आज यो मुलुकमा राजनीति ‘फाइदा’ को लागि कुनै व्यक्तिलाई अमेरिकी कथाकार ओ हेनरीको कथा ‘द स्काइलाइट रूम’ (गगनपुञ्ज कोठा) की मूख्य पात्र ‘मिस एल्सी लिसन’ जस्तो जिन्दगी बाँच्न बाध्य बनाउनेहरूसंग कुनै गुनासो छैन । यत्ति हो, यो कथा एकपटक पढिदिनु । मिस लिसन जस्तो जिन्दगी बाँच्न बाध्य पारिएकाहरूको कथा हो यो ।
उक्त कथामा मिस एल्सी लिसन नाम गरेकी कन्या अमेरिकाको न्यूयोर्क सहरको एक सस्तो बोर्डिङ हाउसमा बस्छिन् । उनी एक जवान, गरिब तर बफादार टाइपिस्ट हुन् । उनको कमाइ ज्यादै कम हुने मात्रै होइन, धेरै समय काम पनि पाइन्न । यसले उनको जीवन भरम गरिवीमा ओर्लिन बाध्य हुन्छ । उनले भाडामा लिएको कोठा सानो, साँघुरो र दमघुट्टिने खालको हुन्छ । निसास्सिने हुन्छ । त्यस कोठालाई “द स्काइलाइट रूम” भनिन्छ, किनभने त्यसमा एउटा सानो झ्याल छ ( छानामाथि भएको त्यही झ्यालबाट मात्र आकाशको सानो टुक्रा र एउटा तारा देखिन्छ । त्यो तारा उनको जीवनको उज्यालोको प्रतीक हो ।
एल्सीको जीवन निरन्तर संघर्षमय छ । काम खोज्ने उसका हरेक प्रयास असफल बन्छन् । कामको प्रलोभन देखाउनेदेखि यौन उत्पीडन गर्न भ्याउनेहरूको पनि कमी हुँदैन । काम पाउनु त कता हो कता ! पेटभर खान पाउँदिनन्, तर पनि उनी विनम्र, दयालु र मौन आशावादी रहन्छिन् । हरेक रात उनी आफ्नो छानामाथिको सानो झ्यालतिर हेरिरहन्छिन् । कल्पना गर्छिन्, त्यो देखिने तारा मसंम आइपुग्नु नि । मेरा रक्षक बन्नु नि । अथवा मलाई आशिर्वाद दिने भगवान हुनु नि । त्यही भएर त्यहाँ देखिने एउटै तारालाई उनी मायालु ढङ्गले “बिली ज्याक्सन” भनेर बोलाउँछिन् । त्यो तारा उनको विश्वास र सपना दुवैको प्रतीक बन्छ( एक यस्तो संसारमा उनको एकमात्र सान्त्वना, जसले उनलाई केही पनि दिएको छैन । बिली आउने कुरामा उनको विश्वास हुन्छ । त्यो आउँछ, सपनालाई यथार्थ बनाउने जादू भएर आउँछ । विश्वासको भकारी भर्दै आउँछ । अभावका पलहरू भत्काउँदै आउँछ । भविष्यको मीठो बाटो र उद्देश्य दिन आउँछ । यसरी उनी बिली ज्याक्सनलाई उनको जिन्दगीको उद्धारकर्ताको रूपमा लिन्छिन् ।
दिनदिनै एल्सीको शरीर भोक र थकाइले झन् कमजोर बन्दै जान्छ । कुपोषणले गलेको शरीर कतिबेला ढल्छ, थाहा छैन । कतिखेर लीला सकिन्छ थाहा छैन । अन्तत, एक रात उनी आफ्नो कोठामै ढल्छिन् । भोलिपल्ट बिहान छिमेकीहरूले उनलाई नदेखेपछि प्रहरी तथा चिकित्सकलाई बोलाउँछन् । पुलिस आउँछन एल्सीको कोठामा रहस्यमय उनको चकमन्नता जाँच गर्न । डाक्टर आउँछन्, के भएछ एल्सीलाई भनेर हेर्न । तर विडम्बना ( उनको उपचारका लागि आउने डाक्टरको नाम नै विलियम (“बिली”) ज्याक्सन हुन्छ( ठीक त्यही नाम, जुन उनले आफ्नो तारालाई दिएकी थिइन् ।
