दमक । भ्रमणमा गएर फर्कदै गरेका दमक नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको गाडी दुर्घटना हुँदा कानुन अधिकृतले ज्यान गुमाएका छन भने अन्य ६ जना घाइते अवस्थामा रहेको बुझिएको छ । चितवनबाट झापा फर्कँदै गरेको स्करपियो कार उदयपुरको कटारीमा दुर्घटना भएको हो । सो दुर्घटनामा परी दमक ३ निवासी कानुन अधिकृत ५५ वर्षीया माधव बस्नेतको उपचारका क्रममा प्रादेशिक अस्पताल कटारीमा मृत्यु भएको कटारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आज दिउँसो ४ः १० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका–६ सोमबारेमा मे. १ च ३०४० नम्बरको स्करपियो बार आफैँ अनियन्त्रित भई सडककिनारमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा रहेका चालकसहित सातैजना झापाका बासिन्दा हुन् ।
घाइते हुनेहरुमा चालक दमक–९ बस्ने ३८ वर्षीय देवेन्द्र तामाङ (दायाँ हात र बायाँ घुँडामा चोट अवस्था बोल्न सक्ने सामान्य), दमक–१० बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी (बायाँ गाला र बायाँ हात खुट्टामा चोट अवस्था मध्यम), दमक–१ बस्ने ४५ वर्षीय ज्ञानेन्द्र गौतम (टाउको र बायाँ गालामा चोट अवस्था मध्यम), दमक–६ बस्ने ५४ वर्षीय कमल श्रेष्ठ ९टाउको र बायाँ पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य, दमक–२ बस्ने ३८ वर्षीय नवीन खतिवडा (दायाँ हातमा चोट अवस्था सामान्य) र गौरादह–१ बस्ने ५४ वर्षीय भुवन दाहाल (टाउको र दायाँ हातमा चोट अवस्था बोल्न सक्ने सामान्य) रहेका छन् ।