दमक/ व्यापारीले आफ्ना ग्राहकको स्वास्थ्यप्रतिकूल हुने अखाद्य वस्तु आफै उत्पादन गरेर बिक्रीवितरण गरेको पाइएपछि दमक नगरपालिकाले २० हजार जरिवाना तिराएको छ । दमक नगरपालिका उपमेयर रेगिना भट्टराई प्रसाईको नेतृत्वमा भएको अनुगमनका क्रममा एक दालमोड फुड प्रोडक्ट त्यस्तो देखिए पछि जरिवाना गरिएको हो । दमक बजारमा अखाद्य बस्तुहरु छ्याप्छ्याप्ती फेला पर्दै गईरहेका छन् । अस्पताल अगाडिका होटलहरु समेत अखाद्य बस्तुको बिक्री वितरण गरिएको पाइनु बिडम्बना हो ।
दमक बजारक्षेत्र र संवेदनशील मानिएका अस्पताल तथा विद्यालय आसपासका विभिन्न रुपमा सञ्चालित होटल तथा खाजा घरहरुमा मानव स्वास्थ्यका लागि निक्कै हानिकारक बस्तुहरु बिक्री वितरण भइरहेको पाइएको बजार अनुगमन समिति संयोजक समेत रहेकी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताइन् ।
अघिल्लो साता दमकका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको खाजा खुवाउने क्यान्टिन अर्थात चमेना गृहहरुमा समेत स्वस्थकर खाजा नपाइएको उनले बताईन । त्यस्तै, दमक २ स्थित आम्दा अस्पताल आसपासका होटलहरुमा गरेको अनुगमनको क्रममा कतिपय होटलका भान्साहरुमा प्रतिबन्धित अमिलो (चुक), अखाद्य तत्व मिसिएको रंग, बासी मःम आदि फेला परेको छ ।
‘त्यस्ता होटलहरुलाई एक्सन लिएर तुरुन्त सुधार गर्न चेतावनी दिइएको छ ।’ उपप्रमुख प्रसाईंले भनिन ‘स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन, त्यस्तो गरेमा कानुनी सजायको भागेदार बन्नुपर्छ ।’
उता, अनुगमन टोलीले दमक ७ को भगवती दालमोड फुड प्रोडक्टमा सेतो मटरलाई हरियो अखाद्य रंग पोलिस लगाएर हरियो मटर बनाई विक्री गर्ने गरेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै अखाद्य रंगको पोलिस लगाइएको मटर जफत गरि नष्ट गरेको छ । नेपाल प्रहरीसहित, नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपाने, नगर प्रहरी इञ्चार्ज रुद्रजंग काकी समेतको संलग्नतामा उपप्रमुख भट्टराईको नेतृत्वमा अनुगमन गरिएको थियो ।