ग्लोबल वार्मिङको कारणले सिर्जित समस्याहरु एवं चुनौतीहरुको सामना गर्ने देश नेपाल विश्वको एक्लो भने देश होइन । जलवायु परिवर्तन र वातावरणीय संकट विश्वका साझा जल्दोवल्दो समस्याको रुपमा मानव जातिले भोग्नु पर्ने अवस्था टडकारो रुपमा देख्न सकिन्छ । गाउँ देखि शहर सम्म, नदी देखि महासागर सम्म तथा धर्ती देखि आकाश पर्यन्त सम्म फैलिएर रहेको समस्त भूमण्डलमा जलवायु संकटको पीडाले ठूलो डर, त्रास र भयावह परिस्थितिहरु सिर्जना हुन थालेको छ । जलवायु संकटको विभिषिकामा बाँचि रहने विवशता भोग्दै, को धनी र को गरीब देश सबैको अगाडि साझा समस्या जल्दा बल्दा सवालहरु प्रमुख मुद्दा बन्न थालेको छ । वातावरण जोगाउने र मानव जातिको अस्तित्व संरक्षण गर्दै ‘ग्रीन वर्ल्ड’को लागि वैश्विक मञ्चहरुमा सबै देशहरु एकजुट भई सहकार्य गर्ने र धर्तीको वातावरणीय अवस्था तथा पारिस्थितिक प्रणालीहरुलाई जसरी भए पनि जीवन्त राख्ने मागहरु उठ्न थालेको छ । जल, जमीन, जंगल, जैविक विविधता र प्रकृतिका बहुमुल्य सम्पदाहरु जोगाउन तथा प्रकृति चक्रलाई नियमित बनाउनका लागि कार्य योजनाहरुमा ठूलो ठूलो सहमति जुटाउने कार्यमा बहसहरु चल्न थालेको छ ।
वातावरणीय प्रदूषणको कारणले धर्तीलाई अन्तरिक्ष तिरबाट आउने हानिकारक ग्यासहरु तथा अल्ट्राभायलेट किरण अर्थात् ग्यासीय पिण्डहरु तथा घामहरुबाट जोगाउन प्रकृतिले आफैं बनाएको धर्ती भन्दा करीब ६ सय किलोमिटर माथि रहेको ओजोनको तह लगातार कमजोर बन्दै त्यसमा प्वालहरु बन्न थालेको छ । यस्ता प्वालहरुबाट छिरेर सूर्यको प्रचण्ड घामबाट धर्ती तातिँदै जाने समस्याहरु निरन्तर रुपमा बढ्दै गै रहेको छ । विकाशको नाउँमा गरिने वन जङगलको अत्याधिक विनाश त औधोगिक प्रदूषणले गर्दा प्राकृतिक श्रोत साधनहरुको जथाभावी प्रयोगले प्रकृति प्रदत्त सुन्दरता र भव्यताहरु खुम्चिन थालेको छ । अन्तरिक्ष तिरबाट आई रहने हानिकारक ग्यासहरुको धर्तीतिर निर्वाध रुपमा आगमन हुन थालेको छ । ओजोन तहमा मूसाले पारेको प्वाल झैं दूलोहरु बढ्दै गइरहेको छ , जसले गर्दा धर्तीको वातावरणीय चक्र माथि ठूलो र महाविनाशकारी संकटहरु मंडारीन थालको छ । पृथ्वीको तापक्रम लगातार बढ्दै जांदा जलचर, थलचर र नमचर तथा माटोमुनि रहेको जैवीक विविधताहरु पनि समूल रुपमा विनाश हुन सक्ने परिस्थितिहरु देखा पर्न थालिसकेको छ ।
वैश्विक रुपमा बढ्दो जलवायु संकटलाई हटाउन गठन गरिएको वैश्विक संगठन आई पी सी सी ले धर्तीलाई अनुकुलमा राक्न ग्लोवल वार्मिंङलाई कम गर्न सक्ने उपायहरु पहिल्याउन थालेका छन् । प्राय जसो हरेक वर्ष तापक्रममा वृद्धि भईरहँदा मनसुन चक्र पनि प्रभावित हुन सक्ने खतरा विधमाब छ , अत्याधिक घाम सहन गर्ने न सक्ने अवस्थामा भूमिगत जलश्रोतहरु सुक्दै जाने र बोट विरुवा वनस्पनिका अनेकौँ प्रजातिहरु समाप्त हुँदै जाने समस्याहरु देखिन थालेको छ । धर्तीको तापक्रम यसरी नै बढ्दै गयो भने वन जंगललाई संरक्षण गर्न पनि गाह्रो हुंदै जाने कुरा प्रष्ट रुपमा बुझ्न सकिन्छ । नवीकरणीय हुन सक्ने र छिटो छिटो हुर्कने जंगल तथा कृषि क्षेत्रहरुमा पटक पटक धेरै मात्रामा पानीको आवश्यकता पर्दछ । बोट विरुवाको जराहरुमा अडिएर रहेको पानीको मात्रा सुक्दै गयो भने तराई र पहाड तिरका सबै सदाबहार र समसीतोष्ण वनहरु सखाप पर्न सक्दछ
