समाचार

रोगी प्रम सक्रिय हुँदा देशै तरङ्गित

बद्रीप्रसाद काेइराला 

दमक/मृगौला रोगले ग्रस्त प्रधानमन्त्री केपी ओलीले अघिल्लो साता होमोडाइलोसिस गरेर फर्केसँगै सक्रियता बढाएका छन् । उनले त्रिवि उपकुलपतिमा धर्मकान्त बास्कोटा र मेडिकल काउन्सिलमा डा. भगवान कोइरालालाई नियुक्त मात्र गरेनन् देउवा सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँलाई जिम्मेवारी दिए । बिरामी प्रधानमन्त्रीलाई देशले पालिरहेको, प्रमको स्वास्थ्यका कारण काम नभएको भन्नेहरुलाई उनले कामको रफ्तार बढाएर सक्रियताको सन्देश दिएका छन् ।

गठन भएयता आलोचना खेपिरहेको यो सरकारलाई असफल भनेर आरोप पनि लाग्ने गरेको छ । ओलीको सचिवालय र सल्लाहकारको गलत सल्लाहका कारण सरकार असफल भएको कतिपयको विश्लेषण आउने गरेको छ । अधिकांश मन्त्रीहरु स्वार्थकेन्द्रित हुँदा जनहितमा काम हुन नसकेको बताइन्छ । पछिल्लो समय यी गुनासालाई सम्बोधन गर्ने गरी प्रधानमन्त्रीले सचिवालय सदस्यहरुलाई राजीनामा दिन लगाएको बताइन्छ । यससँगै मन्त्रीमण्डल परिवर्तनको चर्चा पनि सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले सचिवालयका काम नगर्नेको मात्र राजीनामा माग्दा गलत सन्देश जाने भएकाले सबैको मागेको सचिवालय स्रोतले जनायो । ‘पछि राम्रो काम गर्नेहरुलाई तान्न सक्नुहुन्छ,’ स्रोतको भनाइ थियो । आफू नयाँ ढङ्गले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन प्रमले निजी सचिवालयका सबै सदस्यलाई भनेका थिए ।

बालुवाटार निवासभित्रै पनि राति अबेरसम्म सल्लाहकारले घेरिरहँदा स्वास्थयमा लापरबाही भएको भन्दै प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि सल्लाहकारप्रति रुष्ट भएको बताइएको छ । सल्लाहकारहरुबाट गलत सल्लाह दिने, नेकपाका अर्का शक्तिशाली नेता माधवकुमार नेपालालाई समेत भेटघाट गर्न नदिने काम भएको गुनासो आउने गरेको छ । समग्रमा सल्लाहाकार टिमले प्रभावकारी भूमिका खेल्न नसक्दा राजीनामा दिनुपर्ने अवस्था आएको पत्रकार तथा विश्लेषक शम्भु श्रेष्ठको टिप्पणी छ ।
प्रधानमन्त्रीको सचिवालय चुस्त नभएको भन्दै पार्टीभित्रै पनि आलोचना भइरहेको अवस्था थियो । सचिवालय सदस्यको राजीनामापछि उपनिर्वाचनपश्चात् मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनाबारे चर्चा चलिरहेको छ । अर्का अध्यक्ष दाहालसँग निरन्तर परामर्शमा रहेका प्रधानमन्त्रीले मन्त्रीहरुलाई तत्काल कुनै निर्देशन नदिएको बुझिएको छ । यद्यपि कतिपय वाम विश्लेषकले आफ्नै सचिवालय सदस्यहरुलाई राजिनामा दिन लगाएर प्रधानमन्त्रीले मन्त्रीहरुलाई पनि साङ्केतिक चेतावनी दिएको बताउँछन् । यसरी मन्त्रिपरिषद् फेरबदल हुनुलाई वाम विश्लेषक हरि रोक्का प्रधानमन्त्रीलाई उनीहरुको काममा चित्त नबुझेको बुझिने बताउँछन् । ‘विचार गरेरै सल्लाहकार बनाएको हुन्छ,’ उनले भने, ‘तर टिममा फेरबदल हुन्छ भने चित्त बुझेन भनेर हामीले बुझ्नुपर्ने हुन्छ ।’

Author

You may also like