– व्यंग्यनारान पाँडे –
“के छ हओ पाँडेजी, तपइँ आज अनमुडफमै छाै कि कसाे छ हओ ?” – आज आउँदा आउँदै ऐंसेलु झाँगेले यस्ताे अनाैठाे प्रश्न गर्याे र पाँडेकाे नजिकै कुर्सी तानेर बस्तै थप भन्याे -“सइएउँ बर्ख भाे तपइँसित चिन्जान-इन्टाेडुस भकाे , अनिखेर म तपइँकाेे आनीबानी बेहाेराकाे गतिबिदि जान्दिन के त ! तपइँ कत्ति ड्यान्जर मुडफिला छउ भन्ने म एटुजेठ नै जान्ने ब्याक्ति हुँ र काेइसिन गरेकाे नि ! भरे गाली खा’र चाइँनेकेरे आफै मुडफ हुनु नपराेस् र अन्भार बिक्रित पारेर भागाे रे भाग हुनु नपराेस् भन्-र एडभाँसमै साेध्या नि ! कैलेकाइँ तपइँका गाेइका जइसा अरबख्रे पउँजाका झापडकै पनि पिउर एस्पिरेन पनि छ मेराे मगजकाे किट्नी-लिबरहर्मा ! आज चइँ मुडफकाे लच्छिन् कस्ताे छ ? भाग्गेबस् राम्रैइ हाेस् भन्ने मेराे इन्ट्यान्सिन नि !”…
उसकाे यस्ताे खाले लामाे भूमिका सुनेर पाँडे एक अध्याय कट्याककुटुक्कै हाँस्याे र हाँसाेसँग शब्दहरू मिसाउँदै भन्याे -“अनुहार हेरेरै पनि काे कस्ताे मुडमा छ भन्ने थाहा हुँदैन र ? अथवा आज मेराे मुड कस्ताे देख्तैछाै ? तिमी नै अन्दाज गर न ।”
तब उसले एकपल्ट दुवै हातका ओैंला काेप्राे पारेर आफूतिर माेड्याे अनि नङहरू र ओैलाका टाेप्राहुँदी लागेर पडहेंलपुर भई सुकेकाे घिनलाग्दाे लेदाे काेट्याउने असफल प्रयास गर्न पाे थाल्याे !… पाँडेलाई अनुमान भयाे – ती पीताम्बरे कत्ला उसले सँधै झैं आज बिहान कैलुकाे भट्टी दुकानमा पहिलाे ट्रिप दारूसँग बेलुकाकाे रहल-पहल मासुका सस्याना टुक्राटाक्री र जमेकाे झाेलसँग चिउराकाे सितन खाँदाकाे कैफियत हाे ।….
तर, तुरुन्तै नै नङ काेट्याउन र ओैंलाका टाेप्रा माड्न छाेडेर उसले भन्याे -“मैले आज बेहान मेरा बारमासे साथीभाइहर्ले गरेका डिससबड एउडा नयाँ-नुतन बेपार-बिख्नेसकाे कुरा सुनेर ताे कत्तिकाे चइँ दुदालु बिख्नेस हाे तपइँबड किल्लेरकटै बुद्न र साँच्चै नाफा हुने हाे भन्ने तपइँबड बुजें भने तेता लाग्नुपराे भन्-र आकाे क्या पाँडेजी ! याे रा’नीतिककाे पाेल्टिकल खेल्ने पेसाेकाे अब काैनै ग्रान्टी छैन भन्ने अन्दाजिफकेसन पाे हुन थालाे अैलेकाे सिच्याेसिनमा ! याे हामेरकै चइँ तेस्सिमालाने पाेल्टिसकै धाेती न टाेपी हुने कन्डिसिन देख्तैछु । अब एस्ता नाथे पाेल्टिस खेल्ने कामले मेराे बेबार पर्मानेन्ली चलाउने देखिन मैले ! ऐले जैसै ‘लतारलुतर गराे छाक टाराे’ अथबा ‘लुटेर ल्याउन र भुटेर खानमै फिलिस हुने’ पाराले त….एस्ताे नाथे पेसाे गर्नुभन्दा त निधारमा चन्डन ला’र अनि हाताँ कमण्डुले लाेटा बाेकेर चइँनेकेरे ‘जए राम्जी कि !’ भन्दै घुमफिर गर्दा बिना ट्यान्सिन भात-तिउन् खाइहालिन्छ नि ! तइ, आर्काे पेसाे नभउन्जेल जाे हात साे सात गरिराकाे मात्तै न हाे अैले मैले ! … मैले सुने जैसाे साे-उक्त नुतन बिख्नेसबड हुने नाफा-नाेक्सानकाे त तपइँले हाेल-टाेट्टल अर्थम्याटिक र अलजेभ्रा नै बुजेका हाेलाउ भन्ने मेरा मुनपेटले भनाे र म सिउरली भ’र तपइँकाँ आकाे क्या ! “
उसले यति बाेलेपछि लहरे खाेकी बेस्सरी खाेक्याे र भित्रबाट पाकेकाे लप्ली जस्ताे ‘माल’ काेरलेर आँगनतिर फ्यात्त थुकेपछि बढेकाे सास ह्वार-ह्वार पार्दै गरेकाे माैकामा पाँडेले साेध्याे -” के बिज्नेसकाे कुराे ? केकाे बिज्नेस ?”
