दमक/ ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको दिनको सम्झनामा विहीबार देशभर चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । नेकपा एमालेका तत्कालिन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले सरकारमा भएका बेला शुरु गरेको सो रकम अहिले मासिक ४ हजार पुगेको छ भने ६८ वर्षमाथिका ज्येष्ठ नागरिकले भत्ता पाइरहेका छन् । सोही दिनलाई ज्येष्ठ नागरिकको हितमा भएको ऐतिहासिक र महत्वपूर्ण दिन सम्झेर वि.सं. २०७८ सालमा एमाले पार्टीनै सरकारमा भएका बेलादेखि पुस ११ गतेका दिन राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । सोही सन्दर्भमा बिहीबार केन्द्र, प्रदेश र स्थानीय तहमा कतै सरकारलेनै त कतै ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरुले विभिन्न गतिविधि र कार्यक्रम गरेर हर्षका साथ सो दिवस मनाएका हुन् । तर अहिले दिइँदै आएको ज्येष्ठ भत्ता भने अझै कम भएको सहभागी ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।
यसै सन्दर्भमा झापाको गौरादह र भद्रपुरमा नगरपालिकाले तथा दमकमा ज्येष्ठ नागरिक संघ दमकले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । गौरादहमा नगरपालिकाले ज्येष्ठ नागरिक संघ सँगको समन्वय र सहकार्यमा दिवस मनाएको छ । त्यसक्रममा नगरपालिकाका सबै वडामा रहेका दिवा सेवा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गौरादह–१ स्थित जानकीश्वर दिवा सेवा समूहका संयोजक लक्ष्मीप्रसाद दुलाललाई दोसल्ला, खादा, माला र प्रमाण पत्रले सम्मान गरिएको छ । सबै दिवा सेवा समूहहरुलाई भजन कीर्तन गर्नका लागि हार्मोनियम, मादल, झ्याम्टा, घण्टी लगायतको वाद्यवादन समेत कार्यक्रममा वितरण गरिएको जानकारीमा आएको छ । गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर उप–प्रमुख जलवर्षा राजवंशी, प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले शुभकामना मन्तव्य राखेका थिए । ज्येष्ठ नागरिक संघ गौरादहका अध्यक्ष गोपाल प्रसाद काफ्लेले ज्येष्ठ नागरिक दिवसका बारेमा प्रकाश पार्नुभएको थियो भने नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता सुब्बा र ज्येष्ठ नागरिक संघ गौरादहका सचिव गोपीनाथ धमलाले कार्यक्रममा सहजीकरण गरेका थिए ।
शुभकामना मन्तव्यमा नगर प्रमुख सुवेदी र उप–प्रमुख राजवंशीले ज्येष्ठ नागरिकको हक, हित र कल्याणका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको र त्यसका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएर योजनासहित बजेट छुट्याएर कार्यहरु गर्दै जाने बताए ।
उता भद्रपुर नगरपालिकाले पनि जिल्ला समन्वय समिति झापाको चन्द्रगढीस्थित सभाहलमा एक कार्यक्रम गरी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । सो अवसरमा ५३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरएिको छ । भद्रपुर नगरपालिकाका १० वटै वडाका एक/एक जना असल स्याहारकर्ता तथा १० वटै वडाबाट ६० वर्षदेखि ७० वर्ष सम्मका ४३ जना अपाङ्गता भएका ज्येष्ठ सहित ५३ जनालाई सम्मान गरिएको हो । नगरपालिकाको ज्येष्ठ नागरिक शाखा र ज्येष्ठ नागरिक नगर समन्वय समिति भद्रपुरको सहकार्यमा सो दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेल, ज्येष्ठ नागरिक नगर समन्वय सममितिका अध्यक्ष हेमप्रसाद खनाल लगायतले असल स्याहारकर्ता १० जनालाई पानी तताउने विद्युतीय जग वितरण गर्दै दोसल्ला ओढाएर प्रशंसा पत्रले सम्मान गरेका थिए । त्यसैगरी नगरभत्रिका ४३ जना ज्येष्ठ नागरिकलाई न्यानो सिरकसहित नगद समेत प्रदान गरेर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले नगरपालिकाले अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्ययोजनाहरु ल्याएको बताउँदै केन्द्रीय तथा प्रादेशिक सरकारले स्थानीय सरकार संग समन्वय गरी थप कार्य योजना ल्याउनु पर्नेमा जोड दिए । नगर उप–प्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, ज्येष्ठ नागरिक जिल्ला संघ झापाका उपाध्यक्ष उपाध्यक्ष सूर्यनारायण गणेश, भद्रपुर–२ का वडाध्यक्ष राम कंडेलले पनि शुभकामना मन्तव्य राखेका थिए । हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष परमानन्द मिश्रले र संचालन सचिव ईश्वर पोखरेलले गरेका थिए ।