दमक । दमक नगरपालिका स्वास्थ्य शाखाले नगरको पहिचानको रुपमा रहेको दमक अस्पतालले एक वर्षमा गरेका गतिविधिको समिक्षात्मक गोष्ठीको आयोजना गरेको छ ।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाई, वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौला, वडा अध्यक्षहरु भीमप्रसाद पौडेल, कुवेरप्रसाद भट्टराई, धर्मप्रसाद दाहाल, लाइफलाइन अस्पतालका अध्यक्ष बालकुमार सुब्बा, स्वास्थ्य शाखाका प्रमुखहरु, निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरुलगायतको उपस्थितिमा सो समीक्षात्मक गोष्ठी सम्पन्न भएको थियो ।
स्वास्थ्य शाखा प्रमुख ब्रजेशकुमार मेहताले स्वागत मन्तव्य राख्दै गत वर्षको मूल्यांकन र आगामी दिनको मार्ग निर्देशनका लागि समीक्षात्मक गोष्ठीको आयोजना गरिएको बताएका थिए ।
सो अवसरमा नगरप्रमुख तथा दमक अस्पतालका अध्यक्ष रामकुमार थापाले नगरको योजना बमोजिम कार्यक्रमहरु वडावडामा लैजान स्वास्थ्य केन्द्रका प्रमुखहरुलाई निर्देशन दिँदै नगरसभाबाट पास भएर बजेटको व्यवस्थापनसहित नगरबासीको हितमा ल्याइएका कार्यक्रमहरुलाई कार्यान्वयनमा कर्मचारी यो वा त्यो नभनी इमान्दारीपूर्वक काम सम्पन्न गर्नुपर्ने बताए ।
यसैगरी, उपमेयर रेगिना भट्टराई प्रसाईले पनि नगरबासीको स्वास्थ जीवन नै नगरको सम्पत्ति रहेको उल्लेख गर्दै विकासका ठूला ठूला संरचना निर्माणमा भन्दा शिक्षा र स्वास्थ्यमा बढी लाग्नुपर्ने बताईन । लाइफाइन अस्पतालका अध्यक्ष सुब्बाले दमक नगरपालिकाले निजी क्षेत्रका स्वास्थ्य संस्था र दमक नगरपालिका अन्तर्गतका सरकारी अस्पतालहरुलाई सहज र सरल रुपमा सञ्चालन गरिरहेको र दमक अस्पतालबाट ठूलो उपलब्धीहरु हासिल भएको सुन्दा खुशी लागेको बताए ।
कार्यक्रममा प्रोजेक्टरद्वारा गतवर्षमा भए गरेका उपलब्धी र भावी योजनाको दृश्य देखाइएको थियो । सो दृश्यमा विकासको सूचक नै नागरिकको स्वास्थ्यलाई प्रमुखता दिएको दमक नगरपालिकाले सामान्य रुपमा सञ्चालन हुँदै आएको अस्पताललाई अहिले अत्याधुनिक प्रविधियुक्त बनाउँदै सकेसम्म कसैले पनि बाहिर जान नपर्ने र नगरमा बिरामीको संख्या न्युन बनाउने गरी अस्पतालको सेवा सुविधा र योजना अगाडि बढाईरहेका तथ्य र तथ्याङ्कले देखाएको थियो ।
अस्पतालमा अक्सिजन प्लान्टदेखि बिरामीका लागि विभिन्न बढीभन्दा बढी सुविधाहरु उपलब्ध गराएर दमकबासी मात्र नभएर झापा, यससँग सीमा जोडिएका पहाड तथा तराईका जिल्लाका लाखौं सेवाग्राहीले सेवा लिएको तथ्याङ्कले देखाएको छ । सेवा प्रवाहमा केही वडाहरुको सक्रियता अलि न्युन भएको कारणले अझ मजबुत तथ्यांक बन्न नसकेको पनि औल्याइएको छ । यद्यपि सेवा प्रवाहमा दमक अस्पतालले न्युनतम् सेवाका मापदण्डमा ८४ प्रतिशत पुरा गरेर देशमै अब्बल दरिएको छ ।
