकिरहन सफल अभिनेत्री रेखाको यो चलचित्र झण्डै कमेडीशैलीमा निर्माण गरिएको हलमा पुगेपछि दर्शकले पत्तो पाउँछन् । चलचित्र फागनु २५ बाट प्रदर्शनमा आएको छ ।
चलचित्रमा अञ्जु पन्त, एलिना चौहान, समीक्षा अधिकारीजस्ता नाम चलेका कलाकारले मीठो स्वर दिएका छन् । अर्जुन पोखरेल र बाबुल गिरीले मीठो धुन भरेका छन् । चलचित्रमा ‘वा वा वा’, ‘कहिले बार बिर्सन्छु’ जस्ता गीतले चलचित्रलाई जीवन्त बनाउन सहयोग गरेको छ । कविराज गहतराजको कोरियोग्राफीमा खोट लगाउने ठाउँ छैन । मित्रदेव गुरुङको चलचित्रको सम्पादन कला औसत छ । चलचित्रमा विष्णु घिमिरे कल्पितको सिनेमेट्रोग्राफी राम्रो छ ।