हिरा क्षेत्री
गायकहरुमा भाषाको ज्ञान हुनुपर्छ नत्र उसले गाएको राम्रोसित सुन्दा त टाउकोलाई टौको, लाहुरलाई लाउर, अम्बरलाई अम्मर, जिउनुलाई ज्युनु, बाँच्नुलाई बाच्नु, तपाईँलाई तपै, सपनालाई सपुना, उदारलाई उद्धार भनेजस्तो पो लाग्छ त ।
‘ओठो पे झुलो तुम मेरा गीतु अमरु करु द’ु भन्ने गजल जस्तो नि ।
अब गायकलाई त गीतकारले जस्तो दियो उस्तै त गाउने हो नि । उसो भए गीतकारमा त झन् भाषाको ज्ञान हुनैपर्छ । गीतकार भनेको त सर्जक हो । गीतकार भनेको गीतको सर्जक । रचनाकार । गीतकारले जस्तो दियो भन्दैमा गायकले पनि कुरै नबुझी गाउन पनि हुँदैन । तिम्रो बाउलाई सलाम छ नै गाउनुपर्छ, तिम्रो बौलाई होइन ।
गायकले ठीकसित गाइरहेछ छैन, उच्चारण कस्तो हुँदैछ त्यसमाथि चौकिदारी गीतकारले गर्नुपर्छ । यस दृष्टिले हेर्दा उसो भए गीतकारले भाषाको ज्ञान मात्रै होइन मर्म पनि बुझेको हुनुपर्छ, गायकलाई भाषाको प्राथमिक ज्ञान हुनुपर्छ ।
हाम्रा गीतकार र गायकहरू माध्यामिक परीक्षा उत्तीणर् गरिसकेकै धेर छन् । नेपाली भाषामा राम्रै सङ्ख्या बटुलेका हुन्छन् । चौथो, पाँचौँ, छैटौँ कक्षातिर व्याकरण भन्ने विषय पढ़ाइन्छ र नेपाली कसरी शुद्ध लेख्ने भनेर सिकाइन्छ । पछि ठूला श्रेणीतिर पनि त्यसैलाई विस्तृतसित दोहोऱ्याइन्छ । दुःखको कुरो के भने हामी आमाको बोलीकै बलात्कार गर्छौँ । सुन्दा नराम्रो सुनिन्छ नि यो कुरा तर सत्य तितो हुन्छ । चौथो कक्षामै सिकेका नियमावलीलाई भुल्नु हाम्रो जन्मसिद्ध अधिकार हो भनेजस्तो गरेर सबै बिर्सिन्छौँ । माध्यामिकस्तरसम्म नेपाली पढ़ेका हौँ भने नेपाली मातृभाषामा साधारण त्रुटी गर्नु हुँदैन । रमाइलोलाई रमैलो गाउने गायककी आमा कि विदेशी, कि अनेपाली हुनुपर्छ । होइन भने ती गायकले सानैदेखि नेपाली पढ्न नपाएका होलान् ।
मञ्च थर्काउँदैमा सङ्गीतको विकास हुँदैन । युट्युबमा हजारौँ लाइक गर्नेहरूले गीत सुनेका हुन्छन्, भाषा होइन । सङ्गीत पनि संस्कृति हो । कुनै पनि जातीको आफ्नो छुट्टै संस्कृति हुन्छ भनेर भनिरहनु पर्ने कुरै होइन । संस्कृतिको अभिन्न अङ्ग भाषा हो । संस्कृति बाँचे जाति बाँच्छ भन्ने नारा मात्रै गुञ्जाएर हुँदैन । संस्कृतिका तत्वहरूमा मुख्य भाग भाषाले ओगट्छ । भाषा शुद्ध अनि नियमबद्ध हुनैपर्छ संस्कृतिलाई सम्प्रेषण गर्नलाई । रक्सी पसलबाट निस्केको साधुलाई पनि मत्थुको आरोप लाग्छै लाग्छ भलै उ त्यहाँ प्रसाद बाँड्न पुगेको होस् ।
अब यति लेखिसकेपछि सचेतहरू एक हुलको टिप्पणी आउँछ – अन्त नेपाली व्याकरण नै एउटा एक खाले, अर्को अर्को खाले छ । कुनलाई पछ्याउनु, कुनलाई नपछ्याउनु ? विद्वानहरूमै एकमत छैनन् । ड़, ढ़ मा तलथोप्ली लाउनु कि नलाउनु इत्यादि ।
व्याकरणमा विवाद छ भनेर आफुमा हुनुपर्ने मातृभाषाको साधारण वा प्राथमिक ज्ञानलाई राम राम गर्ने हो भने त्यो हार्ने गोरुको छेर्ने बानी हो । साधारण ज्ञानको विषयमा विवादका मुद्दा उठाउनु आग्रा र गाग्राका कुरा हुन् ।
कुरा यति हो – नेपाली तपाईँको मातृभाषा हो भने अनि कम से कम माध्यामिक स्तरसम्म यो भाषा पढ्नुभएको हो र त्यो परीक्षा उत्तीणर् गर्नुभएको हो भने साधारण त्रुटी नगरी गीत गाउनुहोस्, लेख्नुहोस् अनि पढ्नुहोस् । आमालाई सम्मान गर्नुपर्छ भनेर पनि कसैले सिकाउनु पर्छ र ?