झण्डै ४ हजार बिरामीको सामान्य देखि मेजर अप्रेसनसम्म गतवर्ष गरेको छ । टिभी, एड्सलगायत सर्ने र नसर्ने रोगहरुको निदानमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको व्यवस्थापन मिलाएको छ । सबै वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रलाई प्रविधिसँग जोडेर विभिन्न जनस्वास्थ्यका कार्यक्रमहरु सञ्चालन भएका छन् ।
कार्यक्रममा जानकारी गराइएअनुसार दमक नगरपालिका आफैले ९० वर्षमाथिका ज्येष्ठ नागरिक र (क) वर्गका अपांगता भएका व्यक्तिहरुलाई ३ वर्षदेखि घरघरमै सेवा प्रवाह गर्दै आइरहेको छ ।
अस्पतालमार्फत सरकारले निःशुल्क दिएका औषधीहरु पनि अधिकांश वितरण गर्दै आइरहेको र ति सबै औषधी उपलब्ध गराउन स्वास्थ्य सेवाको तथ्याङ्क मजबुत हुनेपर्ने औल्याइएको छ ।
दमक अस्पतालमा २०८१÷०८२ मा ओपिडी सेवा लिनेहरु २ लाख २२ हजार बढी रहेका छन् भने आकस्मिक सेवा लिने ९ हजार बढी छन् । २०४ जनाको पोष्टमार्टम गरेको सो अस्पतालमा बिरामी भर्ना ३ हजार १ सय बढीले गरेको तथ्याङ्कमा उल्लेख छ । सो अस्पतालमा एक्सरे, इको, इसिजी, इन्डोस्कोपी, प्रयोगशाला, नर्मल डेलिभरी, अपरेशन डेलीभरी, अपरेशन, गर्भपतनदेखि निःशुल्क स्वास्थ्य दिँदै आएको छ । एम्बुलेन्स, सव वाहन देखि विभिन्न विभागीय सेवाहरु स्पेस्लिष्ट चिकित्सकबाट दिँदै आएको छ ।
दमक नगरपालिकाको जनस्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा ९० वर्ष माथिका ज्येष्ठ नागरिक र अपांगता
(क) वर्गका सेवाग्राहीलाई घरदैलो कार्यक्रमलगायत केएचडीसी कार्यक्रम, क्षयरोग मुक्त कार्यक्रम, अधारभुत स्वास्थ्य केन्द्रमा चिकित्कीय सेवा र नगर सुरक्षित मातृत्व कार्यक्रम सञ्चालनमा रहेका छन् ।
यस्तै यि चलिरहेका कार्यक्रमसहित पुरानो भवनको स्थानमा नयाँ भवन निर्माण, सकेसम्म ३ सय बेडको सामुदायिक अस्पताल निर्माणमा पहल, गरिब तथा विपन्नका लागि सामाजिक सुरक्षा इकाई स्थापना, होमोडाइलासिस, सिटी स्क्यान, प्रयोगशाला थप्ने र त्यसलाई आइटी सर्टिफाइड गर्ने, नेपाल सरकारले दिने विभिन्न तालिमहरु दिने, सेटलाइट हव अस्पतालको रुपमा अघि बढाउने, रिसर्च सेन्टरको रुपमा चिनाउनेसम्म योजना अबका दिनमा गर्ने गरी भावी कार्यक्रमहरु तय भएका छन् । स्वास्थ्य शाखाका अग्नी चौलागाईले सञ्चालन गरेको कार्यक्रममा प्रोजेक्टरमा देखाइएका तथ्याङ्कहरुलाई जनस्वास्थ्य निरिक्षक श्याम राजवंशीले प्रस्तुति दिएका थिए ।