देश–समाज सुरक्षा

देशकै नमुना क्वारेन्टाइन झापाको दमकमा, महिलाहरुका लागि सेनिटरी प्याड सहितको छुट्टै क्वारेन्टाइन

उत्तम रिजाल,दमक। अहिले विश्वभर कोरोना भाइरसको महामारी छ । र मानिसहरु त्रसित छन् । हजारौंको मृत्यु पनि भैसकेको छ । लाखौ संक्रमित छन् । हाम्रो देश पनि त्यसबाट अछुतो छैन् ।

यतिबेला कोरोना भाइरस संक्रमणका कारण देशभर नै क्वारेन्टाइन बनाइएका छन् र मानिसहरु राखिएका छन् । झापाको दमकमा पनि ३ वटा क्वारेन्टाइन छन् । यी क्वारेन्टाइनमा विशेषत पछिल्लो क्रममा भारतबाट आएका नेपालीहरु छन् ।

चौध दिन सम्म संक्रमण नदेखिएपछि होम क्वारेन्टाइनमा बस्न भन्दै घर पठाइदै गरेको अबस्था पनि छ । यो देशभरकै क्वारेन्टाइनको प्रक्रिया हो । तर झापाको दमकमा भने फरक छ । यहाँको एउटा क्वारेन्टाइन त देशकै नमुना क्वारेन्टाइन छ ।

क्वारेन्टाइन अव्यवस्थित देखी असुविधा सम्मका थुप्रै समाचार आए र सुनिए । तर झापाको दमक-४ मा रहेको एक क्वारेन्टाइन भने फरक छ। यहाँ महिलाका लागि छुट्टै क्वारेन्टाइन मात्र छैन,यहाँको क्वारेन्टाइनमा महिलाको प्राकृतिक प्रक्रियालाई समेत ध्यान दिइएको छ । महिलाहरुमा हुने मासिक श्रावमा पनि असहज नहोस भनेर सेनिटरी प्याडको समेत व्यवस्था गरिएको छ ।

भारतबाट नेपालीहरु आउन थालेपछि ५८ जना सम्म महिला क्वारेन्टाइनमा राखियो। दमकको मदन भण्डारी प्रतिष्ठानको क्वारेन्टाइनमा । जुन क्वारेन्टाइन महिला क्वारेन्टाइनको नामबाट पनि चिनिएको छ । किनकी यस क्वारेन्टाइनमा महिला मात्र राखिन्छ । दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीलेभन्नु भयो हामीले महिलाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेका छौ,त्यो पनि सेनिटरी प्याड सहितको ।

वहाँले महिलाहरुलाई महिनावारीमा असहज नहोस भनेर सेनिटरी प्याडको व्यवस्था गरेको बताउनु भयो । कोरोना संक्रमण नदेखिएका कति त घर पुगिसकेका छन् । अहिले पनि सो क्वारेन्टाइनमा एक बच्चा सहित १३ जना छन् । प्रवक्ता अधिकारीका अनुसार मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनमा राखिएको एम्बुलेन्स पनि महिला मैत्री छ । सो एम्बुलेन्सको चालक पनि महिला नै हुनुहुन्छ ।

प्रवक्ता अधिकारीले दमकमा तीन वटा क्वारेन्टाइन रहेपनि अहिले दुई वटा क्वारेन्टाइनमा मात्र मानिस राखिएको बताउनु भयो । अधिकारीका अनुसार मानसरोवर क्वारेन्टाइनमा २६ जना छन् । दाहाल प्रतिष्ठान क्वारेन्टाइन भने अहिले खाली छ ।

Author

You may also like