नेपाल विविध जातजाति र भाषाभाषीहरुको बसोबास रहेको देश हो । यहाँका जातजातिको परम्परा, संस्कार, संस्कृति, वेशभुषा, रहनसहन, रीतितिथि अध्ययन अनुसन्धान गर्न योग्य रहेको छ । देशमा मात्र होइन, विदेशीहरुका लागि समेत नेपाल एउटा अनुपम संग्रहालयनै हो। यति विविध जातजाति र भाषाभाषी रहेका देश विश्वमा कमै होलान् । तर नेपालमा जति पनि जातजाति र भाषाभाषीहरु छन्, ति सबैको सन्तुलित र समयोचित विकास हुन सकेको छैन । कतिपय जातजातिको अवस्था अत्यन्त दयनीय अवस्थामा रहेको छ भने कुनै जाति सम्भ्रान्त र समाजमा उपल्लो वर्गमा रहेको मान्ने गरिन्छ । हुन त आर्थिक अवस्थाका आधारमा अहिलेको समयमा उपल्लो मानिएको जाति पनि कमजोर र दयनीय जीवन गुजारिहेको पनि पाइन्छ । त्यसकारण आर्थिक हिसाबले पनि सबै प्रकारका जातिजातिहरुको अवस्था समान, समतामूलक, राज्यमा अनुपातिक हिसाबले बराबरीको पहुँचमा पुर्‍याउनुपर्ने आवश्यकता टड्कारो देखिन्छ । तर विद्यमान अवस्था भने त्यो छैन, जुन नेपाली समाजका लागि अमिल्दो र असमान प्रकृतिको हो ।
हामीले यहाँ चर्चा गर्न खोजेको लोपोन्मुख र अल्पसंख्यक जातिहरुको कसरी संरक्षण गर्न सकिन्छ भन्ने सवाल हो  । पूर्वी तराईका जिल्लाहरु जस्तै झापा, मोरङ, सुनसरीमा लोपोन्मुख अवस्थामा रहेको एउटा चिनिएको जाति हो, सन्थाल । सन्थाल जातिको मौलिक परम्परा, भेषभुषा, संस्कार, संस्कृति पृथक छ । उनीहरुको कहलिएको सन्थाल नाच सबै जातिजातिहरुबीच ख्यातिप्राप्त छ, त्यो नाच त्यतिकै आकर्षक र रोमाञ्चक पनि छ । दशैं, तिहार जस्ता चाडपर्व हुन् या विशेष कार्यक्रमहरु सन्थाल नाच देखाउन धेरैजसोले आमन्त्रण गर्दछन् । कतिपय अवस्थामा तराईका भित्री भागहरुमा लाग्ने, लगाइने मेलामा पनि उनीहरुको नाच विशेष आकर्षणको विषय बन्न जान्छ । सन्थाल जाति उनीहरुको नाचका लागि देशमै चिनिएको छ । सिटी फुक्दै धातुका माला लगाएर परम्परागत पोशाकमा सजिएर गरिने सन्थाल नाच पूर्वको एउटा महत्वपूर्ण गहनानै हो ।
सन्थालमात्र होइन, विभिन्न ९८ जातिहरु अल्पसंख्यकको सूचीमा रहेका छन्  । कूल जनसंख्याको ० दशमलव ५० प्रतिशत अल्पसंख्यक जातिहरुको संख्या रहेको छ । यो जनसंख्यालाई राज्यको मूल प्रवाहमा ल्याउने दायित्व सबै राजनीतिक दल, सामाजिक संघ संस्था, नागरिक समाज, तीन तहका सरकारहरु र अन्य सरोकारवालाहरुको हुनुपर्छ  । केवल उनीहरुको संस्कार र संस्कृति अनुपम भनेर रमाउने र तर राज्यका तर्फबाट कुनै विशेष कार्यक्रम र बजेट नल्याउने परिपाटीले अवस्था बदल्ने होइन, यथास्थितिमै राखिरहन्छ । मोरङको उर्लाबारी नगरपालिकाले भने यतिखेर सन्थाल जातिलाई उनीहरुको परम्परागत पोशाक बनाउने तालिम र सीप सिकाएर सो जातिको मानिसहरुलाई व्यावसायिक बनाउने कामको थालनी गरेको छ । यो केवल सन्थालका लागि मात्र होइन, अन्य जातिका लागि पनि गरिनुपछ । र, राज्यका सबै तहका सरकारहरुले पनि यस्तो कार्यमा आवश्यक जोडबल गर्नुपर्छ । तब मात्र अल्पसंख्यक र लापोन्मुखहरुका लागि केही गरेको ठहर्छ  ।

Author

You may also like