छोरी र म कफी खान भनेर चौकको दोस्रो तलामा रहेको कफी क्याफेतिर लम्कियौं । माथिल्लो तलामा चढ्दै्र गर्दा सिंढीमा ढुसी गनाएको नाकले थाहा पायो ।
अलच्छिनी नाक !
देशका दल र नेताहरू डङ्गडङ्गती गनाउँदा पनि गन्ध थाहा नपाउने नाक जावो यस्तो गन्ध पो थाहा पाउन थाल्यो ।
माथि बाहिर पट्िटको खुला सिकुवामा कफी खान बस्यौं । त्यसको ठिक सामुन्ने, राजामार्गको उत्तरपटि एउटा मन्द माइक बजिरहेको थियो । रातो ब्यानर पनि टाँगिएको थियो । त्यसमा हँसिया र हथौंडाको बिम्ब पनि थियो । तीन चार जना प्लास्टिकका कुर्सीमा बसिरहेका थिए । तिनको फाइल तिनको अगाडि राखिएको साउण्ड बक्समाथि थियो । अर्थात्, साउण्ड बक्सको टाउको तिनको टेबल बनेको थियो । तिनका अगाडि पाँच सात वटा कुर्सीमा केही महिला र केही पुरूष बसिरहेका थिए । अनि एक जना युवा र बयस्कको बीचको उमेर देखिने भाषण गर्दै थिए ।
तिनको एउटा रातो झण्डा तिनकै सामुन्नेमा रहेको फलामे स्काइब्रिजमाथि सिउरिएको थियो । त्यो ब्रिजको एउटा कहाली लाग्दो कथा छ । राजमार्गको बीचमा आकासेपुल बनाइयो, कसैको भिजन भनेर प्रशंसाको खोलो पनि बग्यो । आखिरि त्यो पुल सेल्फी खिच्नेहरूका लागि र बिज्ञापन टाँस्नेहरूको लागि मात्रै भयो । त्यसको रंग उप्किरहेको थियो । खिया लागिरहेको थियो । एसियन हाइवे बन्न थालेपछि त्यो स्काइब्रजिको हुर्मत लिने निधो भयो । अब राजमार्गमा राख्न मिलेन, सानो भयो । छोटो भयो । त्यसलाई उखेल्नु पर्ने भयो । अन्त सार्नै पर्ने भयो । पहिला राख्दा आएको बजेट अब सार्दा पनि निकासा गर्नु पर्ने भयो । ढल्न आँटेको, सर्न आँटेको, पहिचान र अस्थित्व गुमाइसकेको त्यो निन्यारो, रंगबिहीन, भकुण्डो बनेर उभिएको त्यो आकासे पुल एउटा आतंकको प्रतीक थियो । भ्राष्टाचारको बिम्ब थियो । अनि त्यही पुलमाथि रातो झाण्डा बाँधेर अस्थित्वको, भ्रषचार बिरूद्धको, बेतिथि बिरूद्धको, निरंकुशता बिरूद्धको, राज्य आतंक बिरूद्धको भाषण गरिरहेका थिए ती भाइ । तिनको झण्डाको ग्राउण्डा मरणासन्न थियो, अनि उनी त्यही झण्डाको गीत गाइरहेका थिए । ती ठूला पार्टीहरूलाई गाली गरिरहेका थिए । धारेहात लगाइरहेका थिए । तिनका कुकृत्यहरूको भण्डाफोर गर्छौं भनिरहेका थिए । मिसन चौरासी हाम्रो हो भनिरहेका थिए । चौरासीको चुनावमा यी सत्ताधारीहरूलाई नामेट पार्नु पर्छ पनि भनिरहेका थिए । चर्को चर्को बोल्थे, माइकको ब्याट्री सकिएर होला, तिनको आवाज मलिन मलिन सुनिन थालेको थियो । छालले हिर्काएका गीटिहरूको कर्कश आवाज जस्तै हो नि आजको दुनियाँमा पीडित समुदायले कराएको आवाज । तर गिटिको उत्पिडीत आवाज कसैले आजसम्म सुनेको छ ? कसैले गिटीलाई कठैबरी भनेको छ ?
