: — बाबुराम क्षेत्री —:
दमक/ दमक नगरपालिकाको १९औँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक तथा विभिन्न विषयगत समितिका प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै आवश्यक निर्णय गरेको छ ।
नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
नगरसभाको प्रारम्भमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं उपप्रमुख रेगिना भट्टराई प्रसाईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विधेयक–२०८३ र विनियोजन विधेयक–२०८३ प्रस्तुत गरेकी थिइन् । त्यसपछि सार्वजनिक लेखा समिति, न्यायिक समिति, सामाजिक विकास समिति, राजस्व परामर्श समिति, विधायन समिति, अनुगमन समिति तथा सुशासन तथा स्थानीय सेवा समितिका प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।
नगरप्रमुख थापाले आगामी वर्ष नगरको विकासलाई पूर्वाधार निर्माणमा मात्र सीमित नराखी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाइ, वातावरण संरक्षण, सुशासन र सेवा प्रवाहलाई समान प्राथमिकतामा राखिएको बताए । उनले सीमित स्रोत र बढ्दो नागरिक अपेक्षाबीच योजनाको प्रभावकारिता र गुणस्तरलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षका कार्यक्रमको प्रगति, कर्मचारी व्यवस्थापन, बेरुजु फछ्र्योट तथा आगामी वर्षका प्रशासनिक सुधारका योजनाबारे जानकारी गराएका थिए ।
सभाले नगरपालिकामा कार्यरत कर्मचारीहरूको तलबी प्रतिवेदन स्वीकृत गर्नुका साथै नगरपालिकामा सूचीकृत नभएका वा नगरपालिका लगायत अन्य सरकारी निकायलाई तिर्नुपर्ने कर, शुल्क वा जरिवाना नतिरेका संस्था, समूह, क्लब, सञ्जाल तथा समितिलाई कुनै पनि प्रकारको आर्थिक सहयोग, अनुदान, जिन्सी वा वस्तुगत सहायता उपलब्ध नगराउने निर्णय गरेको छ । सार्वजनिक स्रोतको पारदर्शी उपयोग सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक अनुशासनलाई थप सुदृढ बनाउन नगरसभाले बेरुजु फछ्र्योटलाई उच्च प्राथमिकता दिएको छ । सार्वजनिक लेखा समितिको सिफारिसअनुसार नियमित गर्नुपर्ने तथा प्रमाण पेस गर्नुपर्ने बेरुजुको सम्परीक्षण गरी फछ्र्योटका लागि महालेखा परीक्षकको कार्यालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ । असुल गर्नुपर्ने बेरुजु तत्काल असुल गर्न कार्यालयलाई निर्देशन दिइएको छ भने आगामी दिनमा बेरुजु हुन नदिन ‘शून्य सहनशीलता’ को नीति अपनाइने नगरसभाले जनाएको छ ।
नगरसभाले शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मानसमेत गरेको छ । विभिन्न सामुदायिक विद्यालयबाट अनिवार्य अवकाश प्राप्त १४ जना शिक्षकलाई सम्मानपत्र र दोसल्ला प्रदान गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा उनीहरूले पु¥याएको योगदानको उच्च मूल्यांकन गरेको जनाएको छ । साथै हालै विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका कर्मचारी तथा व्यक्तिहरूलाई पनि प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
नगरप्रमुख थापाले नगरसभाको समापन गर्दै नीति तथा कार्यक्रम सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र नगरवासीबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले नगरपालिकाले आगामी वर्ष सुशासन, पारदर्शिता, सेवा प्रवाहको प्रभावकारिता र उत्तरदायी विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बुद्धिचालमा राष्ट्रिय च्याम्पियन बनेका खेलाडीदेखि निवृत्त १४ शिक्षकको बिदाई
