धनकुटे कान्छा
राजनीतिको परिभाषा मात्रै रट्यो र आफू अनुकुल व्याख्या गर्यो । व्यवहारमा उतार्न सकिएन वा व्यहारिक हुनै कोशिस गरिएन । र अर्काको अस्तित्व स्वीकार्नै मानिएन । अर्थात् अर्कालाई निशेध गरियो भने राजनीति दुर्गधिन्त हुन्छ । अर्थात् बदनाम हुन्छ ।
हामीले २०४६ सालपछि भोगेका छौँ । हामीले विभिन्न बाहानामा आ-आफ्ना झण्डा बनायौँ । झण्डाको राजनीतिमा राजनीतिको मर्म बिर्सियौँ । राष्ट्रिय झण्डा भुल्यौँ । र थाल्यौँ अहंको व्यापार गर्न । अर्थात् मुलुक, देश र जनता भुलेर हामी राजनीतिको दोहोलो काड्न थाल्यौँ । वा देश, जनता र तिनीहरुको सरोकार भुलेर हामी राजनीति गरिरहयौँ ।
इतिहास पढेर राणा शासनको हामीले दोहोलो काडेकै हौँ । बारम्बार तिनको सत्तोसराप गर्ने गरेकै हौँ । अलिपछि निरंकुशताको बदख्याई गर्दै पञ्चायतको ढाड सेकाएकै पनि हौँ । तर हामीले बारम्बार इतिहास दोहोराइ रह्यौ र आशा भन्दा निराशाका बिऊहरु छरिरहयौँ । तिनीहरुले गरेकोभन्दा राम्रो गरेर देखाउनतिर लागेनौं ।
२०४६ देखि हालसम्म हामी प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रहुँदै २०७२पछि संघीयताको अभ्यासमा देशलाई प्रयोग गरिरहेछौँ । ३ दशक भित्रमा हामीले धेरै मुलुकमा इतिहास रच्यौँ । व्यवस्था बदलिरहने तर संस्कार नबदलिने मुलकमा इतिहास किन भत्किरहन्छ र किन तर्साइरहन्छ सिङ्गो मुलुकलाई ? हामीले फुर्सदमा कहिल्यै सोचेनौँ । अर्थात् झण्डामुनि बस दरबार नपस । कहिल्यै सोचेनौँ । वा भनौ स्वार्थका कारण बुझि-बुझि बुझ पचायौँ र झण्डालाई तर्साउने बुख्याँचा बनाइरहयौँ ।
धेरैको कन्पारो तात्न सक्छ । धेरैलाई वाइयात लाग्न सक्छ । किनभने अर्कालाई गाली गर्नेले आफ्नो तारिफ मात्र सुन्न चाहान्छ । के हामीले हाम्रा कमजोरी खोज्न आवस्यक छैन र ? जुनसुकैलाई भोट दिए पनि वा पार्टीको झण्डा र डण्डा लिए पनि के तिनका कमजोरीमाथि औँला नउठाउने नै हो त ? किन हामी आफन्त भनाउँदालाई अन्धो भएर समर्थन गर्ने र इतरकालाई अन्धाधुन्द विरोध गर्ने भयौँ । अर्थात किन संवेदना विहिन हुँदै गयौँ ? गणेशमानका भेडा भएर हामी किन भजमने भयौँ । अर्थात् राजनीति प्रति किन यति सारो वितृष्णा वा निराशा छ, जनतामा । किन राष्ट्र उत्साहमा जान सकेन ? के यस्ता विषय मन्थन गरेर सच्चिनु वा सच्चिऊन भन्ने कामना गर्नु राष्ट्रको हितमा हुँदैन र ?