ती चिच्याउँछन् । बस । टुक्रिन्छन्, खिइन्छन् । अनि अंत्यमा बालुवा भएर बिलिन हुन्छन् । ती बक्ता भाइको आवाजमा मैले छालले हानेका ती गिटिको आवाज सुनें । भन्छ कसैले कठैबरी ? बरू त्यहीं छेउबाट हिंडने मान्छेहरू लुरूलुरू त्यतातिर हेर्दा पनि नहेरि हिंडिरहेका थिए । सबै आप्mनै धूनमा हिंडिरहेका थिए । ती कराइरहेका थिए ।
बीस जना मान्छेहरूलाई जनसमुदायहरू भनेर संबोधन गर्न पनि भ्याइरहेका थिए । सवारी साधन बाहेकको रित्तो सडकलाई उनी संबोधन गरिरहेका थिए । र सडक सुनिरहेको थियो उनको भाषण । फाँसिमा झुण्डिन लागेको आकासे पुल सुनिरहेको थियो उनको भाषण । अनि केही काम नपाएर यो सिर्जनाको रचना गर्ने म सुनिरहेको थिएँ उनको भाषण । बस !
ती बक्ता भाइले देशका कुरा गरे । दलका कुरा गरे । जनजीवीकाका कुरा गरे । भ्रष्टाचारका कुरा गरे । आगामी चुनावका कुरा गरे । राज्यका नीतिहरूको कुरा गरे । मानौं ती यो देश बनाउन चाहन्छन् । तिनको भाषलाई मैलै गीत देखें । संगीत देखें ।
त्यही फलामे पुलको मुनि गीत गाएर पैसा माग्ने कलाकारको गीत देखें तिनको भाषण । कसले सुन्छ ती कलाकारका गीत ? कसैले सुन्दैनन्, तर एक दुई रूपे सहयोग गरिराखेका हुन्छन् मान्छेले ।
तिनले फलामे आकासे पुलमा सिउरिएको तिनको झण्डाले त्यो आकासे पुलको नियती देखाइरहेको थियो ।
उनी बोल्दै थिए, पानी भ्mयार्र आयो । उनको साउण्डबक्सको ब्याट्री पािन सकिएछ क्यार, ती बक्ता भाइको त्यो चर्को आवाज उनका कानमा मात्रै पुग्न थाल्यो । उनले बोलेका अभिनय मात्रै देखिन थाल्यो । आवाज गिर्दै गयो । सुक्दै गयो अहिल्यै । कुरा दुईवर्ष पछिको चुनावको गर्थे, बिचरा । उनी भिज्दै थिए, आवाज हराउँदै थियो, तर उनको जोश हराएको थिएन । अघिसम्म मज्जाले सुनिने भाषण सांकेतिक भाषणमा परिणत भयो ।
यसैबीच कोही पछाडिको ब्यानर निकाल्न थाले, कोही ती पाँच सात वटा कुर्सी बटुल्दै थिए । ‘डेडी, कफी कस्तो छ ?’ छोरीको प्रश्नले म झसंग भएँ ।
‘सारै मीठो, नानी ।’ छोरीलाई यति भन्न मात्र के भ्याएँ, ती रातो ब्यानर बोक्ने, अनि घोक्रो सुकञ्जेल भाषण गर्ने भाइ त्यहाँ थिएनन् । ती अन्तध्र्यान भइसकेका थिए । आकासे पुल मात्रै कुरूप भएर उभिएको थियो ।
जीवन पढ्न बिम्ब चाहिँदो रहेछ । जगत पढ्न बिम्ब चाहिंदो रहेछ । किनभने बिम्ब हाम्रा इन्द्रियहरूका अभिव्यञ्जना हुन् । उत्पादन हुन् । सिर्जना हुन् । कल्पना हुन् ।
हाम्रा पाँच इन्द्रियहरूले पढ्ने, महसुस गर्ने र बुभ्mने कुराको साधन बिम्ब भएकैले होला, म कहिलेकहीं यिनीहरूको संसारमा हराउन पुग्छु । जेठको गर्मी र अचानक बर्षा भएको दमक चोकको बिम्बहरूको खेतीमा एकछिन मैले बिताएको पल हो यो ।
बर्षा अचानक किन भयो ? कसको कहाललिाग्दो बिम्ब पनि छ । पछि भनौंला ।
आजलाई यत्ति ।
आगे जो विचार ।
दमक, झापा

Author

You may also like