दमक नगरपालिकाको १९औँ नगरसभाले खेलकुद र शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने खेलाडी तथा अवकाशप्राप्त शिक्षकहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको उच्च मूल्यांकन गरेको छ । राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने सात जना खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो भने विभिन्न सामुदायिक विद्यालयबाट अनिवार्य अवकाश प्राप्त १४ जना शिक्षकलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।
नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा दमकको पहिचान स्थापित गर्ने खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेको जनाएको छ । सम्मानित हुनेमध्ये दमक–९ की कृतिसरा अधिकारी र दमक–४ की पूजा भण्डारीले ११औँ राष्ट्रिय महिला चेस च्याम्पियनसिप–२०२६ मा प्रथम स्थान हासिल गरेबापत जनही ११ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी दमक–३ की प्रनिशा नेपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा करातेतर्फ प्रथम स्थान हासिल गरेपछि ११ हजार रुपैयाँ पुरस्कार पाइन् । दमक–५ की रेशिका धिमालले सोही प्रतियोगिताको तेक्वान्दोतर्फ तृतीय स्थान हासिल गरेबापत ७ हजार रुपैयाँ प्राप्त गरिन् ।
एथलेटिक्सतर्फ दमक–२ का सरोज सिंहले चौथो राष्ट्रिय लेस रन प्रतियोगिता–२०२६ (सिनियर) मा प्रथम स्थान हासिल गरेपछि ११ हजार रुपैयाँ र दमक–१ का सनम आङ्देम्बेले सोही प्रतियोगिताको जुनियरतर्फ प्रथम स्थान हासिल गरेबापत ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै राजन सुवेदीले राष्ट्रिय चेस च्याम्पियनसिप–२०२६ मा तृतीय स्थान हासिल गरेपछि ७ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानित भए । नगरपालिकाले खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्दै आगामी दिनमा पनि नगरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने जनाएको छ ।
चौधजना शिक्षक सम्मानित
नगरसभाले लामो समयसम्म सामुदायिक विद्यालयमा अध्यापन गरी अनिवार्य अवकाश प्राप्त गरेका १४ जना शिक्षकलाई पनि सम्मान गरेको छ । सम्मानित शिक्षकहरूलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो ।
सम्मानित हुने शिक्षकहरूमा निर्मला भट्टराई (भृकुटी माध्यमिक विद्यालय), भुवानी प्रसाद काफ्ले (पशुपति आधारभूत विद्यालय), प्रकाश भण्डारी (हिमालय माध्यमिक विद्यालय), हरी नारायण अधिकारी (सिंहदेवी माध्यमिक विद्यालय), तुलसी प्रसाद निरौला (सरस्वती माध्यमिक विद्यालय), प्रमिला कुमारी अधिकारी
(जनता आधारभूत विद्यालय), देवीमाया गौतम र यमुनादेवी गौतम (विद्योदय आधारभूत विद्यालय), गीतादेवी निरौला
(महालक्ष्मी आधारभूत विद्यालय), कृष्ण प्रसाद भण्डारी र रघुनाथ भण्डारी (ढुकुरपानी माध्यमिक विद्यालय), बलराम बस्ती
(हिमालय माध्यमिक विद्यालय), सुरेश कुमार राउत (कृष्ण माध्यमिक विद्यालय) तथा भगिरथ मिश्र (सरस्वती माध्यमिक विद्यालय) रहेका छन् ।
यी शिक्षकहरूले प्राथमिक तहदेखि माध्यमिक तहसम्म दशकौंसम्म शैक्षिक सेवामा योगदान पु¥याई अनिवार्य अवकाश प्राप्त गरेका हुन् । नगरपालिकाले उनीहरूको समर्पण, अनुभव र शिक्षाप्रतिको योगदानको कदरस्वरूप सम्मान गरेको जनाएको छ । नगरप्रमुख रामकुमार थापाले नगरको विकास पूर्वाधारले मात्र सम्भव नहुने उल्लेख गर्दै शिक्षा र खेलकुदमा योगदान पु¥याउने व्यक्तिहरू नै नगरको वास्तविक सम्पत्ति भएको बताए । उनले नगरले आगामी दिनमा पनि प्रतिभाको सम्मान, प्रोत्साहन र संरक्षणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
१९औँ नगरसभामा खेलाडी र शिक्षकहरूको सम्मानले नगरपालिकाले विकाससँगै शिक्षा, खेलकुद र मानव संसाधनको सम्मानलाई पनि समान प्राथमिकतामा राखेको सन्देश दिएको सहभागीहरूको भनाइ छ ।