विमल लामिछाने /
दमक / माघे संक्रान्ति नजिकिएसँगै तराइका बजारहरुमा तरुलको ब्यापार बढेको छ । पूर्वीका पहाडी जिल्लामा उत्पादन भएको तरुलले तराईका बजार धान्दै आएको ब्यापारीहरु बताउँछन् ।
झापाका विभिन्न कृषि बजारहरुमा एकसाता अघिदेखिनै तरुलको बजार फष्टाएको छ । संक्रान्ति नजिकिएसँगै दमकको तरकारी तथा फलफूल बजारमा पनि तरुलको ब्यापार बढेको छ । विभिन्न थरीका तरुल अहिले बजारमा बिक्री वितरण भइरहेको छ । पूर्वी पहाडी जिल्लाबाट दमक आएका तरुलसँगै बजारमा सखरखण्ड, स्कुसको जरा, पिँडालु बेच्न ब्यापारीहरुलाई भ्याईनभ्याई छ । बिक्रेताका अनुसार घर तरुल सस्तो र सुलभ भएकाले पनि यसप्रति उपभोक्ताको आकर्षण बढेको छ । निम्न आयस्तर तथा मध्यमवर्गका उपभोक्ताले घर तरुल बढी किन्ने गरेको थोक ब्यापारी चन्दन शाहले बताए ।
पूर्वी पहाडी जिल्लाहरु इलाम पाँचथर, धनकुटा र भाजपुरलगायतका स्थानबाट वनमा पाइने वन तरुल खरिद गरेर झापा, सुनसरी र मोरङका बजारहरुमा विक्रि भइरहेको उनको भनाइ छ । नितान्त अर्गानिक मात्र नभई सुलभ रुपमा बजारमा नपाइने हुँदा वन तरुलको बजार भाउ आकासिएको छ । वन तरुल खोज्ने, खन्ने, संकलन गर्ने कार्य निकै कठिन हुन्छ, पहाडबाट ढुवानी गर्नुपर्ने भएकाले दाम बढी हुन पुगेको तरुल ब्यापारी अर्जुन राईले बताए ।
गाउँबाट तरुल संकलन गर्ने संकलक, विविध थरिका बिचौलिया हुँदै बजारमा बिक्रेता कहाँ आइपुग्दा होलसेल भाउमा पनि वन तरुलको भाउ बढेको ब्यापारीहरु बताउँछन् ।
ब्यापारी सर्मिला कोईरालाले बजारमा यो वर्ष अघिल्लो वर्षको तुलनामा तरुलको माग बढी भएको बताइन् । अघिल्लो वर्ष कोरोनाको महामारीका कारण तरुलले बजार नपाएको उनको भनाइ छ ।यो पटक पनि सबै ब्यापारीको उत्साहजनक ब्यापार भएको छैन उनी भन्छिन् । खुद्रा ब्यापारीहरुले आफूखुशी मुल्यमा विक्रि गर्ने गरेको भएपनि सरदर बजार दाम सखरखण्ड प्रतिकेजी ८० रुपैयाँ, स्कुसको जरा १ सय ८० रुपैया, घर तरुल १ सय रुपैया, सिमल तरुल ८० रुपैया र पिडालु ८० रुपैयाले बिक्रि भइरहेको उनले बताइन् ।
हरेक वर्ष पुस महिनामा सबैभन्दा बढि तरुल विक्री हुने गर्दछ । माघे संक्रान्तिलाई तरुलको संक्रान्तिको रुपमा लिने भएकाले यस समयमा तरुलको विक्री अत्याधिक हुने गरेको हो । माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुन पर्ने हो तर यो बर्ष अत्याधिक बिक्रि भएन दमक तरकारी तथा फलफूल बजारका ब्यापारी पवित्रा भट्टराई बताउँछिन ।
यता तरुल किन्न आएकी उपभोक्ता लक्ष्मी न्यौपानेले भने बजार महंगो भएको बताईन । उनले अघिल्लो बर्ष भन्दा बजार महंगो भएको गुनासो गरीन । बजारमा महंगो भएको महसुस भयो उनी भन्छिन् ।
माटो मुनि फलेका बालीको रुपमा तरुल, सखरखण्ड, पिडालुका साथै चाकु, तिलको लयु पनि खाने प्रचलन छ महंगो भए पनि किन्नै पर्यो नी उनले भनिन् । त्यस्तै अर्का उपभोक्ता दिपक गिरीले पनि तरुलहरु महंगो भएको गुनासो गरे । उनले भने खै मलाई त अघिल्लो बर्ष भन्दा तरुल महंगो भए जस्तो लाग्यो । मकर संक्रान्तिमा कन्दमुल खानुपर्ने प्रचलन रहेकाले पनि यस समयमा तरुलको कारोबार बढेको हुनसक्ने अर्का उपभोक्ता दिनेश बस्नेतले बताए ।
मकर संक्रान्तिमा झापाको कनकाई माईमा मेला लाग्ने भएकाले पनि झापाका अधिकांश मानिस उक्त मेलामा सहभागी हुने र मकर संक्रान्तिमा तरुल नै खानुपर्ने प्रचलन रहेकाले तरुलको ब्यापार झापामा उल्लेख्य मात्रामा हुने गरेको उपभोक्ताहरुको बुझाई छ ।
माघे संक्रान्तिलाई घिउ, चाकू, तरुल र खिचडीको पर्व भनिने गरिएकाले समेत यो समयमा बढी मात्रामा कन्दमुल विक्री हुने गरेको ब्यपारीहरु बताउँछन् । माघे संक्रान्ति सबैजसो समुदायले मनाउन थालेकाले चाकू र तरुलको व्यापार बर्सेनी बढ्दै गएको सम्बद्ध व्यवसायी बताउँछन् ।
निकै स्वादिष्ट कन्दमुलको रुपमा रहेको तरुलले हाम्रो स्वास्थ्यमा पार्ने फाइदाका बारेमा कमै मानिसलाई जानकारी छ । तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बि वान, फोलिक एसिडका अलावा पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फोस्फोरस जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइने गरेको चिकित्सकहरुको भनाई छ ।