
दमक । पोखराबाट काठमाडौं फर्किएका पूर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा भव्य स्वागत भएको छ । उक्त स्वागत कार्यक्रममा राजावादी नेता तथा कार्यकर्ता र शुभेच्छुक, शुभचिन्तकहरुको ठूलो सहभागिता रहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र धर्म, संस्कृति, मातृभूमि बचाउन अभियान अभियानका संयोजक दुर्गा प्रसाई तीनै जनाले पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गरेका छन् ।
स्वागत अगाडि उनीहरुले काठमाडौंका विभिन्न स्थानबाट आएको जुलुस विभिन्न नारासहित विमानस्थल पुगेको थियो । यद्यपि कुनै पनि राजापक्षका दलहरुले दलको झण्डा भने प्रयोग गरेका थिएनन । उनीहरुले सबैले राष्ट्रिय झण्डा प्रयोगमा ल्याएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहका पोखराबाट काठमाडौं फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा आइतबार समर्थकहरूले लोकतन्त्र तथा गणतन्त्रको ठाडो विरोध गर्दै र्याली निकालेर ‘राज आउ देश बचाउ’ नारा लगाएका छन् ।
राजवादीहरुले राजा विमानस्थलमा आउनु अघिदेखि भेला भएर प्रदर्शन गरेका थिए । गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा शाह आइतबार दिउँसो ३ बजेर २० मिनेट जाँदा समिट एयरको चाटर्ड जहाज चढेर परिवारसहित काठमाडौं फर्किएका हुन ।
गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरूले विमानस्थलबाट शाहको निवास निर्मल निवाससम्म र्याली निकालेका छन् । यसैबीच राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रको ठूलो फोटोसँगै भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत बनाएर जुलुसमा बोकेका छन् ।
राप्रपाको कार्यक्रमलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको नेपाल प्रहरीले जनाएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । राप्रपाले भने लाखौं मानिस उत्रने दाबी गरेको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरले राजाको पक्षमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले राजसंस्था पुनस्र्थापनाको माग समेत चर्काउदै गएका छन् ।
दलका नेताहरुले राजतन्त्र फर्काउने षड्यन्त्रमा नलाग्न पूर्व राजा र राजावादीलाई चेतावनी दिँदै दल खोल्न चुनौति दिँदै आएका छन् ।