माटो मूनी रहेको पानीले मटोको उर्वराशक्तिको पनि सुरक्षा गर्दछ । खेतबारीमा लगाइएको अन्नवाली र फलफूलहरुको बिरुवाहरुमा सिँचाई गर्न पटकपटक पानीको अवश्यकता पर्दछ । खेतबारीमा सिँचाई भएन भने अन्न बाली सप्रिँदैन । मटोको उर्वरा शक्ति नष्ट भएर मरुभूमिकरणमा परिणत हुन सक्दछ । गरिब देशका कुपोषण ग्रस्त नागरिकहरु लामो आयु बाँच्न सक्दैन । ग्लोबल वार्मिङले गर्मि हुने ठाउँहरुमा अझ धेरै गर्मि र चिसो हुने ठाउँहरुमा अत्यधिक चिसो हुने अवस्था सृजना हुन सक्दछ । ध्रुवीय प्रदेशहरुको जैविक विविधता तथा भूस्थितिको बनोटमा ठूलो परिवर्तन आउन सक्छ । हिँउ जम्ने ठाउँहरुमा लू लाग्ने र लू लाग्ने तातो ठाउँ हिउँ पर्ने ठाउँको रुपमा विकसित हुन सक्दछ । पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने हिमाली क्षेत्रहरु हिउँ विहिन बन्न सक्दछ । हिमाली र पहाडी क्षेत्रहरुमा बसोबास गर्ने जनताहरुको दैनिकि फेरिन सक्छ । अत्यधिक गर्मीले तराई मधेसका क्षेत्रहरुमा सुख्खा खडेरी, अनिकाल, मरुभुमिकरण, बाढी, पहिरो र भूस्खलन बढ्दै जाने अवस्था सृजना हुन सक्छ । मानिसको जीवनशैलीमा ठूलो उलटफेर र उतार चढाव आउन सक्छ । सीत प्रदेशमा बस्ने मानिस लगायत अन्य जीव जन्तुहरु असह्य गर्मी थेग्न नसकेर बाँच्न गार्हो पर्ना सक्छ । त्यस्तै उष्ण प्रदेशीय जलवायुमा साँस लिने जीवनहरु अत्यधिक चिसोले कठाङग्रिएर मर्न सक्ने अवस्था सृजना हुन सक्छ ।
जलवायु परिवर्तनको बहुआयामिक असर र प्रभावहरु हाम्रै आँखा अगाडि देखा पर्न थालेका छन् । प्रकृतिले लाखौँ वर्षदेखि जोगाएर राखेका विभिन्न प्रजातिका वीउ बिजन, चराचुरूङी, किराफट्याङ्ग्राहरु ग्लोवल वार्मिङ हुँदा मर्न सक्छन् । धर्तीको खाध्यान्न उत्पादन अभ्यासमाथि ठूलो अवरोध सृजना हुन सक्छ। विश्वमा नयाँ नयाँ किसिमको रोगहरु तथा महामारीहरु फैलिन सक्छ । विश्वको ब्रह्माण्डीय चेतना डायनासोर मरेजस्तै समाप्त हुन सक्छ । धर्ती लोक नै चन्द्रमा वा अन्य ग्रह जस्तै जिवन सुन्य बन्न सक्छ । तसर्थ धर्तीको वातावरणलाई जोगाउन हरेक किसिमको प्रयासहरु जारी राख्नु पर्दछ । जलवायु परिवर्तनले समुद्रमा सुनामी आउने, समुद्री आँधिले समुद्रको जलस्तरलाई माथी माथि उचाल्दै ठूलो भूभाग र बस्तिलाई डुबाईदिने र ठूलो जनधनको क्षति गराउन सक्ने अवस्थाहरु सृजना गराउन सक्छन् । आकस्मिक बाढी, अनियमित वर्षा, मरुभूमिकरण, बनविनाश लगायतका समस्याहरुले मानिसको भविष्यका अगाडि ठूलो जटिलताहरु सृजना गर्न सक्छ । धनी देशहरुसँग अकुत सम्पत्ति रहेकोले तथा भौतिक र प्राविधिक रुपमा पनि सक्षम रहकोले केहि हद सम्म वातावरणीय संकटलाई जोगाउन पनि सक्छ । तर पनि अत्यधिक मात्रामा जैविक ईन्धन र एटोमिक ईनर्जी तथा अत्यन्त विकसीत आधुनिकतम औध्योगिकृत बजार व्यवस्थाले गर्दा ति देशहरुलाई पनि वातावरणलाई जोगाउन सकस नै परेको छ । यसले गरिब र विकासोन्मुख देशहरुमाथी वातावरणीय सन्तुलन बनाई राख्न ठूलो दवाव सृजना हुन सक्दछ । गरिब देशहरुले वातावरणीय