सन्दर्भ र प्रसंग हो – राजनीति आजभोलि व्यापार भएको छ । आफ्नो नाफा-घाटाको सनकमा देश बन्धक बन्न थालेको छ । स्वार्थै स्वार्थका झण्डाको बजारमूल्यले देशको नाङ्गो नछोप्ने भएको छ । साझा मूल्य, राष्ट्रिय मान्यता झुण्ड झुण्डमा अझ आफू-खुसी अक्षरहरुको परिधीमा अल्झने भएको छ । होला झुन्डले समूह, उपसमूहले पनि उत्पीडित, शोषित, दमित, किनारीकृत, आवाज विहिनहरुको आवाज बोकेको छ । तर ती र तीहरु जस्तै पुरै देश यतिखेर टुट-फुट र एकता विहिन हुँदो छ । क्षमता भन्दा पनि भाग बन्डामा हामी हरेक कुरालाई हरेक क्षेत्रमा हालीमुहाली गर्ने भयौँ । अझ साँघुरो सोचाइका चिन्तनहरुले कतै पहिरो मुनिको देशमा पहिरो कोट्याउने काम त हामीबाट भएको छैन । सोच्न जरुरी छ ।
करिब २ सय बर्षको जहाँनीया, १०२ बर्षे हुकुमी जर्जरता, ३० बर्षे निरंकुशता विरुद्ध हामीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीयतामा सबैको विस्वास कामले जित्न सक्नु पथ्र्यो । भरोशा लायकको व्यवहारले राष्ट्रलाई समुन्नती तर्फ उकास्न सक्नुपथ्र्यो । काम,माम र दामको अवस्था आउन’ पथ्र्यो । गरीब झन गरीब र धनीको हालीमुहाली हुनुहुन्न थियो । आ-आफ्ना स्वार्थले मात्र राष्ट्र बन्न सक्दैन ।
अहिले मुलुकमा यतिखेर व्यवस्था परिवर्तनका कुरा गाँइगुइँ एक कान दुई कान हुन थालेका छन्। व्यवस्था परिवर्तन छिटोछिटो हुने र अवस्था परिवर्तन जहाँको त्यहीँ रहने हो भने त्यसको के अर्थ ? अर्थात् नेता रातारात धनी बन्ने र देश गरिबको गरिब कहिलेसम्म बन्ने ? अर्थात् हाम्रो नियत कहिलेसम्म देशद्रोही बन्ने र देखाउन देशभक्त बन्ने ? के अझ पनि नचेत्ने नै हो त ? देश रित्तो राखेर विदेश देशमा पसेको छ । अभाव र मन्दीले देश आक्रान्त भएको छ । हरेक दिन आत्महत्या गर्नेको संख्या बढ्दो छ। चरम निराशा छ। हरेक नेता भाइरल संस्कृतिमा रमिते भएको छ। समाज टिकटक र स्क्याण्डलको पछि दौडिएको छ। देखावटी र बनावटी रुपमा समाजको संस्कृति अर्धमुर्छित भएको छ। असल र नैतिकवान, स्वाभिमानमा बाँचेकाहरु विचरो देखिएका छन्। के हाम्रो संस्कृति र व्यवहार यही हो ? के नेपाल अब टाँट पल्टिएर विदेशीको गुलाम हुन मञ्जुर छ ? के नेताहरुको पेवा हो देश ? के नेताहरु अझ नसुध्रिने नै हुन त ? समय सकिएपछि पछुताउनु भन्दा समय हुँदै चिन्तन गर्न आवश्यक छ ।
जनताको धैर्यता, निराशामा पनि अझै सकारात्मक प्रतिज्ञा छ । ढुकढुकी बौराउन सकून नेताहरुले । एक जुगमा आउने एक दिनको सम्मान गर्न सकून देश हाक्छु भन्नेहरुले । अझ राजनीति र नेता शब्द प्रतिको घृणालाई मायाँमा र सम्मानमा बदल्न सकून, देशका ठेकेदारहरुले । हैन भने समयले, इतिहासले हिजो धिकारे जस्तै आजका समयका मान्छे र तिनका प्रतिनिधिलाई धिकार्नेछ कि कसो ? समयमा चेतना भया ।
दमक, झापा
kabidhankute@gmail.com