दमक। झापाको रतुवा खोलास्थित तटबाट उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चारदिने छठ पर्व आज बिहान सम्पन्न भएको छ। कात्तिक शुक्ल चौथीदेखि सुरु भएको पर्वको अन्तिम दिन सप्तमी तिथिका अवसरमा व्रतालुले नदी, पोखरी तथा जलाशयका घाटमा पुगेर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन् ।
दमक, झापासहित तराई–मधेशका विभिन्न जिल्लामा सूर्योदयसँगै व्रतालुले उदाउँदो सूर्यको पूजा गरी पर्व समापन गरेका छन्। यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिएको थियो ।
छठ पर्वका अवसरमा व्रतालुले चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरेका थिए। चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर ‘नहाय–खाय’ विधिबाट सुरु भएको पर्वमा पञ्चमीका दिन राति एक छाक अलिनो भोजन गरी ‘खरना’ विधि सम्पन्न गरिएको थियो। त्यसपछि निराहार व्रत बसेका व्रतालुले षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
मिथिला क्षेत्रमा षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ भने सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन छ ।
पर्व सम्पन्न भएपछि व्रतालु घर फर्केर दीनदुःखी तथा आशामुखीलाई अन्न र वस्त्र दान गर्ने तथा परिवार र आफन्तसँग प्रसाद ग्रहण गर्ने परम्परा छ। छठमा ठकुवा, भुसुवा, केरा, अन्य फलफूल र माटोका भाँडामा जमाइएको दहीलगायतका परिकार सूर्यदेवलाई चढाइन्छ ।
मिथिला क्षेत्रमा छठको प्रसाद आफन्त, छोरीचेली, फुपू, मित तथा इष्टमित्रकहाँ ‘भार’ अर्थात् सोलीमा राखेर पठाउने चलन छ। प्रसाद खाने र खुवाउने परम्परा पर्व सकिएपछि पनि लामो समयसम्म चल्ने गर्छ ।
छठ पर्वको व्रत र सूर्य उपासनाबाट सुख, शान्ति तथा समृद्धि प्राप्त हुने र रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक जनविश्वास रहिआएको छ।

Author

You may also like