देश–समाज समाचार स्थानीय

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा बृहत रक्तदान

दमक/ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दमकले विश्व बन्धुत्व दिवसका अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । केन्द्रले संस्थाका एशोसियट अन्तर्राष्ट्रिय मुख्यालय ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’ भारतका पूर्वमुख्य प्रशासिका डा. प्रकाशमणिको १८औँ पुण्य तिथि पारेर एक लाख युनिट रक्त–सङ्कलन गर्ने लक्ष्यसहित बृहत रक्तदान अभियान आयोजना गरेको बताइएको छ ।

दमक नगरपालिका वडा नं. ५ स्थित ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रमबाट १४१ पिन्ट रगत संकलन गरेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दमककी प्रमुख सञ्चालिका ब्रह्माकुमारी राधा दिदीको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका माननीय सांसद होमबहादुर थापा थिए भने विशिष्ट अतिथिमा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, सशस्त्र प्रहरी बल पाथिभरा जवान तालिम शिक्षालय कमल गा.पा. लखनपुरका प्रमुख (एसएसपी) वरिष्ठ प्रहरी उपरीक्षक रमेश पाण्डे रहेका थिए ।

यसैगरी अतिथिहरूमा नेपाल रेडकस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, समाजसेवा प्रभागकी कोशी प्रदेश सल्लाहकार इन्दु न्यौपाने, विभिन्न मिडियाका सञ्चारकर्मी, वरिष्ठ डाक्टर सूर्यनारायण शाहलगायत समाजका प्रबुद्ध व्यक्तित्वको उपस्थिति रहेको थियो । सो कार्यक्रमलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दमककी प्रमुख सञ्चालिका तथा ब्रह्माकुमारी राजयोग समाज सेवा प्रभागकी संयोजक ब्रह्माकुमारी राधा दिदीले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिईन ।
सो कार्यक्रममा प्रमुख अतिथि होमबहादुर थापा, विशिष्ठ अतिथि तथा दमक नगरप्रमुख रामकुमार थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । यो कार्यक्रममा इन्दु न्यौपानेले धन्यवाद ज्ञापन गरेको ब्रम्हाकुमार विवेक अधिकारीले बताए ।
रक्तदान कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, समाजसेवी, सशस्त्र प्रहरी, बुद्धिजीविहरुले भाग लिएर रक्तदान जीवनदानलाई सार्थक तुल्याएका थिए ।
यसैगरी, अभियान ९ गतेसम्म सञ्चालन हुने र अभियानमा नेपाल र भारतमा रहेका हजारौँ ब्रह्माकुमारीका सदस्यहरू, विभिन्न सामाजिक संस्था तथा सङ्घ–सङ्गठनको सक्रिय सहकार्य जारी रहने बताइएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको मूल्य र मान्यताअनुसार, यस अभियानको मूल उद्देश्य गम्भीर अवस्था वा मृत्युमुखमा पुगेका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउनु रहेको बताइएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विगत ५५ वर्षदेखि मुलुकमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न तथा आध्यात्मिक, नैतिक, चारित्रिक र मानवीय मूल्यहरूको पुनस्थापन गर्नमा महत्वपूर्ण सामाजिक–आध्यात्मिक कार्यहरू गर्दै आएको छ । नेपालमा एक लाखभन्दा बढी संख्याका जनसमुदायलाई धुम्रपान, मद्यपान, लागुपदार्थजस्ता कूलत र दुव्र्यसनबाट मुक्तिको कार्यमा सहयोग गर्दै आइरहेको छ ।

Author

You may also like