कथा यत्ति हो ।
ओ. हेन्रीले यथार्थवाद र विडम्बनाको अद्भुत संयोजनद्वारा मानव आत्माको अदम्य साहस र सहनशीलताको चित्रण गरेका हुन् । एल्सी पात्र निराशाको भीषण अन्धकारमा पनि बाँचिरहने आशा र विश्वासको प्रतीक हुन् । उनले “बिली ज्याक्सन” नाम दिइरहेको तारा अन्ततः वास्तविक डाक्टरका रूपमा प्रकट हुनु(विश्वास र प्रेमले निराशालाई चमत्कारमा रूपान्तरण गर्न सक्ने मानवीय सम्भावनाको रूपक पनि हो यो कथा ।
यो कथा संघर्षमा रहेको गरिमा, नियतिको रहस्य, र अन्धकारबीच पनि टल्किरहने मानवीय आशाको सुन्दर प्रतीक हुन पुगेको छ । बिल्ली ज्याक्सन एउटा भरोषा हो, एउटा सपना हो । एउटा भविष्य हो । एउटा वर्तमान हो । यसैको कल्पना गरेर जीवन पजउनु छ । उनले । हामीले । तिनीहरूले । सबैले ।
म अहिले रवि लामिछानेलाई तिनै एल्सीको रंगमा हेरिरहेको छु । उनी जेलभित्र छन् । दिनभरी । रातभरी । अनि तिनै दिवार । तिनै भुईं । तिनै खाट । तिनै कुर्सी । सतनै भाडा बर्तन । तिनै कपडा । तिनै ओछ्यान । तिनै छाना । तिनै ट्वाइलेट । संधै एउटै रंग । संधै एउटै परिवेश । संधै एउटै कुराको पुनराबृत्ति । एउटै कुराको आगमन ।
हिजोको विहान जस्तो, आजको विहान नि उस्तै ।
हिजोको साँझ जस्तो थियो, आजको साँझ नि उस्तै ।
आजको विहाज जस्तो थियो, भोलिको विहान नि उस्तै ।
आजको साँझ जस्तो छ, भोलिको साँझ नि उस्तै ।
हैट ! जिन्दगी । मर्नु र बाँच्नुको अन्तर नहुने ।
उनी पनि राति एकान्तमा कोही नभएपछि, कसैको साथ नभएपछि, कसैसंग वार्ता गर्न नपाएपछि उभिएर आकास हेर्दा हुन् । तारा देख्दा हुन् । तिनलाई नाम दिँदा हुन् । अनि तिनका भूमिका कल्पिँदा हुन् । सायद तिनले पनि कुनै तारालाई ‘विलियम ज्याक्सन’ नाम राख्दा हुन । वा कुनै भगवानको नाम राख्दा हुन् । वा कुनै शक्तिको नाम दिँदा हुन । एल्सीलाई माथि कथामा विलियम डाक्टर आएर बचाएजस्तो उनलाई बचाउने कुनै डाक्टर वा कुनै प्राणी आउला । कसैले त बचाउला ।
म अहिले यो कथाकी पात्र एल्सीको आयाममा रविलाई देखिरहेको छु । उनको प्राण उड्नु अघि कोही आउला । गरिवीले एल्सीलाई, राजनीतिले रविलाई मरणासन्न पारिरहेको छ ।
त्यसो त नेपालका ‘ठूला’ दलहरूको ‘पुन्टे’ काम यस्तै हो । राजा ज्ञानेन्द्रलाई पनि यस्तै कोठामा धकेलेको दुई दशक भयो । सायद उनलाई पनि उठाउने कोही आउला भनेर पर्खिरहेका छन् । आन्दोलन गरिरहेका छन् ।
यी दुबै पात्र कथाकी पात्र एल्सी बनेका छन् । ती एल्सी बनेका छन आजकल ।
तर तिनलाई उपचार गर्ने भन्दै भीडहरू अगाडि बढिरहेका छन् ।
एल्सी बाँच्नु पर्ने हो ।
दमक, झापा