त्यसले त फेरि घुमाउराे प्रश्नै पाे खाप्याे -“तपइँले काटमाडुँकाे दिपक भट्ठलाई चिन्या छ कि छैन ? पैला ताे चइँ भन अनि मात्तै म बिख्नेसकाे राम्माएन भन्छु ?”
पाँडेले भन्याे -“दिपक भट्ट भन्ने मान्छे देशकै एक-नम्बरी बिचाैलिया हाे भन्ने त सबैकाे जति नै मैले पनि जानेकाे हुँ, चिन्न त कहाँ चिन्नु ? के कामलाई चिन्नु र ?. मलाई प्रधानमन्त्री, मन्त्री बन्नु थिएन न त आयल निगम – वायुसेवा निगम जस्ता उपरी कमाइका मलिला गाैडाहरूका ‘नर्के अध्यक्ष’ बन्ने रहर नै थियाे । मलाई त्रिभुवन एयरपोर्ट भन्सार, राजस्व र वन विभाग, अनेक थरि आयाेग जस्ताहरूमा प्रमुख पनि बन्नु थिएन न त राष्ट्रिय गाैरवका आयाेजनाहरूकाे अर्बाैं अर्बकाे ठेक्काबाट कमिसन कुम्ल्याउनु नै थियाे ! अनि किन चिन्जान हुन्थ्याे र त्याे दिपके भट्टसित ?…बस, त्यसका बारेमा, पहिला कहिल्यै नसुनेकाे, सिक्सिकाे लाग्ने कुराहरू कानभरि सुनेकाे हुँ ! …अनि किन चाहियाे नि त्याे मुलङ्खरे दिपकलाई मैले चिनेकाे छ-छैन भन्ने कुरा तिमीलाई अहिले ?”
त्यसले त्यसकाे थेत्तर अनुहार उज्याल्दै र जिब्राे खेलाएर मुख मिठ्याउँदै गुन्गुनायाे …’लु हेर त, उनलाई त इत्तिसिरी नै पाे मालम र’छ त झन् !’…अनि भन्याे -“अन्तखेरी एत्राे हिस्टाेरी नै मालम थ्याे भने फ्यास्सै ‘चिन्या छु !’ मात्तै भन्या भा भइहाल्थ्याे त सट्कट्मा ! एत्राे लङ्कट भूइँका बाँदेर मुख दुखाउनु नेस्सरी नै थेन त ? …किन मैले ह्वाँ दिपक भट्ठ सरका बारेमा इन्टेस राख्या भन्लाऊ भने मैले पनि अब उप्रान्त ह्वाँले चला’काे, ती क्या त ताे – बाेर्राका बाेर्रा दउलत कमाउने ‘बिचउल्या’ नामक बिख्नेस गर्णे इस्टमेट गरेकाले र तपइँबड पनि अज किल्लेर कम्फम हुने बुजेर आकाे क्या तपइँकामा । गर्ण त हामेरले पनि बिबिन्न पाटीका लाेक्कल नेता गर्णेमा लागेर पाेचा माेरा जन्ता र माथ्ला नेताका बीचाँ उसरी नै बिचउल्या गरिखाइराख्या नै हम् क्या ! इ म भएँ, कम्रेट माेइमारा बख्नेत साइँलाे, कम्रेट कान्छा साउ भनिने ताे भब्बे रइस मेलवाला, कम्रेट उखुम् सुबेडी, हामेरकै कम्रेटनीहेरू मयाँ खँदाल्नी, मुसीकी मम्मी र कम्रेट हरिराम बाजेकी कान्छी लबर्नी रामदुलारी साहाहेरू चिन्या छउ नि तपइँले ? हामेरका ‘बा’-काे चन्द्रमा दाइनु भका बेलाकाे ह्वाँकाे कन्टाेलकाे जाैडे पाटीकाे खेलाे-फट्काेकाे पनि भट्टा बसिगाे ! र भा