अघिल्लो आर्थिक वर्षको तुलनामा हालै सार्वजनिक भएको झापा जिल्लाको सवारी दुर्घटनाको तथ्यांकले हामी सबैलाई चिन्तित बनाएको छ । जिल्ला टूाफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ५९३ वटा दुर्घटना भएका थिए भने हालै सम्पन्न २०८१÷८२ मा दुर्घटनाको संख्या दोब्बरले बढेर १,२९६ पुगेको छ। यो भयावह वृद्धिले सडक सुरक्षाको सन्दर्भमा राज्य, टूाफिक व्यवस्था, चालक तथा पैदल यात्रु सबैप्रति गम्भीर प्रश्न उठाएको छ । दुर्घटनाबाट ९५ जनाले ज्यान गुमाउनु, १३९ जना गम्भीर र १,९३४ जना सामान्य घाइते हुनु कुनै सामान्य विषय होइन । यो अवस्थामा हामीले दोष थोपर्नेभन्दा बढी जिम्मेवारीको भावना बोेकेर समस्या पहिचान र समाधानतर्फ अग्रसर हुन जरुरी छ ।
सवारी दुर्घटनाका कारणबारे प्रहरी र सर्वसाधारणका दृष्टिकोण भिन्न छन्। टूाफिक प्रहरीको भनाइमा अधिकांश दुर्घटनाको कारण चालकको लापरवाही हो(मादक पदार्थ सेवन, मोबाइल चलाउने, सवारी चलाउँदा ध्यान नदिने, गति नियन्त्रण नगर्नेजस्ता क्रियाकलापहरू मुख्य हुन्। अर्कोतर्फ, आम सर्वसाधारण भने आधारभूत भौतिक संरचनाको अभाव–जस्तै टूाफिक लाइट, जेब्रा क्रसिङ, आकाशेपुल, सडक संकेत तथा टूाफिक जनशक्तिको कमीलाई मुख्य दोषको रूपमा देखाउँछन् । तर यथार्थमा यी दुबै पक्षको कमजोरीले दुर्घटनाको जोखिम बढाएको देखिन्छ । दुर्घटना केवल एकजनाको गल्तीले होइन, प्रणालीगत लापरवाही, कमजोरी र बेवास्ताले हुने गर्छ। चालकको लापरवाहीले क्षणभरमै जीवन समाप्त गर्न सक्छ, भने टूाफिक व्यवस्थापनको कमजोरीले दुर्घटनाको पूर्वसर्त निर्माण गर्छ । यस समस्याको समाधान पनि यिनै तीन पक्ष(चालक, टूाफिक प्रहरी र पैदल यात्रीबीचको सहकार्य, समन्वय र संवेदनशीलतामा निर्भर छ। जनचेतना नै सबैभन्दा प्रभावकारी उपाय हो, जसले प्रत्येक पक्षलाई आफ्नो भूमिकाको गम्भीरता बोध गराउँछ ।
राज्यतर्फ हेर्दा, हाम्रो सडक सुरक्षासम्बन्धी नीति २०५८ सालमा बनाइएको हो, जुन आजको सन्दर्भमा धेरै नै अप्रासङ्गिक भइसकेको छ। नीति परिवर्तन, सडक संरचना सुधार, चालकहरूको नियमित प्रशिक्षण र सवारी निरीक्षण प्रणालीमा पारदर्शिता ल्याउनु अहिलेको आवश्यकता हो ।
त्यस्तै, टूाफिक प्रहरीले पनि केवल कारबाही र राजस्व संकलनमा सीमित नभई शिक्षामूलक कार्यक्रम, निगरानी प्रविधिको प्रयोग, संवेदनशील क्षेत्रमा उच्च सक्रियता तथा जनसहभागिता बढाउनु आवश्यक छ । झापामा मात्र होइन, देशभर नै सवारी दुर्घटना अहिले एक ’सामाजिक संकट’ बन्दै गएको छ । अब दोष थोपर्ने संस्कारलाई अन्त्य गर्दै साझा उत्तरदायित्वको अभ्यास गर्नुपर्छ। सडक सुरक्षित बनाउने अभियान राज्य, टूाफिक प्रहरी, चालक, यातायात व्यवसायी र नागरिक सबैको साझा कर्तव्य हो । त्यसैले, ‘को दोषी?’ भन्ने बहसमा अल्झिनु भन्दा ‘अब के गर्ने ?’ भन्ने प्रश्नमा जवाफ खोज्न जरुरी छ । समयमै सचेत नहुनु भनेको फेरि त्यही मृत्युको आँकडा दोब्बर भएर फर्किने निश्चितता हो ।