दमक/ विश्व बैंकको ऋण सहयोगमा बनिरहेको मदनडाँगी डिपु ताराबारी नमुना सडक कालोपत्र गर्ने काम शुरु भएको छ । मदनडाँगीमा धनबहादुर श्रेष्ठको घर दक्षिणबाट शनिबारदेखि कालोपत्र गर्ने काम प्रारम्भ भएको हो । दमकमा बनेका सडकमध्ये सबैभन्दा बढी उच्चस्तरीय सो सडक कालोपत्र शुरु हुँदा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले अवलोकन तथा अनुगमन गरे ।
विश्व बैंकको ऋण र नेपाल सरकारको अनुदानमा निर्माण भइरहेको सडकको लम्बाई ४ दशमलव ८६ किलोमिटर र चौडाइ १५ मिटरको रहेको छ । २६ जुन २०२३ बाट निर्माण शुरु भएको सडक आगामी २०२५ जुन २५ मा निर्माण सम्पन्न गर्ने सम्झौता छ । सडकमा साइकल लेन, ड्रेन, फुटपाथ र विरुवा रोप्ने ठाउँ समेत व्यवस्था गरिएको छ । नमुना सडक निर्माणको काममा अपेक्षित र भनेजस्तो प्रगति गरेको भन्दै सरकारले पनि दमक नगरपालिकालाई सम्मान र प्रशंसा पत्र प्रदान गरिसकेको छ ।