दमक । तिहार सकिए लगत्तै झापासहित तराइ क्षेत्रका नदी किनारमा छठ पूजाका लागि घाट निर्माण शुरु भएको छ ।
यसै अन्तर्गत झापास्थित दमकको रतुवा खोलामा पनि दुवै किनारामा बाँसको घाट निर्माण शुरु गरिएको छ ।
छठ पूजाका लागि आवश्यक माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरीलगायतका पूजा सामग्रीहरु विभिन्न हाट बजारमा बिक्रीका लागि राखिएका छन् ।
छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ । त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामग्री प्रगोग गरिने बिधि छ । यतिबेला साप्ताहिक लाग्ने हाटहरुमा केराका घरीको बजार जमेको छ । छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने अनिवार्य परम्परा छ ।
कात्तिक शुक्ल चौथीका दिन शुरु भएर सप्तमीका दिन बिहान सम्पन्न गरिने छठ सूर्य उपाशनाको पर्व हो । छठ पर्वमा व्रत लिने मात्र नभएर परिवारका, नातागोताका र छरछिमेकका सबै परिचालित हुने हुँदा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको छ ।