सहिदका सपना कुल्चिएर राजनीतिक हतियारका रुपमा प्रयोग हुँदै आएका सहिदका नाममा हरेक वर्ष माघ १६ लाई नेपालमा सहिद दिवसका रूपमा मनाउने गरिन्छ । सहिदले कोरेका गोरेटो मेटाउँदै औपचारिकतामा सीमित बनाउनु र त्यो अनुसारको शासनशैली नदेखिनु नै विडम्बना हो । सहिद दिवस केवल सम्झनाको दिन होइन, बरु आत्ममन्थनको अवसर पनि हो । देशका लागि ज्यान अर्पण गर्ने वीर सन्तानहरूको बलिदानबाट प्राप्त स्वतन्त्रता र अधिकारको रक्षा गर्न हामीले कति न्याय गर्न सकेका छौँ भन्ने प्रश्न उठाउने दिन हो ।
सर्वसत्तावादविरुद्ध विद्रोहको शंखनाद गर्दै देशभक्ति र जनआवाजलाई सम्मान गर्न आफ्नो अमूल्य देहसमेत बलि दिन तयार हुने निर्भयी आत्माहरु, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको अस्तित्वको संरक्षणार्थ जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने संकल्प ऊर्जालाई शहिद मान्नुपर्दछ । नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो सहीद मानिन्छ । वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो । वि.सं १९९७ देखि २०६२÷०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात सहीदहरूले सहादत प्राप्त गरे ।
नेपालमा सहिदको परम्परा केवल राजनीतिक आन्दोलनमा सीमित छैन; यो सामाजिक, सांस्कृतिक र मानवअधिकारका संघर्षसँग पनि जोडिएको इतिहास हो । सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितका निम्ति बलिदान दिने त्यस्ता व्यक्तिलाई बुझिन्छ जसले आफ्ना सपना साकार हुन नपाउँदै देश र जनताको लागि जीवन आहुति दिएका छन् ।
नेपालको पहिलो सहिदका रूपमा लखन थापालाई मानिन्छ । उनले राणा शासनका विरुद्धमा आवाज उठाउँदै जनताको स्वतन्त्रताको पक्षमा प्रचारप्रसार गरेकाले वि.सं. १९३३ सालमा गोरखाको मनकामनामा रुखमा झुन्ड्याएर मारियो। त्यही क्षणबाट नेपालमा सहादतको इतिहास सुरु भयो ।
पछि राणा शासनकै कठोर समयमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई माघ महिनामा एकपछि अर्को गरी हत्या गरियो । एकपछि अर्को गर्दै कसैलाई गोली हानियो त कसैलाई झुड्याएर आततायी ढंगबाट हत्या गरियो । यी चार महान् सहिदहरूले देशमा प्रजातान्त्रिक चेतना जगाउने काम गरे, जसको परिणाम स्वरूप आजसम्म माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउने चलन सुरु भएको हो ।
टेकु, सिफल, पचली र शोभाभगतिमा बगेको रगतले देशमा स्वतन्त्रताको बीउ रोप्यो । ती बीउहरू पछि २००७ सालको क्रान्तिमा हरियो हाँगा पलाए, २०४७ सालको जनआन्दोलनमा फक्रिए र २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्रको फूल बने ।
राणावादी निरंकुशता हटेपछि देश प्रजातान्त्रिक यात्रामा प्रवेश ग¥यो । तर सहिदहरूले सपना देखेको समानता, न्याय र समृद्धिको राज्य अझै दूर छ ।
२००७ सालको परिवर्तनपछि पनि निर्दलीय व्यवस्था, ३२ सालको जनमत संग्रह, २०४६ सालको प्रजातान्त्रिक पुनस्र्थापना, र २०६२÷०६३ को जनआन्दोलन — यी सबै आन्दोलनहरूमा हजारौँले ज्यान गुमाए । त्यसपछि माओवादी सशस्त्र संघर्ष, मधेस आन्दोलन, थरुहट आन्दोलन हुँदै पछिल्लो घटनाका रुपमा जेनजी आन्दोलन भएको छ । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचार विरुद्धमा र सुशासनका पक्षमा वकालत गर्दैगर्दा पनि दर्जनौं २८ वर्ष मुनीका युवाहरुले ज्यान आहुति गरेर सहिदको लिष्टमा चढ्न बाध्य भएको छ । त्यही पछिल्लो घटनाको दुस्चक्रमा अहिले नेपालमा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदैछ । गृह मन्त्रालयका तथ्यांक अनुसार अहिले सम्म १२ हजारभन्दा बढी नागरिकहरूलाई सहिदको सूचीमा राखिएको छ ।