पनि साइत्ते-कल्ला-सङ्घीतका क्यान्ध्र, खेल्कुध कमेटी, राहात बितर्ण, साेस्थे समस्ता, शिक्छा छेत्र र कालाधन्दे, मादक-‘दुर्भेसनी माल’ ओसारपसारका हाेल्सेलवाला, पशुधन बिलेक्या इत्तेदिमा इन्भल हुँदै आका पाटीका झाेले-गुइँठेलाई अज्जै पनि बिचउल्या कति चाइया हाेला नि बिचाराहर्लाई ! तिनका आभसेक्ता सम्भाेदन गर्ने गरे चुस्स-चुस्स भा पनि याे पाेल्टिकलकाे बिचउल्यामा भन्दा धेरै फैदा हुने चानस छँइछ नि । बाआस, तेसमा हात मार्न्या काम छ अब !… अब तपइँ भन त – ती दिपक भट्ट सरकाे बिचउल्या बिख्नेसमा भद्रपुरकाे झाँपामा चइँ झाेले काे-काे छन् र ती काँ-काँ छन् ? अब तेत्ति पनि जान्न पा’देखुन् म किर्तग्न हुन्थे र धेरै सिसार ल्याम्न नसके पनि तपइँकामा आउँदाका बखत ए’दुई पाेका खैनी टुटाउने थिन नि बरू ।”…
त्यसले हात पनि जाेडेका थियाे र पाँडेले हाँस्तै भन्याे -“सबैकाे टाउकैपिच्छेकाे अन्भार त मैले चिनेकाे छैन, तर चन्द्रगढीका सबै सरकारी अफिसका र हाकिमहरूका क्वाटर बाहिर चाैरीतिर दिपक भट्टका चेलाचम्चेहरू स्याउँस्याउँती हुन्छन् अरे भन्ने सुनेकाे छु । अस्ति एकखेप सरकारले हा-हाे गरेकाले केही मत्थर भइरथ्याे तर अहिले फेरि सिनाेमा झिँगा भन्के जतिकै बढिर’छन् अरे भन्ने न्यूज पढेकाे-सुनेकाे पनि हुँ । ती कन्दने बिचाैलियाले सरकारलाई टेरपुच्छरै लाएनन् भन्ने गन्गन पनि सुनेकाे छु । तिमी आफै त्यतै गएर बुझ न , है ? ती त बिच्केकाे बारुला खनिए जस्तै गरी जनतामा खनिन छाडेका छैनन् अरे । जत्ति पनि भेटिन्छन् चन्द्रगढीतिर र भद्रपुर लगायतका पालिकाहरूतिर पनि अरे । मैले बुझेकाे यत्ति नै हाे !…”
त्यसले आभारी हुँदै भन्याे -“लाै ठ्याङ्कु- धन्नेवात । पाटी पाेल्टिस्यानतिरकाे बिचउल्या खेल्न त मभन्दा एस्पीरेन व्याक्ति एस छेत्रकाे एरिआमा आर्काे काे थ्याे र नि ? लेकिन् अनपाेल्टिकल भनम् न, सर्खारीतिरकाे बिचउल्या खेल्न चइँ ए’दुई दिन टेनिङ लिनै पर्ने भाे केरे तेससि ती बारुलेहर्काे लिडर मै भइहाल्छु नि , हेर्लाऊ न ।… र, ऐलेलाई म तपइँबड चाेइटिएँ हइ त !”…
ऐंसेलु झाँगे अरू पनि के-के बर्बराउँदै फुर्तिसाथ गइरहेतिर हेर्दै अनि पाँडेले आफैलाई भन्याे -“अब हेर्दै जालास् पाँडे, यस गुइँठेले सरकारी गुइँठे बिचाैलियाहरूकाे मुखै नमारी के छाेड्ला त ? ऐंसेलु झाँगे पाे हाे त हओ ऐंसेलु झाँगे !!”…..
***********