संकटहरुको क्षतिपुर्ति वापत पाउने रकमहरु अत्यन्त कम रहको हुनाले गरिब देशहरु झन् वातावरणीय विनाश र संकटको अवस्था बेहोर्न बाध्य हुनु परेको छ । नेपाल र भारत जस्ता देशहरुलाई प्राकृतिक विपत्तिहरुवाट ठूलो जनधनको नोक्सानि बेहोर्नु परिरहेको छ । सधै जसो नेपालमा आइरहने बाढी, पहिरो भुकम्प, हावाहुरी भूस्खलन, मरुभूमिकरण महामारी नियन्त्रण लगायतका समस्याहरुलाई समाधान गर्ने हैसियत समेत सरकार संग नरहेकोले दाता राष्ट्रहरुलाई गुहार्नु पर्ने अवस्था विधमान छ । नेपालमा विदेशी दाता राष्ट्रहरुसंग हरेक किसिमको संकट पर्दा विदेशी सहयोग खोज्ने बानी नै परिसकेकोले समस्या झन् झन् गम्भीर र व्यापक हुँदै छ ।
ध्वनि प्रदुषण, वायु प्रदुषण, जल प्रदुषण, भूमि प्रदुषण लगायतका वातावरणीय प्रदुषणहरु लगातार बढ्दो छ । पर्यावरणीय क्षतिपुर्ती वापत धनी देशहरुबाट गरिब देशहरुले पाउनु पर्ने क्षतिपुर्ती रकमलाई बढाएर धनि देशहरुले गरिब देशहरुलाई उकास्नु जरुरी छ । जलवायु परिवर्तनका कारणले हिमताल विष्फोट हुन सक्ने खतरा मडारिँदै छ । हिमालमा सेतो हिँउको सट्टामा कालो ढूङ्गा भएको पहाड देखिन थालेको छ । नेपालको बन जँगललाई हराभरा र संतुलित बनाउनु नेपालकै लागि पनि अत्यन्त आवश्यक छ । बन विनाश भएको ठाउँमा नयाँ विरुवा रोप्नु पर्दछ । पानीका मुहानहरु सफा र फराकिलो बनाउनु पर्दछ । अत्यधिक बाढी, पानी जम्ने ठाउँ र पहिरो जाने ठाउँहरुबाट मानव वस्तीलाई अन्यत्र सार्नु पर्दछ । सिमसार क्षेत्र र हरियो जंगल विनाश गर्ने कार्यलाई दण्डनीय अपराध बनाउनु पर्दछ । बाटो घाटो र सार्वजनिक ठाउँहरुको वरिपरि बोट विरुबाहरु लगाउनु पर्दछ । अबैध वन्य जन्तुको सिकार र जडीबुटिको कारोवार तथा काठ निकासिलाई रोक्नु पर्दछ । नेपालका धार्मिक स्थलहरुमा भएका नदी नालाहरु प्रदुषित बन्दै जाने अवस्थामा युगौँ देखि रहेका प्रचलन तथा अनेकौँ धार्मिक र साँस्कृतिक चलन, मुल्य मान्यता र परम्पराहरु हराउँदै जाने अवस्था सृजना हुन सक्छ । पाश्चात्य संस्कृतिको प्रभाव र पुर्वेली संस्कृतिलाई विचलनलाई रोक्नको लागि नदीहरुमा प्रवाहित हुने जलधारालाई स्वच्छ सफा र पवित्र बनाउनु पर्दछ। खाली ठाउँहरुमा वर, पिपल, धूपी, चन्दन, नीम लगायतका बहुउपयोगी बोट विरुवाहरु रोप्नु पर्दछ । नदी वरिपरि रहेको जग्गाहरुलाई भूमाफियाहरुबाट जोगाउनु पर्छ । धूवाँ, धुलो लगायताका हानीकारक ग्यासहरु उत्पादन हुने ठाउँहरुमा विशेष सतर्कता अपनाउनु पर्दछ नेपालका गाउँ सहर र महानगर समेत फोहोरी मानव वस्तिको रुपमा रुपान्तरण हुँदै गईरहेको परिप्रेक्षमा सरकारले स्वच्छ, सफा र सुन्दर गाउँ वस्ति तथा सहर निर्माण गर्ने कार्यलाई व्यवस्थापन गर्नु जरुरी छ । नागरीक हरुलाई वातावरण संरक्षण प्रति सचेतना जगाउन तथा हौसला बढाउने कार्यमा सरोकारबाल पक्षहरु तम्तयार भएर बस्नु जरुरी छ । वसुधैव कुटुम्बकम को ध्येय र लक्ष्यलाई हासिल गर्ने धर्तिमातालाई नै जोगाउन सक्नु पर्दछ । कण कणमा भगवानको अंश र हरेक जिवात्माको ह्रदयमा ईश्वरको वास छ भन्ने कुरालाई मनन गरेर सबैले बातावरण जोगाउने तथा जनजागरण फैल्याउने कार्यमा दत्त चित्त भएर लाग्नु जरुरी छ ।