तर यति ठूलो बलिदानको इतिहास भएको देशमा आज पनि बेरोजगारी, भ्रष्टाचार, सामाजिक असमानता, र न्यायको अभावले सहिदहरूको सपना अधुरो बनाइरहेको छ । सहिदका नाममा कार्यक्रम हुन्छन्, फूल चढाइन्छ, भाषण गरिन्छ — तर सहिदका आदर्शहरू कार्यान्वयनमा झल्कँदैनन् ।
पछिल्ला वर्षहरूमा “सहिद“ शब्दको राजनीतिक दुरुपयोग पनि चर्किएको छ । राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताको मृत्युलाई सहादतको दर्जा दिँदा सहिदको अर्थ नै कमजोर बनाइएको छ । जसले वास्तविक बलिदान दिने वीरहरूको सन्देशलाई ओझेल पारिरहेको छ। सहिद केवल दलका नभई राष्ट्रका हुन् — यो सत्यलाई आत्मसात् नगर्दासम्म सहिदको सम्मान साँचो अर्थमा हुन सक्दैन ।
सहिदलाई सम्झने नाममा आयोजित समारोहहरू, नारा र माला चढाउने कार्यक्रमहरूभन्दा ठूलो कार्य भनेको सहिदका सपना साकार पार्ने नीति र व्यवहार निर्माण गर्नु हो। सहिदहरूले मागेको थियो — शिक्षाको अधिकार, समान अवसर, सुशासन, भ्रष्टाचारमुक्त समाज र समृद्ध नेपाल। आज ती सबै कुरा सम्भव छन्, तर इच्छाशक्ति र इमानदारी चाहिन्छ ।
सहिद सप्ताह मनाइने परम्परा आफैंमा जनचेतनाको सशक्त माध्यम बनेको छ । विद्यालयदेखि विश्वविद्यालय, गाउँदेखि राजधानीसम्म सहिदका योगदानबारे चर्चा हुने गरेको छ । सहिद नामका सडक, चोक, शालिक र स्मारकहरूले देशभर उनीहरूको सम्झना जीवित राखेका छन् । तर केवल स्मारकले होइन, समानता र न्यायमा आधारित शासन प्रणालीले मात्रै सहिदको सपना साकार गर्छ ।
अब सहिद दिवस र सहिद सप्ताह केवल विगत सम्झने माध्यम होइन, भविष्यको बाटो देखाउने समय हुनुपर्छ । यसर्थ, सहिदका नाममा राजनीति बन्द गर्दै औपचारिकतामा होइन आम सहिद परिवार र जनताले महसुस गर्ने गरिको बानी, व्यवहार, आचरण, शैली, विधि, विधानसहित राज्य संचालन हुन आवश्यक छ । सहिद दिवस भन्दैमा कुनै दल विशेषका सहिदलाई अगाडि सार्नु आम सहिदप्रतिको अपमान हुन नदिन निस्वार्थ रुपमा राजनीतिक गतिविधि हुन आवश्यक छ । सोही अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनमा क्रान्ति ल्याउनु अर्को आवश्यकता हो । सहिद परिवारका अधिकार र जीवनस्तर सुधारका ठोस नीति ल्याउनु, नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नु, युवालाई देशमै सम्भावना देखाउने वातावरण सिर्जना गर्नु जस्ता कार्यबाट मात्र सहिदको आत्माको साँचो श्रद्धाञ्जली हुनेछ ।
सहिदको रगतले सिंचिएको भूमिमा हामी उभिएका छौँ । तर यदि हामीले उनीहरूले देखाएको बाटोबाट विचलित भयौँ भने त्यो रगत व्यर्थ हुनेछ । आज सहिद दिवस केवल विगत सम्झने होइन, आफ्ना कमजोरी आत्मसात् गरेर सुधार गर्ने अवसर हो ।
लखन थापाको मनकामनादेखि गङ्गालालको शोभाभगवतीसम्म, धर्मभक्तको सिफलदेखि शुक्रराजको पचलीसम्म मात्र होइन राजनीतिक परिवर्तनका नाममा पछिल्लो समयमा जेनजीको नाममा भएका आन्दोलनका क्रममा देशभरका विभिन्न भाग जहाँ–जहाँ रगत बग्यो, त्यहाँ–त्यहाँ देशको चेतना पलायो । अब त्यो चेतनालाई कर्ममा रूपान्तरण गर्ने दिन आइसकेको छ । सहिदको सपना भनेको केवल राजनीतिक सत्ता परिवर्तन होइन, न्यायपूर्ण, समान र समृद्ध समाज निर्माण हो । सहिदको सपना साकार पार्ने जिम्मेवारी यही पुस्ताले पुरा गर्ने सपनाको शपथ लिन अब समय घर्किनु हुन्न ।